Tuesday, January 24, 2017

अनिश्चित यात्रा - मातृका पोखरेल

बिहानैदेखि उसको रिसाहापन देखेपछि माइलीलाई त्यो मान्छेको अनुहार हेर्न पनि मन लागेको थिएन । ‘हेर्दैखेरी छुच्चोजस्तो । बोली पनि कति टर्रो । अरू कैयौँ साथीहरू त कति शिष्ट र असलजस्ता लाग्छन् । त्यो त जोसँग बोल्दा पनि झर्किएर बोल्छ ।” बाटोमा हिँड्दाहिँड्दै त्यो मान्छेको बारेमा माइलीले सानो समीक्षा गरी ।
उसको बारेमा सोच्दासोच्दै माइलीको मन फेरि कुँडियो । ‘समाजका मान्छेमध्ये कम्युनिस्टहरू सबैभन्दा असल हुन्छन् ।’ सानैमा स्कुल पढ्दा देवकोटा सरले भनेको कुरा सम्झेर माइलीले फेरि मनलाई दह्रो बनाई ।
आज उसलाई देवकोटा सर अर्थात् ऋषिराज देवकोटाको ज्यादै सम्झना भयो । कस्ता असल मान्छे थिए देवकोटा सर ! आँखामा राख्दा पनि नबिझाउने । उसको गाउँका सबै मान्छेहरूले देवकोटा सरलाई खुबै माया गर्थे । पञ्चायती सत्ताले देवकोटा सरको हत्या गरेको खबर सुन्नेबित्तिकै गाउँ पुरै शोकमा डुबेको सम्झना भयो उसलाई । माइली त्यसबेला सानै थिई । देवकोटा सरको कुरा सुनेर कम्युनिस्टहरू सारै असल हुँदारहेछन् भन्ने उसको मनभित्र बसेको गहिरो छाप अझै पनि बाँकी नै थियो ।
बिहानैको त्यो त्रासद घटना देखेपछि माइलीको छोराको अनुहारमा देखिएको आतङ्कको छाया अझैसम्म हटिसकेको थिएन । ऊ आमाका पछिपछि एउटा सानो पोको बोकेर लुरुलुरु हिँडिरहको थियो ।
‘माइली दिदी यसको नाम चाहिँ के राखिदिनुभएको छ ?’ माइलीको छोराको काँध थपथपाउँदै अप्सराले सोधी ।
‘सानैदेखि बाउले छाडेर हिँडेकाले सबैले यसलाई टुहुरे भनेर बोलाउने गरे । त्यसपछि त यसको नाम नै टुहुरे पो भयो ।
‘त्यस्तो नराम्रो नाम पनि राख्ने हो ? अबदेखि यसको नाम शक्ति राख्नुपर्छ ।’ अप्सराले धेरै साथीहरूको कानमा पर्ने गरी भनी ।
प्रतिक्रियामा माइली अलिकति हाँसिदिई ।
हिँडिरहेको बाटोलाई कुहिरोले फेरि ढपक्कै छोप्यो । लाइन लागेर हिँडिरहेका पल्ला छेउका साथीहरू कुहिरोमा कतै हराइरहेझैं लाग्थ्यो । माहिलीले आफ्नो छोरोको अनुहार हेरी– चिसोले कठ्याङ्ग्रिएर उसका ओठ थर्थराइरहेका थिए । उसले आफूले ओढिरहेको मजेत्रो निकाली र टुहुरेको टाउकोमा ओढाई । भुइँकुहिरो घरिघरि हावासँगसँगै भाग्थ्यो । कुहिरो हटेको बेला माइली आफ्नो माइती गाउँ मयङ्खुलाई हेर्थी महाभारतको थुम्कोबाट । सायद आजबाट सुरु भएको उसको अनिश्चित यात्राको कारणले हुनसक्छ, आज उसलाई माइती गाउँको धेरै याद आइरहेको थियो ।
