Tuesday, January 24, 2017

महानगरभित्र - मातृका पोखरेल

बिहानको करिब दस बज्दै थियो।
म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ। त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किंदै पछिल्तिर फर्किएँ ।
"हजुर, नमस्कार !" एउटा युवक मुसुक्क मुस्कुराईरहेको थियो।
परिचित जस्तो अनुहार लागे पनि मैले राम्ररी ठम्याउन सकिन। तर उसको हाँसो र उसले म प्रति देखाएको मुक्त ब्यबहारले उ मेरो नजिकको मान्छे हो भन्ने बुझ्न बेर लाग्दैनथ्यो ।
"मलाई चिन्नु भएन कि क्या हो हजुरले ?" मेरो हात झट्कार्दै भन्यो उसले।
उसको सोधाई पछि म झनै अल्मलिरहेको थिएँ। छैन भनौं भने अत्यन्त परिचित जस्तो लागिरहेको थियो उसको अनुहार। चिनें भनौं भने मैले राम्ररी ठम्याउन सकेकै थिइन।
" म उही क्या साइला दमाइको छोरो तिलक !" म अक्मकाउदै गर्दा आफ्नो परिचय उसले हत्तपत्त दियो।
मैले उसको सबै पहिरन हेरें। भैरे दमाइको छोरो । यो कसरी हुन सक्छ। ऊ मेरो गाउँको अत्यन्त गरिवको छोरो। घाँटीमा सुनको सिक्री थियो । हातमा अत्यन्तै महङ्गो लाग्ने घडी। उसले लगाएका जुत्ता र कपडाहरु सबै महङ्गाजस्ता लाग्थे।
"हजुर, जाउँ, मेरो गाडी उ त्यहिँ छ। एउटा रेष्टुरेन्टमा गएर चिया कफी खाउँ। मैले हजुरलाई धेरै समयदेखि खोजिरहेको थिएँ । मैले हजुरको फोन नम्बर पनि प्राप्त गर्न सकिन। आज भेट भयो । मेरो त भाग्यनै रहेछ नि !" उसले एकैपटक धेरै कुरा भनि सिध्यायो।
म भने अन्योल र असमन्जस अवस्थामा गुज्रिएको थिएँ। पोहोरको दशैंमा घर जाँदा तिलकको बुवा साइला दमाइले आफ्नो छोरालाई भेटेर घर जान भनिदिनु परयो भनि आग्रह गरेको कुरा मेरो मानसपटलमा चलचित्रको दृश्य झैं घुमिरहेको थियो।
"मलाई त केही थिएन हजुर, ऊ काठमांडूमै छ भनेर देख्नेहरुले भनेकै थिए । उसको चिन्ताले तिलककि आमाको हाड र छालामात्र बाँकी छ। उ गएको यतिका वर्ष भैसक्यो। हजुरले खोजी गरेर पठाईदिए ठुलो गुन सम्झने थियौँ ।" यति भनिसकेर साइला दमाईले एक थोपा आँसु भुइँमा खसाएको थियो।
तिलकले भनेको नमानुभने फेरि उसलाई भेट्न नपाइने डर। उसले भनेको मानुँ भने त्रिचन्द्र कलेजमा कक्षा छुट्ने डर। म यही द्विविधामा एकछिन रुमल्लिएं ।
"के सोचिरहनु भएको जाउँ न हिड्नुस ! " उसले मेरो हात समातेर झक्झक्यायो।
मैले पनि त्रिचन्द्रमा आजको कक्षा छाडीदिने बिचार गरें र उसको पछिल्तिर लागें । ऊ मेरो अघिअघि लाग्यो र केही पर बाटोको किनारमा पार्किङ्ग गरिराखेको कारको ढोका खोल्यो । उसले मलाई पछिल्लो सिटमा बस्न हातले इसारा गर्यो।
कार अत्यन्तै अत्याधुनिक र नयाँ मोडेलको थियो। उसले कारलाई नारायणहिटी दरवार अगाडिबाट पूर्वतर्फ नागपोखरीतिर मोड्यो ।
मेरो मनभित्र उसका बारेमा विभिन्न तर्कनाहरु खेलिरहेका थिए।
"उ कसैको निजी ड्राईभर भयो होला या कुनै मोटर वर्कशपमा काम गर्छ होला। " म उसले चलाइरहेको कारको पछिल्तिर बसेर यस्तैयस्तै सोच्दै थिएँ।
