|
गोपाल अश्क |
कथा
अन्तिम क्रान्ति
म आफ्नो घरको बरांडामा
बसेको छु । साँझको बेला छ । साँझ पनि न भनौँ,
साँझको विदाइ र रातको आगमन, अर्थात् गोधुलीको बेला छ । आकाश र बादलबिच लुकामारीको खेल
भइरहेको छ। कहिले बादलले आकाशलाई आफ्नो अँगालोमा लिन्छ भने कहिले आकाशले बादललाई पर
हुत्त्याउन सफल हुन्छ । यसरी दुवै आ-आफ्नो अस्तित्व कायम गर्न र त्यसको प्रभुत्वसँग
दुनियाँलाई परिचित गराइराखेका छन् । म यो जुन बादल हेर्दैछु, त्यो असोज महिनामा आकाशमा
लाग्ने कहिलेकाहीँको सेतो बादल होइन, साउन भाद्रको महिनामा लाग्ने कालो बादल हो, पूरा
आकाशलाई आफ्नो मुट्ठीमा कैद गरेर राख्न सफल हुने बादल । हावा पनि बजोडले चलिरहेको
छ । दिउँसोको समयमा एक्लै हुँदा आफ्नो कुनै हराएको साथीको खोजीमा स्वाँस्वा र हवाँहवाँ
कराउने जङ्गलझैँ हावा पनि साँय-साँय कराइरहेको छ । रात पर्न लागेकोले मेरो मनमा भय
व्याप्त हुन थालेको छ । भनिन्छ, साँझपख आएका पाहुना र पानी जाँदैनन् । मसँग साँझदेखि
हवार्ररहवार्रर पर्दै गरेको पानीको स्वागत गर्नुबाहेक अर्को कुनै उपाय छैन । म चाहेर
पनि यत्ति खेर परिरेको पानीलाई रोक्न सक्दिन । म के अरु जो कोही भए पनि, यो काम गर्न
सक्दैनन् । बेला बेलामा आकाशमा जोरजोरले बिजुली कड्किरहेको छ । जोरजोरले चट्याङ्ग
कड्केको आवाज सुनिन थालेको छ । कोठाका झ्यालमा झुन्ड्याइएका पर्दाहरू बेस्सरी हल्लिरहेका
छन् । जोर जोरले पानी परिराखेको र हावा चलिरहेकोले होला, अचानक बत्ती जान्छ । घरमा
चारैतिर अँध्यारो फैलिन्छ । भन्नु आवश्यक छैन, मेरो कोठा पनि अँध्यारोको सिकार हुन्छ
। मैनबत्ती र लाइटर लिन म आफ्नो अध्ययनकक्षमा जान्छु । म आफ्नो घरका कोठाहरूमा, अँध्यारोमा
पनि आउन जान सक्छु । यस अघि पनि मैले कैयौँ पटक यसरी अँध्यारोमा आफ्ना कोठाहरू चहारेको
छु । आवश्यक परेका वस्तु प्राप्त गरेको छु । यसो गर्न म अभ्यस्त पनि छु । हजुरबुवा
भन्नुहुन्थ्यो,‘अभ्यास र साधनाले जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । जीवनरूपी पहाड
चढ्न अभ्यास गर्नुबाहेक अर्को कुनै उपाय छैन ।’
म आफ्नो पढ्ने कोठामा अँध्यारोबाहेक केही देख्दिँन । चारैतिर अँध्यारो नै
अँध्यारो । आफ्नै अङ्ग ठम्याउन गाह्रो, यत्ति अँध्यारो । तर म अभ्यासी मान्छे, बिस्तारै
टेबुलतिर लम्कन्छु । हातले छाम्छु, टेबुलमाथि । बिहान पढेर राखिएका एकाध पुस्तकहरू
छोइन्छन् । पुस्तकको स्पर्शको उच्छ्वास महसुस गर्दछु । टेबलको घर्रा खोल्छु, त्यहाँबाट
एउटा मैनबत्ती झिक्छु । लाइटर खोज्छु, पाउँदिन । भान्छाकोठामा होला भनेर उतातिर लाग्छु
। बैठककोठाको पश्चिम दक्षिण कुनामा भान्छाकोठा रहेको छ । ठिक त्यसको उत्तरतिर बाथरुम