) ‘हेर टुहुरे ! त्यही हो तेरो मावली घर !’ उसले छोरोलाई कोट्याएर हातको ईशाराले देखाई ।
‘मेरो नाम आजदेखि शक्ति हो बुझ्नु भो !’ टुहुरेले आमालाई सचेत गराएझैँ ठट्टा शैलीमा भन्यो । धेरैपछि यतिबेला शक्ति हाँसेको देखेपछि माइलीभित्र कताकता नयाँ उत्साहको सञ्चार भयो ।
पहिले पहिले त टुहुरे यसरी प्रशस्तै ठट्टा शैलीमा कुरा गर्ने गथ्र्यो तर आज बिहानैदेखि उसको अनुहारबाट हराएको हाँसो फेरि फर्केर आएको थिएन ।
‘यी मान्छेहरूसँग अब हामी कहाँ जाने ?’ शक्तिले अनिश्चित यात्राको उत्तर खोज्यो ।
‘अरू जहाँ जान्छन्, हामी पनि त्यहीँ जाने !’ माइलीले पनि सरल जवाफ दिएर तर्कन खोजी ।
शक्तिले मात्र होइन यो प्रश्नको उत्तर खोज्न माइली पनि प्रयत्न गरिरहेकी थिई । छोरोलाई दिने योभन्दा सत्य उत्तर उसँग अर्को छँदा पनि थिएन ।
महाभारतको डाँडैडाँडा उनीहरूको समूह पूर्वतिर लागिरहेको थियो । उसलाई आज आफ्नो माइतीगाउँ हेर्ने रहर पलाएर आयो ।
‘आज हामी कहाँ पुग्छौँ ?’ अघिल्तिर हिँडिरहेकी अप्सरालाई उसले कोट्याएर खुसुक्क सोधी ।
‘स्क्वायड कमान्डरबाहेक हामी कसैलाई पनि त्यो कुराको जानकारी हुँदैन ।’ माइलीलाई अप्सराको जवाफभित्र कुनै हार्दिकपनको अनुभव भएन ।
‘स्क्वायड कमान्डर भनेको के हो ?’ माइलीलाई यो शब्द पहिले पहिले पनि सुनेको जस्तो लाग्यो । हुन त बेतिनीको उसको पसलमा बेलाबेलामा माओवादी छापामारहरूले पनि आश्रय लिन्थे । राज्यले चलाएको ‘किलो सेरा टु’ नामको अपरेसनपछि उनीहरू यातायातको सुविधा नभएको अलिक दुर्गम स्थानतिर बढी आश्रय लिन थालेका थिए । माइलीले स्क्वायड कमान्डरको अर्थ राम्रैसँग बुझ्न खोजी ।
‘हामी सबैको नेतालाई कमान्डर भन्छन् ।’ अप्सराले खुसुक्क कानमा आएर भनी ।
‘यो गाउँको नाउँ राउतखर्क हो ।’ ठाइँलीले माइलीलाई कोट्याई ।
माओवादी छापामारको लस्कर राउतखर्क आइपुग्दा यहाँका गाउँलेहरू र पसलेहरू अचम्म मानेर हेरिरहेका थिए । ती मानिसहरूको अनुहारमा कुतूहल र त्रासको सङ्गम देखिन्थ्यो । आज बिहानै प्रहरीहरूले मारेको मान्छे यही तल्लो गाउँको हो । त्यसैले पनि मानिसहरूको हूलभित्र एउटा त्रास सलबलाई रहेको थियो ।
“यो गाउँमा मात्रै म आइनपुगेकी । यहाँका धेरै मानिसहरूलाई मैले चिनेकी छु ।’ वरिपरि हेरेर माइलीले प्रतिक्रिया दिई ।