"तिमी कहाँ बस्छौ ?" मैले कुराको पोयो खोल्ने बिचार गरेँ ।
पहिलेपहिले उसलाई तँ भनेरै सम्बोधन गर्थें । गाउँको दलित केटो त्यसमाथि मेरो कान्छो भाइको उमेरको मान्छे । तर उसको रवाफ देखेर आज तँ भन्ने आँट गर्नै सकिन । तिमी भनेर सम्बोधन गरेँ।
"मेरो बारेमा एकछिन पछि हजुरले सब थाहा पाईहाल्नुहुन्छ नि ! " उसले नागपोखरी बाट बालुवाटारतिर गाडी मोड्दै भन्यो।
बालुवाटार नपुग्दै मलाई उसले एउटा रेष्टुरेन्टभित्र लिएर गयो । रेष्टुरेन्टभित्र पस्ने बित्तिकै उसले दुई जनामात्र बस्न मिल्ने एउटा सेक्रेट कोठाको माग गर्यो।
" किन चाहियो र सेक्रेट कोठा, आखिर कोही मानिसहरु त छैनन् ।" मध्यान्न हुन लागेको बेला खाली रेष्टुरेन्ट देखेर मैले उसलाई भनेको थिएँ ।
मैले भन्दानभन्दै रेष्टुरेन्टको स्टाफले एउटा सेक्रेट कोठा देखाईदियो।
"यो आफ्नै भाइहरुले चलाएको रेष्टुरेन्ट हो क्या दाइ !" उसले स्पष्टिकरण दियो।
"के इच्छा छ हजुरलाई ? मम, पिज्जा,सेकुवा 
। " उसले मेनु पल्टाउदै भन्यो।
" होइन, म त भरखरै खाना खाएर आएको। मलाई त केही पनि खाने इच्छा छैन। तिमीले आफूलाईमात्र मगाउ । " मैले आफ्नो स्थिति बताईदिएँ।
" होइन, चिसो, तातो केही त लिनै पर्छ। " मलाई उसले कर गर्न थाल्यो।
" हुन्छ, म चाहिँ एक कप कफी खान्छु। अरु तिमीलाई के इच्छा छ लेउ। " मैले उपाय खोजेँ।
" मेरो त खाना खाने बेलै भएको छैन । खाना खाँदा दिउसोको बाह्र - एक बज्छ । बिहानै हेभी ब्रेकफास्ट लिन्छु र जीममा जान्छु। " मेनु बाट आँखा नउठाइकन उसले भन्यो।
पाँच वर्ष पहिले उसलाई मैले पहाडमैं भेटेको थिएँ । मेरी आमा त्यसबेला बिरामी भैरहनु हुन्थ्यो । त्यसकारण म आफ्नो घर पहाड गइरहन्थें । त्यसैले ऊ सँग मेरो निरन्तर भेट भइरहन्थ्यो ।
" तर पाँच वर्ष पहिलेको तिलक र अहिलेको तिलकमा आखिर यत्तिका फरक कसरी भइरहेको छ ? " म आफैं यो प्रश्नमा रुमल्लिरहेको थिएँ ।
यसै बीचमा उसको गोजीमा मोवाइलको घन्टी बज्यो।
" सानुमैयाँ ! म आइपुग्न अरु एक घण्टा लाग्छ है ! " यति भन्दै उसले मोबाइल स्वीचअफ गर्यो र टेबलमा राख्यो।
टेबुलमा राखेको उसको मोबाइलमा अाँखा पर्ने बित्तिकै पाँच वर्ष अघिको अर्को सम्झनाले मलाई तान्यो । त्यस बेला टचस्क्रिन मोबाइलको सुरुवात भएकै थिएन । मैले भरखरै नोकियाको नयाँ सेट लिएर गाउँ गएको थिएँ ।त्यसबेला म सँग भएको मोबाईल देखेर ऊ अचम्मित भएको थियो । अझ त्यसबाट टाढाटाढाका मानिसहरूसँग त्यसबाट कुरा गर्न सकिन्छ भन्ने थाहा पाए पछि उसको कौतुहलता देखेर मलाई निकै रमाइलो लागेको थियो । यतिबेला टेबुलमा राखेको उसको अत्याधुनिक सेट देखेर म भित्रभित्रै लोभिइरहेको थिएँ ।सम्पूर्ण क्रियाकलापहरुले उसको समग्र जीवनशैली अत्यन्तै उच्चस्तरको रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।