र त्यससँगसँगै टाँसिएर बसेको छ, एउटा अर्को भान्छा कोठा । यो सहर हो, गाउँ होइन । गाउँ
भएको भए, भान्छाकोठा र बाथरूम अलि पर पर हुन्थे । गृहप्रवेश ताका मेरा हजुरबुवा र हजुरआमाले
गाली पनि गर्नुभएको थियो, ‘‘ यस्तो पनि हुन्छ कहीँ ? भान्छाकोठा र दिशापिसाब गर्ने
ठाउँ जोडिएको ? घर त राम्रै बनाएका रहेछौ तिमीहरू, तर यो मामिलामा बुद्धि पुर्याएका
रहेनछौ ।’’ उहाँहरूलाई मैले यत्ति मात्र भन्न सकेको थिएँ, ‘‘यो हाम्रो जमाना हो बुवा
। यो सहर हो, सहरमा यस्तै हुन्छ । कम जग्गामा सबैथोक मिलाउनु पर्छ। यो गाउँ होइन ।
ऊ माथि हेर्नुस् त सिँढीमा, पूजाघर बनाइएको छ। पाँच फिट चौडाइ र तीन फिट लम्बाइको आयतनमा
भगवानहरू खुम्चिएर बस्न बाध्य हुनु भएको छ ।’ मेरो कुरा सुनेर हजुरआमाले त केही बोल्नु
भा’को थिएन, तर हजुरबुवाले अलिक हप्काउँदै भन्नु भा’को थियो, ‘‘भैगो, भैगो, चुप लाग्
। बुझेँ तिमीहरू परेवाको खोपमा बसेका रहेछौ । तिमीहरूलाई गाउँको फराकिलो ठाउँको आनन्दबारे
के थाहा ?’
अलि बिषयान्तर भएँ
.... होइन...! क्षमा गर्नुहोला... तर गहिरिएर हेर्ने हो भने, डुबेर
सोच विचार गर्ने हो भने मलाई हिजोआज त मलाई हाम्रो मुल्क नै विषयान्तर भएको लाग्छ ।
अँ,
त म आफ्नो अध्ययन कोठाबाट निस्केर भान्छाकोठातिर लागेँ....अलि छिट्टो छिट्टो हिँडेको
हुनुपर्छ, छिट्टोभन्दा छिट्टो मैनबत्ती बाल्न खोजेको थिएँ । बुढियाले कुनै कोठाबाट
कराइसकेकी थिइन्, ’‘ ए हजुर ! छिट्टो बाल्नुस् न मैनबत्ती ।’’ मेरो आठ वर्षको एक मात्र
छोरोले पनि ‘आमा ! बुवा ! डर लाग्यो ! उज्यालो पार्नुस् न छिट्टै !’ म अचानक बैठककोठाको
पश्चिमतिर, बिचोबिच अवस्थित बाथरूम अगाडि रहेको बेसिनमा ठोकिन पुगेँ । तर एकै छिनमा
आफूलाई सम्हालेँ र भान्छाकोठामा पसेँ । त्यहाँ मलाई लाइटर खोज्न कुनै खास कठिनाइ भएन
। मलाई पनि भान्छाकोठाको रूप रङ्ग, तह आदि बारे थाहा थियो । किनभने मैले प्रत्येक
महिनाको पाँच दिन खाना पकाउनु पर्दथ्यो । भन्नु आवश्यक छैन किन ? यहाँ सबैलाई थाहा
हुँदै होला । जे होस्, मैले भान्छाकोठामा रहेको इन्डेक्सन चुलोनिरबाट लाइटर लिएँ र
‘फटाक्क’ को एउटा सानो आवाजका साथ क्लिक गर्नासाथ भान्छाकोठामा उज्यालो फैलियो, मद्धिम
भए पनि । म बल्दै गरेको मैनबत्ती लिएर बैठककोठामा पसेको मात्र के थिएँ, ल्यान्डलाइन
टेलिफोनको घन्टी बज्यो, ‘ट्रीन...ट्रीन...ट्रीन...ट्रीन’ । ल्यान्डलाइन टेलिफोन किन
भनेको हुँ भने त्यो बेला हाम्रो मुलुकमा मोबाइल भित्रिइसकेको थिएन । कर्डलेसको जमाना
थियो त्यो । त्यो पनि सबैको पहुँचभन्दा बाहिरको विषय थियो । कोही कोहीसँग मात्र थियो