स्क्वायड कमान्डर कमरेड समर प्रहरीहरूका बारेमा सूचना लिँदै थिए गाउँलेहरूसँग । छिनभरमै कुहिरो आउँथ्यो र सिरकले जसरी छोप्थ्यो राउतखर्कलाई । फेरि कुहिरो भाग्थ्यो र टाढाटाढासम्म देखिन्थ्यो ।
‘हेर त, यहाँबाट हाम्रो गाउँ उदयपुरगढी पनि देखिँदोरहेछ ।’ जिङ्ग्रिङ्ग कपाल पालेको एउटा छापामारले अर्कोलाई औँला सोझ्याएर दक्षिणतिर देखाइरहेको थियो ।
“मेरी फुपूको घर पनि उदयपुरगढी हो ।” कुरा गरिरहेका केटारूले सुन्ने गरी भनी माइलीले । 
ती केटाहरूले एकपटक माइलीतिर हेरे तर केही प्रतिक्रिया दिएनन् । 
माइलीले फुपूलाई सानै छँदा एकदुई पटक देखेकी हो तर फुपूका बारेमा उसलाई धेरै कुरा थाहा थिएन । फुपू अझै पनि त्यहीँ उदयपुरगढीमै छन् । बेतिनीमा चियापसल थापेपछि उसले सुनेकी हो– “उनको कान्छो छोरो पनि माओवादी बनेर हिँड्यो रे !”
माइलीलाई फुपूका बारेमा सोध्न मन लाग्यो । तर कसरी सोध्ने उनीहरूलाई । वरिपरि कतै वास्ता नगरीकन एकसुरमा उनीहरू कुरा गरिरहेका छन् । माइलीले सोधखोज गर्न अफ्ठ्यारो मानी ।
“त्यो मान्छेलाई मेरी फुपूको बारेमा सोधी दे न । माइलीले अप्सरासँग गुहार मागी ।
“त्यो मान्छेको नाम कमरेड अथक हो । हाम्रो सेक्सन कमान्डर !” कमरेड अथकले नसुन्ने गरी अप्सराले उसको परिचय गराई ।
‘हाम्रो यहाँभित्र तिनवटा सेक्सन छन् । ती तिनवटा सेक्सनहरू मिलेर यो स्क्वायड बनेको हो ।’ अप्सराले माइलीलाई बुझाउन खोजी ।
कमरेड अथकलाई अप्सराले नजिकै आउन हातले ईशारा गरी । अथक पनि उनीहरूको नजिकै आयो ।
‘लुु, सोध त तिम्रो कुरा !’ माइलीलाई अथकतिर देखाउँदै अप्सराले भनी ।
‘तपाईं देवीथाने मगरलाई चिन्नुहुन्छ ?’ माइलीले अथकसँग सोधी ।
‘म उहाँकै छोरो हुँ ।’ अथकले सहजै जवाफ फर्कायो ।
‘आबुई !’ माइलीले मजेत्रोले मुख छोपी । त्यसपछि उसले आफ्नो परिचय दिई ।
आफ्नै फुपूको छोरो अथकसँग भेट भएपछि माइलीमा नयाँ आत्मविश्वास पलायो ।

छापामार टोलीका सबै सदस्यहरू खाना खाएर गन्तव्यका लागि तयार भए । राउतखर्कको बाटो कटारीतिर झर्नेको सङ्ख्या पहिले पहिलेको तुलनामा बढ्दै बाक्लो देखिन्थ्यो । मानिसहरूको बाक्लो उपस्थिति देखेर स्क्वायड कमान्डर कमरेड समर स्थानीय मानिसहरूसँग जानकारी लिँदै थिए ।
‘भोलि माघे सङ्क्रान्ति हो । भोलिदेखि १५ दिनसम्म मैनी मेला लाग्छ, ताउखोलको दोभान कमला नदीको किनारमा । त्यसैका लागि उँधो जाने मान्छेहरूको सङ्ख्या बढेको हो ।’  स्थानीयले कमरेड समरलाई प्रष्ट्याए ।