तिलक म सँग केही कुरा गर्न चाहिरहेको छ भन्ने आभास उसका केही भागभङ्गिमाहरुले मलाई दिइरहेका थिए ।
"काठमाडौमा तिमी के गरेर बसिरहेका छौ ?" उसको समस्यालाई बुझेर मैलेनै कुरो सुरु गर्ने बिचार गरेँ ।
" यस्तै त हो नि दाजु ! सडकतिर घुमेर दिन बिताएको छु ।" हल्का हाँसो हाँसेर हल्कै जवाफ दियो उसले ।
" सडकमा घुमेर खान पाउनु पनि ठुलै भाग्री हो नि ! " मैले पनि हल्कै कुरा गरेँ ।
" पुगेकै छ दाजु ! "
" भने पछि ठुलै प्रगति गरेछौ जस्तो छ । "
" सामान्य छ । "
" के गर्छौ त ? "
यिनै सम्वादका बीच मेरो पछिल्लो प्रश्न पछि ऊ अलिक हडबडायो ।
मतिर हेर्दै ऊ अलिअलि मुस्कुराउने प्रयत्न गर्थ्यो । 
त्यसपछि ऊ लामो समय मौन देखियो । मेरो प्रश्न पछि उसको अनुहारमा एउटा त्रासको लहर दौडियो ।
हाम्रो अघिल्तिरको टेबुलमा कफीका दुईवटा कपहरु आइपुगे । ऊ भित्र केही कुराहरू गुम्सिएर रहेका छन् र ती कुराहरू खोल्न उसलाई सकस परिरहेको छ भन्ने मैले अन्दाज गरिरहेको थिएँ ।
उसको मौनताको कारण खोजीरहेकोे थिएँ म । उसको स्वभाव मौन बस्न रुचाउने खालको थिएन । यो कुरा म राम्रो संग जान्दथें । सानै देखि चंचले स्वभावको थियो ऊ ।
" ए ! घरमा तिम्रो बुवा निकै बिरामी हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । अहिले कस्तो छ ?" म ऊ बाट छलफलको गति बढाउन चाहन्थेँ ।
" अहिले त ठिकै छ अरे ! " ऊ फेरि छोटो उत्तर दिएर अडियो ।
" दाइलाइ आज म मेरो घर देखाउन लान्छु। तर त्यसका लागि दाइसंग मैले केही कुरा गर्नु छ। " यति कुरा गर्दागर्दै उसको अनुहार लजावती झारझैं ओइलायो।
" ए ! तिमीले काठमाण्डुमा घर बनाइसक्यौ ? " मलाई पनि अचम्म लाग्यो।
काठमाण्डुमा आएर मैले कलेज पढाउन थालेको पनि दुइ दशक भैसकेको थियो । बल्लबल्ल भक्तपुरको दुवाकोटमा तीन आना जग्गा जोड्नमात्र सकेको थिएँ । मेरो लागि घर बनाउनु त धेरै टाढाको कुरा भयो । उसले घर बनाएको कुरा गर्दा म साँच्चै अचम्मित भएँ ।
" कहाँ बनायौ घर ?" उसको कुरा सुने पछि मेरो उत्सुकता पनि बढ्दै गयो।
" लाजिम्पाटमा " उसले फेरि छोटकरीमै कुरो टुङ्ग्यायो ।
" लाजिम्पाटजस्तो भिआइपी ठाउँमा तिलकको घर ? " मलाई भित्रै देखि उसको घर हेर्ने कौतुहलता जागेर आयो।
"मैले मेरो घरमा मेरो पारिवारिक अवस्थाका बारेमा धेरै कुरा ढाटेको छु । मैले मेरो ससुरालीतिर सबैलाई म ठकुरी जातको मानिस हुँ भनेर परिचय गराएको छु । मेरी श्रीमती देखि सबै जना मेरो कुरामा ढुक्क छन् । हजुरले यो कुरालाई मिलाएर कुरा गरिदिनु पर्ला है ! म हजुरलाई मेरो ठुलोबुवाको छोरो दाजु भनेर परिचय गराउछु । " सकसका साथ उसले आफ्ना कुरा राम्रोसँग भनिनसक्दै टाउको झुकायो ।
" कसकी छोरी बिबाह गरयौ ? " म उसको बारेमा थप कुरा जान्न हतारिएको थिएँ ।
"राणाकी ! " 
"कति वर्ष भयो बिबाह भएको ?"
