Saturday, October 7, 2023

सीता ओझा

 

सीता ओझा


कथा 


अनुत्तरित प्रश्न


हल्का चिसोले वरिपरि कुहिरो लागेको थियो । कोलाहल नभएर होला गाउँ नै चकमन्न थियो । बिहानको सात बजेतिर आवरण आँखा मिच्दै मिच्दै बाहिर निस्कियो । बाहिरको मूलढोकामा पुगेपछि मूलढोकाको पल्ला समाउँदै भन्यो, “फुपू, अघि नै उठ्नुभो ! किन मलाई नउठाएको   त ? सुत्ने बेलामा, सँगै उठेर दौड्ने भनेको होइन त ! हैट, तपाईं त भुल्न थाल्नुभएछ ।”

आँगनको पल्लो छेउमा बसेर तरकारी काटिरहेकी सावरीले आवरणतिर फर्केर भनिन्, “तपाईं सानो मान्छे, अलिबेर सुत्नुपर्छ नि ! उठिहाल्नुभयो । अब दौडौंला नि ! हुन्न र ?” दङ्ग पर्दै 

“हुन्छ, म हल्का उफ्रन्छु अनि दौड्ने है त !”

सावरीले हुन्छ भन्दै आँगनकै चुलोमा पानी तताउन बसालिन् । पाँच लिटरको चियादानीको पानी उम्लने बेला हुन लागेको थियो । कुर्सीमा बसिरहेको आवरण जुरुक्क उठ्यो अनि सावरीको हात समात्यो र भन्यो, “ल अब दौडौं ! यो घर पाँच पाँच पटक दौडेर घुम्ने है । त्यति घुमेपछि कसरत गर्न पुग्छ ।“

सावरी आवरणको कुरा सुनेर छक्क परिन् । आवरणले हात समातेर जिद्दी गरेपछि सावरी पनि सकिनसकी आवरणको पछिपछि दौडिन् ।

दौड पूरा भएपछि आवरणले प्लास्टिकका दुईओटा कुर्सीहरूको बस्नेपट्टि मिलाएर जोड्यो र बिचबाट छि¥यो ।

उसले जोडेको कुर्सी देखाउँदै भन्यो, “फुपू, म अब १० मिनेट आराम गर्छु है ।”

सावरीले हस् भनेर आँगनको चुलोमा दाउरा थप्न पर्ने भएर दाउरा लिन गइन् ।

दाउरा लिएर आउँदै थिइन्, आवरणले फेरि बोलायो ।

सावरीलाई बोलाएपछि मनितातिर फक्र्यो र भन्यो, “ममी, यता हेर्नस् त !”

“फुपू र मलाई ब्ल्याक टी है !” टवाक्क चिनी लागेको ।

आवरण कुर्सीबाट जुरुक्क उठ्यो र सावरीको छेउमा गयो । सावरीको हात समायो र भन्यो,

“अब ब्ल्याक टी आउन लाग्यो, यता आउनुस् ! यो कुर्सी तपाईंको र मेरो हो । म चिया पिएपछि मेरो होमवर्क गर्छु है ।”

आवरणको व्यवहारले सावरी चकित परिन् ।

सावरीले सोधिन, “सानू, हजुरले यो कसरत सधैं गर्नुहुन्छ ?”

आवरणले तुरुन्तै जबाफ दियो, “गर्छु त ! म त एकछिन हातखुट्टा चलाउन हिँड्छु पनि !”

आवरणका कुरा सुन्दै सावरीले सबैतिर नजर लाइन् ।

सबै आफ्नै इलमतिर मक्ख थिए । आवरणको क्रियाकलापतिर खास कसैको चासो थिएन ।

तीनबर्से बच्चो, आफ्नो स्वास्थप्रति चासो राख्दै रमाएको र नियमितता दिएकोमा सावरीलाई अचम्म लाग्यो । प्रतिक्रिया नदिई सुनिरहिन् ।

बेला बेला उठेर सावरीले चुलोमा पकाएको खानेकुरा हेर्दै, पानी पनि पिउँदै आवरणले पाँच पेज गृहकार्य सक्यो ।

उठेर ब्रसमा मन्जन लगाएर दाँत माझ्यो । मुख धोयो र छेउमा आएर भन्यो, “फुपू, मेरो त स्कुल जाने बेला भयो । अब खाना खाऔँ !”