‘ओ हो ! मैनी मेला लाग्ने दिन पनि आइसकेछ । माइलीले केही बिर्सेको कुरा सम्झेजस्तो गर्दै सबैले सुन्ने गरी भनी ।
माइलीलाई सानैमा थुप्रै पटक आफ्ना बाबुआमासँग मैनी मेला गएको याद आयो । कति रमाइलो हुन्थ्यो । त्यसबेलाको मैनी मेला । अझै अर्को कुरा उसले याद गरी– ‘त्यही लोग्ने भनाउँदो धोकेबाजले एक दिन घुम्न जाउँ भनेर मैनीबजार पु¥याएको र आफूलाई मनपर्ने लुगा कपडाहरू किनिदिएको ।’ 
माइली ती दिनहरू सम्झदै गई– ‘मैनीबजार घुमाएर उसले एकरात कटारी बजारको लजमा राख्यो । त्यसपछि त समाजले थाहा पाइहाल्यो उनीहरूको गोप्य प्रेम । त्यसपछि गाउँका मानिसहरूले कुरा काटेर बसिसक्नु भएन ।’
माइलीलाई आफ्ना कति पुराना सम्झनाहरू मिठा लाग्छन् । तर यो सम्झना भने माइलीका लागि फेरि नमिठो लागेर आयो ।
“अचेल पहिलेको जस्तो मैनी मेला लाग्दैन बाबु ! पहिले पहिले त यो पुरै बाटो नै मेलाजस्तै हुन्थ्यो । सोलुखुम्बुदेखि मानिसहरू घोडा र राडीपाखीहरू लिएर जान्थे तर अब त त्यो पनि सपनाजस्तो भयो ।’ नजिकै गाउँका एकजना बुढोमान्छे कमरेड समरलाई पुराना दिनका सम्झनाहरू बताउँदै थिए ।

बिहानै उठ्दा माइलीलाई अरू दिनको भन्दा शरीर गह्रुँगो अनुभव भइरहेको थियो । रातभर उसको मनभित्र नानाभाँती कुराहरू खेलिरहेन्थे । निद्रा राम्ररी नपरेको हुनाले आफ्नो शरीर यति गह्रुँगो भएको लख काटी उसले ।
‘यस ठाउँलाई लिम्पाटार भन्छन् ।’ उसले जिज्ञासा राख्ने बित्तिकै कमरेड अथकले भनेको थियो ।
‘कति राम्रो ठाउँ पो रहेछ ।’ प्रतिक्रियमा उसले भनेकी थिई ।
पहिलो पटक आइपुगे पनि यी गाउँहरूका बारेमा उसले प्रसस्तै सुनेकी थिई । कैयौँ मानिसहरूसित ऊ राम्ररी परिचित थिई ।
‘छ्या... आज त मैले कस्तो सपना पो देखेँछु ।’ धारामा मुख धँुदै गर्दा माइलीले साथीहरूलाई सुनाई ।
‘कस्तो सपना देख्नु भो, माइली दिदी ।’ अप्सराले कुराको बाटो खोतली ।
‘साँच्ची सपनामा त टुहुरेका बाबुसँग हामी युद्ध पो लड्दै रहेछौँ । हामीले उनीहरूलाई घेरामा पारेर आत्मसमर्पण गराएछौँ ।’ सपनाका कुरा सुनाएर माइली एकपटक खित्खिताएर हाँसी ।
‘त्यति मात्रै देख्नु भयो त सपनामा ।’ ठाइँलीलाई जिस्क्याउन मन लाग्यो ।
‘अरू पनि देखेँ । उसलाई आत्मसमर्पण चाहिँ टुहुरेले नै गराएछ ।’ माइलीले गम्भीर बन्दै भनी ।