। म जस्तो साधारण पत्रकारको हातमा कर्डलेस कहाँबाट हुनु । बडो मुस्किलले मैले आफ्ना
एसबिआई ब्याङ्का केही शेयर बेचेर एउटा ल्यान्डलाइन टेलफोन जडान गराउन सफल भएको थिएँ
। यस्तो जमाना थियो । फोनको घन्टी बज्नु पनि एक किसिमको उत्सवझैँ लाग्थ्यो । फोन
उठाइसकेपछि मात्र थाहा हुन्थ्यो, त्यो उत्सवको वस्तुस्थितिबारे । वस्तुस्थिति थाहा
भएपछि मात्र फोन उठाउने पात्रको अनुहार कालो वा उज्यालो हुन्थ्यो । जे होस्, सुरुसुरुमा
त फोन उठाउनु आनन्दको कुरो हुन्थ्यो... खासगरी केटाकेटीहरूका लागि । तर त्यस बखत बजेको
फोनको घन्टीले हामी सबैलाई झस्काएको थियो । ‘यस बेला, यस्तो प्राकृतिक प्रतिकूलताको
समयमा को होला ? निश्चित रूपमा कुनै अति आवश्यक कुरा होला, नत्र एक छिनपछि... एक छिनपछि
भन्नुको मतलब पानी रोकिएपछि... हावा चल्न थामेपछि....फोन गरिहाल्थ्यो नि ?’’ यी र
यस्ता अनेकौँ कुरा मनमा खेलाउँदै मैले फोन उठाएँ ।
‘हलो, सर !’ उताबाट चिनेको आवाज आयो । मैले चिनिसकेको थिएँ, त्यो साँझ पानी पर्न थाल्नुअघि
मसँग साहित्यिक र राजनीतिक विषयमा कुरा गरेर गएको अनिल शर्माको आवाज थियो ।
‘के भो अनिल ?
मैले ऊतिर सिधै प्रश्न तेर्साएँ ।
‘सर, मैले सरकहाँबाट
आउँदा बाटोमा आर्मीको एक जत्था हजुरको घरतिर गइरहेको देखेँ । हजुरलाई सर्तक र होसियार
हुनका लागि एउटा टेलिफोन बुथबाट फोन गरेको हुँ । म अहिलेलाई राख्छु ।’’
यत्ति भनेर अनिलले फोन राखेको थियो । त्यसपछि मेरो घरमा एक अर्को अँध्यारोले
ठाउँ लियो । कुरो के थियो भने मेरो टोल अलिक त्यो दृष्टिले प्रहरी प्रशासनका आँखामा
चढेको थियो । बेला थियो माओवादी र सरकारबिचको द्वन्द्वको । माओवादीहरूले आफ्नो त्यो
द्वन्द्वलाई ‘जनयुद्ध’ भन्ने गरेका थिए, अझै भन्छन् र सरकारले उनीहरूको त्यो दावीलाई
सिधै नकार्थ्यो र आतङ्कवादी भन्ने गर्दथ्यो। यो आजको कुरो होइन । आजको स्थिति बेग्लै
हो । रानीघाट माओवादीहरूलाई लुकाउने छुपाउने ठाउँको रूपमा चिनिएको थियो । कमसेकम प्रहरी
प्रशासन त यही विश्वासमा बाँचेका थिए ।
म ‘अब के गर्ने होला ? यो आर्मीहरू आउँदा के के गर्छन् होला’ भन्ने सोचमा थिएँ
। केही बेरमै मेरो घरको ढोकामा जोर जोरले ढकढकाएको आवाज सुनियो । म बरांडामा निस्कन
खोजें । मेरी श्रीमतीले बाहिर ननिस्कन इसारा गरिन् तर मसँग बाहिर निस्किनु र ढोका खोल्नुबाहेक
अर्को कुनै उपाय थिएन । म भित्रभित्र डराउँदै तर बाहिरबाट निडरताको भाव प्रकट गर्दै
ढोका खोल्दै भने, ‘हजुर,के थियो होला ?’
‘तिम्रो घरको तलासी लिनु छ ।’ भन्दै पाँच जना
आर्मीको एउटा जत्था मेरो घरभित्र पस्यो । ती पाँच जनामध्ये एकले भन्यो, ‘‘ तिमी नै
होइन, ‘आक्रोश’ भन्ने पत्रिकाको सम्पादक ?’