सावरीले पनि “हुन्छ” भन्दै मनितालाई बोलाइन् ।

मनिताले भान्सामा सबैलाई खाना पस्किन् ।

आवरणको  खाना खाने अलि ठुलो चरेसको कचौरा रहेछ ।

आवरण सावरीको छेउमा गएर बस्यो र सावरीतिर हेरेर भन्यो, “अब तपाई मेरो घरमा बसुन्जेल, तपाईंले खुवाउने, बुझ्नुभयो नि !”

यति भन्दै हजुरआमातिर फर्कियो । आफूलाई सावरीले खाना खुवाएको हजुरआमालाई देखाउँदै भन्यो, “आमा यता हेर्नू त ! मलाई त मजा आयो ।”

आवरणको कुरा सुनेर हजुरआमा मुस्कुराउँदै भनिन्, “फुपूले खाना खुवाउँदा कति आनन्द लिएर खाएको हो ।”

खाना खाइसकेपछि आवरण भित्र छिर्‍यो । दस मिनेट जतिमा स्कुलको पोसाक लगाएर ब्याग हातले घिसार्दै भान्सातिर छिर्‍यो र निकेशपट्टि फर्केर भन्यो, “बाबा, यो टाई त मिल्दै मिलेन । मैले लगाउँदा बटारिएको बटारियै ग¥यो ! मिलाइदिनुस् त !”

निकेशले एकछिन भन्दै मुखहात धोएर टाई मिलाइदिए । ब्याग पछाडि बोकाएर हातमा पानीको बोतल समातेर भने, “ल अब छिटोछिटो जाऊँ ! स्कुलको घन्टी बज्ने बेला भयो ।” 

आवरणले निकेशतिर हेरेर भन्यो, “आज बाबाको पालो होइन, उः फुपूसँग जाने !”

फुपूपट्टि फर्केर “जाऔं फुपू” भन्यो ।

सावरीले प्रतिक्रिया नजनाई आवरणलाई स्कुल पु¥याउन हिँडिन् ।

लागभग पाँच मिनेटको बाटो कटेपछि आवरणले सावरीलाई हिँड्दै गरेको बाटोबाट मोडेर सहायक बाटोतिर तान्यो ।

सावरी छक्क पर्दै आवरणतिर हेरेर बोलिन्, “सानू, स्कुल त यता पो हो त !”

“हजुर कता हिँड्नुभएको ?”

आवरणले सावरीलाई इसाराले चुप लाग्न भन्यो र हात तानेर साना साना मन्दिरतिर लग्यो ।

मन्दिरका भवन साना तर लस्करै थिए । मन्दिरको ढोकातिर देखाउँदै आवरणले फुपूलाई सानो स्वरले खस्याकखुसुक्क गर्दै सोध्यो, “फुपू ! भगवानलाई  पनि यसरी जेलमा हाल्छन् त ?”

तीन वर्ष मात्रै पुगेको आवरणको बोलीमा बेला बेला तोते स्वर आउन छोडेकै थिएन । यस्तो सानो उमेरको बच्चोको त्यो प्रश्नको उत्तर चुपचाप सुन्नुबाहेक सावरीसँग अन्य उपाय थिएन । आवरणको इश्वरीय स्वरूप र इश्वरप्रतिको धारणाको चेतले सावरी झसङ्ग भइन् । आवरणले प्रश्न सोधिरह्यो । अनुत्तरित सावरीले अनेकौं बहाना बनाएर आवरणलाई स्कुल छिराइन् । स्कुल छिर्ने बेलामा आवरणले काननेर पुगेर भन्यो, “फुपू, त्यो मन्दिरको भगवान्लाई जेलमा किन राखेको ? भन्नुस् न !” सावरीले आवरणलाई च्याप समातेर अङ्कमाल गरिन् र “साँझ लिन आउँदा भन्छु है” भनेर टारिदिइन् ।


000

काठमान्डू 

२०८०/०४/०२


 

 


No comments:

Post a Comment