‘यस्तो घटना घट्दैन भन्न पनि कहाँ सकिन्छ र ! युद्धको मैदानमा जे पनि हुनसक्छ ।’ ठाइँलीले पनि गम्भीर हुँदै भनी ।
‘त्यो त सरुवा भएर आफ्नै क्षेत्रतिर पुगेको छ अरे ! अनि कसरी भेट हुन्छ ।’ माइली फेरि कल्पनामा डुबी ।
‘माइली दिदीलाई भेट गर्न मन छ भने पार्टीले तपाईंलाई उतैतिर पठाइदिइहाल्छ नि ।’ अप्सराले आफ्नो स्वभाव अनुसारकै चुलबुले समाधान खोजी ।
‘त्यस्ता धोकेबाजसँग भेट्न मन त किन हुन्थ्यो । टुहुरेलाई चाहिँ उसैको जिम्मा लाउन पाएहुन्थ्यो भन्ने मन चाहिँ छ ।’ माइलीले लुकाएर राखेको आफ्नो मनभित्रको एउटा पत्र खोली ।
‘ल ! माइली दिदीलाई पश्चिमतिर पठाउन हामी पार्टीलाई सिफारिस गरिदिन्छौँ ।’ नजिकै बसेर संवाद सुनिरहेको एकजना कमरेड बोल्यो ।
साथीहरूका कारणले हिजोदेखिको नयाँ यात्रा माइलीलाई असहज लागेन ।
‘माइली दिदी अब हामी त पार्टीका मान्छै भयौँ । पार्टीमा अब नयाँ नाम राख्नुपर्छ  । दिदीको पार्टी नाम के राखौँ ?’ कमरेड अथकले नजिकै आएर माइलीलाई सोध्यो ।
‘राम्रो नाम राखिदिनुपर्छ माइली दिदीको ।’ त्यहाँ भएका सबैले एकै मुखमा भने ।
‘अनि तिमीहरूको पनि नयाँ नाम छ ?’ माइलीले ठाइँली र अप्सरालाई सोधी । ‘‘मरो नाम कमरेड ज्वाला हो ।’’ अप्सराले हतार हतारमा भनी ।
‘मेरो नाम वर्षा !’ ठाइँलीले पनि नयाँ कुरा सुनाएझैँ भनी ।
‘कति राम्रोराम्रो नाम रहेछ तिमीहरूको !’ माइलीले दुवैलाई भनी ।
कमरेड अथक आफ्नै फुपूको छोरो भएपछि माइली हिजो दिउँसोदेखि खुसी देखिएकी थिई । तर उसलाई स्क्वायड कमान्डर कमरेड समरको बोलीचाली र व्यवहारले भने मनको कुनामा कता चिसो पसिरहेको थियो । अथकले आएर हामी पार्टीका मान्छे भन्नेबित्तिकै ऊ आफैँलाई आज अनौठोजस्तो लाग्यो । ऊ हिजोसम्म अर्कै दुनियाँकी मान्छे थिई । आजै  ऊ पार्टीकी मान्छे भइसकी ।
‘के राम्रो हुन्छ, त्यही नाम राखिदिए भइहाल्छ नि !’ नाम राख्ने अधिकार पनि माइलीले अथकलाई दिन खोजी ।
‘माइली दिदीको नाम चेतना राख्नुपर्छ ।’ अप्सराले अथकतिर हेर्दै भनी ।
‘यो नाम त मलाई पनि राम्रो लाग्यो ।’ अथकले माइलीसँग स्वीकृति माग्यो । 
‘मलाई पनि राम्रो लाग्यो ।’ माइलीले स्वीकृति दिई ।
‘तपाईं अबदेखि हाम्रै सेक्सनअन्तर्गत रहने निर्णय भएको छ ।’ अथक माइलीलाई यो जानकारी दिँदै अर्को समूहतिर गयो ।