"चार वर्ष ! "
" बच्चाहरू कति भए ?"
"दुई वटा । छोरा र छोरी ।"
संक्षेपमा यिनै सम्वादहरु भए उसका र मेरा बीचमा ।
'हजुर , जाउ न त ! " ऊ उठ्यो ।
"उ सँग जाउ भने झुठो बोल्नु पर्ने , जान्न भन्नलाई पनि ऊ निकै कर गर्ने मूडमा देखिन्थ्यो । म एकछिन रनभुल्लमा परेँ ।

0 0 0

दरबारमार्गको बाटो लाजिम्पाटतिर मोडिएपछि उसले आफ्नो मोटरलाई छेउतिर लगायो । देख्दैमा अत्याधुनिक लाग्ने बंगलाको अघिल्तिर उसले मोटर रोक्यो र लामो हर्न बजायो ।
एउटा अधबैसे देखिने मानिसले आएर ढोका खोलेपछि हामी त्यो बंगलाभित्र प्रवेश गर्याै ।
बगैचामा थरीथरीका फूलहरु फूलिरहेका थिए ।
पारिजात , धुपी , सल्लाका बोटहरुले शहर भित्रको बाताबरण पनि प्रकृतिमय थियो ।
काठमाडौमा त्यो स्तरको अत्याधुनिक बङ्गलामा प्रवेश गरेको मेरो पहिलोपटक थियो ।
" आज किन हजुरले आउन ढिलो गरिस्यो त ? " भित्र कुनै कोठाबाट एउटा नारिस्वर सुनियो ।
" ठुलदाजुसंग भेट भयो ।आज त्यसैले ढिला भयो । " बैठक कोठाबाट उसले चर्को स्वरमा भन्यो ।
" भेट भयोभयो मात्रै त भन्ने हो नि ! हजुरका मान्छेहरुलाई हामीले कहिले चिनेको होइन क्यारे ! " भित्रबाट उही नारीस्वरको एउटा निरस प्रत्युत्तर आयो ।
" आज हाम्रो घरमा दाजु मसँगै आइसेको छ ।" तिलकले निकै उत्साहका साथ भन्यो ।
"ए ! हो र ! " भित्रबाट नारिस्वरको प्रतिक्रिया आयो । र सँगसँगै छिटो गतिमा हामी बसेको ठाउँतिर आइरहेको पाइलाको आवाज आयो ।
त्यो आवाज हामी नजिकनजिक आइरहेको थियो । मैले अन्दाज गरिसकेको थिएँ । त्यो पाइलाको आवाज त्यही नारीस्वरकै हो । मलाई कताकता शरीरमा चिटचिट पसिना आएको महसुस भयो । अब एकछिन पछि मैले पुरै अभिनय गर्नुपर्ने छ र पुरै झुठैझुठ बोल्नु पर्नेछ ।
" यो कसरी हुनसक्छ ? " मलाई मेरो शरीर पुरै ओइलाएको महसुस भयो ।
" म बिद्यार्थीहरुलाई पुरै नैतिकवान बन्न प्रेरित गर्ने गुरु ! तर यो कसरी ? " यस्तो सोच्दासोच्दै म आफूभित्रभित्रै भूकम्पका झटकाहरुकोजस्तो तरंग महसुस गरिरहेको थिएँ ।
" दर्शन दादा ! " म अघिल्तिर एउटी महिला ठिङ्ग उभिएकी थिइन् । मैले पनि अभिवादन फर्काएँ ।
' यति नजिकै भएर पनि हजुरसँग भेट्ने साइत आजमात्रै जुर्‍यो । आजको दिन मेरो जीवनमा कस्तो खुसीको दिन भएर आयो । ' मसँग भेट्न पाएकोमा उनी यति फुरुङ्ग थिइन कि उनको अनुहारमा यो खुसी राम्ररी पढ्न सकिन्थ्यो ।