‘दिदी र हाम्रो एउटै सेक्सन भयो । ल ! हामीलाई खुसी लाग्यो ।’ अप्सरा र ठाइँली खुसी देखिए ।

उनीहरू त्यहाँबाट हिँड्दा झमक्कै साँझ परिसकेको थियो । मिरमिरे अँध्यारोमा वरिपरिका पहाडहरू आसन कसेका ऋषिहरूजस्तै गजधम्म बसेका देखिन्थे । आकाशमा जून उदाउन लाग्दै थियो । अँध्यारो बाटो एकछिन् ओरालो झरेपछि उनीहरूले एउटा खोलो भेट्टाए । खोलोमा पुग्दा दक्षिणतिरको महाभारत डाँडोले उदाउँदै गरेको कलिलो जूनलाई छेक्यो । खोलोको बगरमा बसेर केहीकेही साथीहरू एकछिन् सुस्ताए र केहीकेहीले पानीको तिर्खा भेटे । केही साथीहरूसँग भएका टर्चलाइटहरूले उनीहरूलाई पर्याप्त उज्यालो पुग्ने अवस्था थिएन । बाटोका छेउमा देखिने घरहरू अन्धकारमा बिलाइरहेझैँ लाग्थे । धेरै मान्छे आएको सङ्केत पाउनेबित्तिकै कुनैकुनै घरका मान्छेहरूले बत्ती निभाउथे र मानौँ घरमा कोही पनि नभएको जस्तो देखाउने प्रयत्न गर्थे ।
केही समय उकालो हिँडेपछि उनीहरू एउटा गाउँमा आइपुगे ।
‘दिउँसो खाएको मकै भटमासले पनि छोडिसक्यो है अब त !’ अघिल्लो पङ्क्तिको कुराकानी रातको नीरवतालाई चिर्दै पछिसम्मै सुनिन्थ्यो ।
सबै साथीहरू भोकाउन थालेको कुरा उनीहरूको एकआपसको संवादले थाहा हुन्थ्यो ।
छापामार टोली त्यो घरमा पुग्दा रातको नौ बजिसकेको थियो । घरमा पुग्नुभन्दा पहिले त घरबाट केही आवाज आइरहेझैँ लाग्थ्यो तर उनीहरू घरको आँगनमा आइपुग्दा घरभित्रबाट कुनै चालचुल सुनिएन ।
‘घरमा को हुनुहुन्छ ? उठ्नुस है उठनुस । हामी आएका छौँ ।’ कमरेड समरले माथिल्लो तलातिर फर्कंदै ठुलो स्वरमा बोलाए ।
घरबाट कुनै आवाज आएन । अझ त्योभन्दा ठुलो स्वरमा कमरेड समर फेरि कराए । कमरेड अनुकूल, कमरेड विज्ञानलगायतका साथीहरूले गएर ढोका ढक्ढक्याउन थाले ।
‘ए ! पख्नुस् ! पख्नुस् ! म आउँदै छु ।’ एकजना अधबैँसे मान्छेको स्वरसँगसँगै घर्लक्क ढोका खुल्यो ।
‘के हो, हामीसँग लुक्न खोजेको ? कमरेड समरले उनको अनुहारमा टर्च देखाउँदै भने ।
‘होइन हजुर ! हजुरहरू आउँदा हामी किन लुक्थ्यौँ र ! हजुरहरू आउनुभएको हामीले चाल नै पाएनौँ ।’ उनले डराएको मुद्रामा सबै जनातिर फर्कंदै भने ।
‘लौ हामी पन्ध्र जना छौँ । खाना बनाउन लगाउनुस् ।’ कमरेड समरले आदेश शैलीमा उनलाई अह्राए ।
‘हामी धेरै थाकेका पनि छौँ । तपाईंहरूका कोठा र खटियाहरू हाम्रा साथीहरूलाई खाली गरिदिनुहोला ।’ कमरेड विज्ञानले अर्को आदेश दिए ।
‘जनताको घरमा आएर यसरी थर्काएर हामीले जनताको मन जित्न सक्दैनौँ ।’ चेतनाभन्दा पछिल्तिर दुई जना किशोर भाइहरू एकआपसमा कुरा गरिरहेका थिए । उनीहरूको यो भनाइ चेतनालाई आफ्नो मनको कुर बोलेजस्तै लागिरहेको थियो ।
जाडो र थकाइले चेतनाको छोरो शक्ति आमासँग टाँसिएर उभिएको थियो । चेतनालाई ती किशोर भाइहरूको नजिकै गएर थप कुरा सुन्न मन लागिरहेको थियो ।
‘समर कमरेडको यो व्यवहार सच्याउन सकिएन भने पार्टीलाई निकै ठुलो घाटा हुन्छ । जिल्ला नेतृत्वलाई जानकारी दिन अब ढिला गर्नुहुँदैन ।’ उनीहरूले पछिल्तिर उभिएर गरेको सल्लाह सानो आवाजमा चेतनाको कानसम्मै आइपुग्यो ।
चेतनालाई ती दुईजना भाइहरूसँग राम्रैसँग परिचय गर्न मन लागेर आयो । तर ती भाइहरू अन्तर्मुखी स्वभावका थिए । बाटोभरी पनि उनीहरू बोलेनन् । फुर्सद पायो कि उनीहरू किताब लिएर पढ्न बसिहाल्थे वा केही लेख्न थाल्थे ।
चेतना ती भाइहरूको छेउमा पुगी । ऊ पुग्ने बित्तिकै ती भाइहरू फेरि मौन भए ।
‘मलाई भाइहरूसँग परिचय गर्न मन लाग्यो । कहाँ हो भाइहरूको घर ?’ उमेरले निकै कलिला ठानेर चेतनाले उनीहरूलाई सहजै सोधी ।
‘हाम्रो घर यहाँभन्दा टाढा छ दिदी पश्चिम रोल्पा । मेरो नाम हिमाल हो ।’ एउटा अलिक उमेरमा पाकोजस्तो देखिने किशोरले भन्यो ।


‘‘मलाई सबैले माइली भन्थे तर पार्टीमा हिँडेपछि आजदेखि मेरो नाम पनि चेतना भएको छ ।’’ उसले पनि आफ्नो परिचय दिएकी थिई । 
‘‘दिदीका बारेमा हामी सबैलाई थाहा छँदै छ नि ।’’ 
दुबै किशोरले सँगसँगै भने । 
‘‘भाइहरूले अघि भन्नुभएको कुरा मैले सुनेँ । मेरो मनको कुरा तपार्इंहरूले बोलिदिएझैँ लाग्यो । मलाई हिजैदेखि कमरेड समरको व्यवहारले कताकता चिमोटिराखेको छ ।’’ माइलो उनीहरूसँग खुल्न खोजिरहेकी थिई । 
‘‘कमरेड समरको आदेश’’ भन्दै घरको 
माथिल्लो  तलामा जान सबैलाई सूचना आयो । 
‘‘दिदी यो बारेमा हामीले सोच्नै पर्छ । नत्र जनताको हामीले माया र सद्भाव पाउन सक्दैनौँ ।’’ हिमालको सही थप्यो । 
उनीहरू फेरि छलफल गर्ने वाचा गर्दै घरको माथिल्लो तलातिर लागे । 
माथिल्लो तलामा बाँसका भाटाहरूले बारेर बनाइएका चारवटा कोठा थिए । कोठाको आकृतिजस्ता मात्र भएका कोठाहरू । कुनै पनि कोठामा ढोका थिएनन् । माथितिर फर्किएर हेर्दा ह्वाङ्गै छानो देखिन्थ्यो । उनीहरू त्यहाँ पुग्दा सबै कोठामा परिवारका सदस्यहरू धमाधम उठेर आफ्ना लुगा मिलाउँदै थिए । घरधनीका छोरी, बुहारी, नाति, नातिनी सबैजनाले हतारहतारमा कोठा छाडेरबाहिर निस्किए । 