अघिल्तिरको सोफामा तिलक बसिरहेको थियो । म घरीघरी तिलकतिर हेर्थे , तर ऊ मोबाइलमा व्यस्त देखिन्थ्यो । अर्थात , व्यस्त भएजस्तो अभिनय गरिरहेको थियो । एकप्रकारले तिलक सँग मलाई भित्रभित्रै रिस पनि उठिरहेको थियो ।
' मलाई हाम्रो पहाडको गाउँमा जान मन लागेको छ , तर उहाँले केके केके निहुँ निकाल्दै टारिसिन्छ । ' ऊ मेरो अघिल्तिर उभिएर यस्तैयस्तै मनमा लागेका सबै गुनासाहरु बकिरहेकी थिइ ।
मलाई उसको कुरामा ध्यान पुर्‍याउनु भन्दा पनि अब यहाँबाट कसरी चाँडै निस्कने भन्ने कुराको चिन्ता भैरहेको थियो ।
ऊ यस्तैयस्तै भन्दै थिइ छेउमा उभिएर । एउटी बालिकाले जुसको ग्लास अघिल्तिर ल्याएर राखिदिइ । त्यो बालिकाको रुपरङ हेर्दा काम गर्न राखिएकीजस्तो लाग्यो ।
' आज हामी सबै दादाको घर हेर्न जाने ! ' उसले तिलकतिर फर्किएर भनी ।
तिलक मोबाइलमा व्यस्त भएझैं अभिनय गरिरहेको थियो ।
घरीघरी मलाई सत्य कुरा गरिदिउँ जस्तो पनि लाग्थ्यो ।
' आज दाजुलाई एकदमै हतार छ अरे ! अर्को कुनै दिन जाउँला । ' मैले बोल्नुभन्दा पहिले तिलकले हतारिएर उत्तर दियो । मलाई लाग्छ , ऊ यस्ता उत्तर दिन खप्पिस भैसकेको थियो ।
म कुनै उपायले यहाँबाट चाँडै बाहिरिन चाहन्थेँ । तिलकको प्रत्युत्तरमा टेकेर त्यहाँबाट तुरुन्तै बाहिरिन उपयुक्त ठानें ।
' आज मलाई अत्यन्तै जरुरी काम छ । अर्कोदिन भेटाैँला है ! ' यसो भन्दाभन्दै म सोफाबाट उठिसकेको थिएँ ।
म हतारहतार गर्दै ढोकामै पुगिसकेकोमात्र के थिएँ , ऊ दौडिदै आइ र मेरो घरको ठेगाना मागी । म फेरि के भन्ने के गर्ने भन्ने द्विबिधामा रुमल्लिदै थिएँ । पछिल्तिरबाट तिलक दौडदै आयो र उसले मेरो घर देखिसकेको कुरा गर्‍यो भोलि , पर्सि कुनैदिन मेरो घर लिएर जाने कुरा गर्‍यो ।
' दाजुलाई हतार होला , गाडीमा पुर्‍याइदिइस्यो न ! ' उसले तिलकलाई भनी ।
' पर्दैन , पर्दैन ! मैले जानुपर्ने ठाउँ यहीँ नजिकै छ । ' कुनै उपायले म त्यहाँबाट छिटोभन्दा छिटो उम्कन चाहन्थेँ ।
सबैसँग बिदा माग्दै तिलकतिर फर्किएर हेरेँ । तिलक मतिर नहेरी अर्कैतिर फर्किएको थियो ।
बाहिर बगैंचामा काम गरिरहेको एकजना मानिसले गेटको ढोका खोलिदियो । म पनि आफू हतारिएको अभिनय गर्दै बाहिर निस्किएँ ।
बाहिर सडकमा आएपछि मैले आफूलाई निकै स्वतन्त्र भएको महशुस गरेँ ।



000

No comments:

Post a Comment