‘‘उहाँहरूलाई उठाएर दुःख दिनुभन्दा हामीलाई अन्त कतै व्यवस्था गरे हुँदैन ?’’ चेतानाले कमरेड समरको ध्यानाकर्षण गराई । 
‘‘कमरेड चेतना ! तपाईं अहिले पद्धति र अनुशासनभन्दा बाहिर गएर बोलिरहनु भएको छ । यो तपार्इंको सरोकारको विषय होइन । तपार्इंले पार्टीले दिएको निर्देशन मात्र मान्ने हो ।’’ कमरेड समर अत्यन्तै आक्रामक स्वरमा प्रस्तुत भए । 
ठाइँली र अप्सराले चेतनालाई चुप लाग्न सङ्केत गरे । आमाले गाली खाएको सङ्केत बुझेर शाक्ति आमाको हात समाउन आइपुग्यो । सबैजना कमरेड समरको निर्देशन बमोजिम काठाकोठाभित्र पसे । 
‘‘खै ! मलाई दही थोरै भयो ।’’ टोलीभित्रको 
एउटा खाइलाग्दो युवकले खाना थप्दै गर्दा भन्यो ।
‘‘आज तपाईंहरू आउने कुरा थाहा भएन । ठेकीमा थोरै मात्र जमाएका थियौँ । बरु दूधसँग खानुस् न बाबु !’’ घरधनी भाउजुले सुस्तरी भनिन् । 
‘‘गाउँमा गएर भए पनि खोजेर ल्याउन सक्नुहुन्न !’’ 
कमरेड समरले फरि जङ्गी स्वभाव देखायो । 
घरवाली भाउजुले लोग्नेलाई एउटा भाँडो दिएर पल्ला घरतिर जाने सङ्केत गरिन् । 

चेतानालाई आज राति दुई बजेसम्मै निद्रा आएन । दुई बजेपछि उसले एकछिन मात्र के आँखा चिम्लेकी थिइँन् फेरि निद्रा खुलिहाल्यो । त्यसपछि जति कोसिस गर्दा पनि उसलाई निद्रा आएन । उसलाई कुन गाउँमा आइपुगियो भन्ने बुझ्न मन लागिरहेको थियो, घरधनी मानिसहरू उठेको सङ्केत पाएपछि ऊ सुस्तरी तल आँगनम झरी । 
धर्तीमा मिरमिरे उज्यालोको सङ्केत मात्रै परेको थियो । घरधनी दाइ गाइवस्तुलाई खोले घाँसको व्यास्था गर्दै थिए । उसले घरभित्रको मधुरो उज्यालामा जस्केलोबाट चियाएर हेरी, घरपरिवारका सबै सदस्यहरू भुइँतल्लाको चुल्हो र अगेनो वरिपरि गुन्द्री ओच्छ्याएर बग्रेल्ती सुतिरसहेका थिए । 
‘‘यस्तो मुटु छुने जाडोमा यसरी गुन्द्री ओच्छ्याएर मानिसहरू कसरी रात काटे होलान् ।’’ उसले मनमनै आफैँलाई सोधी । 
‘‘दाइ ! यो गाउँको नाम के हो ? ‘घरधनी दाइलाई सोधी ।
‘‘पिपलभञ्ज्याङ् !’’ ऊतिर नहेरी घरधनी दाइले 
उत्तर फर्काए । 
चेतानाले पश्चिमतिर फर्किएर हेरी । तल नागबेली भएर । बगिरहेको सुनकोसीलाई देखेपछि उसले आफ्नो माइती गाउँ मयङ्खु त्यहीँ माथि हुनुपर्छ भन्ने लख काटी । 

No comments:

Post a Comment