‘हो, मै हुँ ‘आक्रोश’
पत्रिकाको सम्पादक ।’ मैले सिधा सपाट जवाफ दिएँ ।
‘अनि, घरमा कस
कसलाई लुकाएर राखेका छौ ?’ एक अर्को आर्मीले सोध्यो ।
‘मेरो घरमा परिवारका
सदस्यबाहेक अरु कोही छैनन् र मैले कसैलाई लुकाएर किन राख्नुपर्यो। यो त हामी सबैको
घर हो ।’ मैले आफ्नो परिवारको स्थिति प्रष्ट्याउँदै भने ।
‘धेरै नबोल्, हामी
जे जति सोध्छु, त्यसको मात्र जवाफ दे।’’ मसँग पहिला सोधपूछ गरेको आर्मीले अलिक कडा
स्वरमा भन्यो ।
उसको कुरो सुनेर
म चुप लागेँ । म बुझिसकेको थिएँ, उनीहरू म र मेरो घरको छानबीन गर्न आएका छन्। मैले
प्रतिवाद गरेँ भने उनीहरू मसँग दुर्व्यवहारसमेत गर्न पछि पर्दैनन् । पाँच जना आर्मी
जवानहरूमध्ये चार जना मेरो घरका कोठाहरूमा पसे र एक जना बैठककोठामा उभिरह्यो । मेरी
श्रीमती मेरो छोरासँग ओछ्यानमा बसेकी थिइन् । उनका आँखामा भय र आशङ्काको बादल मडारिरहेको
थियो । उनी बसेकी कोठामा पस्ने आर्मी जवानले थर्काउँदै सोध्यो, ‘‘ अनि तिमी को नि
?’
‘उनी मेरी श्रीमती
हुन्।’’ मैले भनेँ ।
‘किन ऊ लाटी छे,
बोल्न सक्दिन । तिमी किन बोलेको ?’ त्यो आर्मी जवानले जोरसित हप्काउँदै भन्यो ।
‘म उहाँकी श्रीमती
हुँ, यो हाम्रो कान्छो छोरो हो ।’ आत्तिँदै मेरी श्रीमतीले भनिन् ।
‘साँझ यहाँ को
को आएका थिए ?’ उनीहरूबारे के थाहा छ तिमीलाई ?’ त्यो आर्मी जवानले मेरी श्रीमतीलाई
प्रतिप्रश्न गर्यो । मैले केही बोल्न खोजेको देखेर मलाई चुप गराउँदै भन्यो , ‘‘तिमी
चुप लाग् ।’ अँ, भन ! ती माओवादीहरू
कता गए ?’
यस पटक मेरी श्रीमती निकै डराइन् र काम्दै स्वरमा
भनिन्, ‘ खोई हजुर, मलाई केही थाहा छैन । उहाँहरू त हफ्तैपिच्छे आउनुहुन्छ । उहाँहरू
त उहाँको (मतिर देखाउँदै) चेला हुँ, भन्नुहुन्छ । कविता, गीत, गजल आदिबारे घन्टौँ कुरा
गरेर जानुहुन्छ ।’
‘ए, त्यसो भए,
तिनीहरू माओवादी होइनन् ?’ त्यो आर्मीले व्यङ्गले भरिएको मुस्कान छोड्दै भन्यो ।
त्यो आर्मीको यो व्यङ्ग्ययुक्त सोधाइमा मेरी श्रीमतीले कुनै जवाफ दिइनन् ।
उनी चाहेर पनि दिन सक्दिनथिइन् । किनभने, उनलाई त के, मलाई समेत थाहा थिएन । मैले त
उनीहरूलाई आफ्ना चेलाको रूपमा चिनेको थिएँ । त्यो आर्मीले मेरी श्रीमतीलाई अलिक नराम्ररी
तरिकाले हात समातेर केरकार गर्न थालेपछि मैले शिष्ट भाषामा तर विरोध गर्दै भने,‘‘ तपाईँले
मेरी श्रीमतीसँग यस किसिमले कुरो गर्न मिल्दैन । तपाईँहरू हाम्रो बारेमा धेरै कुरो
बुझेरै आउनुभा’को रहेछ । तपाईँहरूलाई मेरो बारेमा धेरै थोक थाहा हुँदाहुँदै एउटा अपराधीलाई
गरेजस्तो व्यवहार गर्दै हुनुहुन्छ ।’ मैले यत्ति मात्र के भने थिएँ, एउटा आर्मीले मेरो
मुखमा एक झापड हान्दै गर्ज्यो, ‘‘ हामीलाई सिकाउँछौँ, चुप लाग् नत्र.... । यो कोठामा
के छ, देखाऊ ।’’ भन्दै एक जना मेरो अध्ययन कोठामा पस्यो । बत्ति गएकोले कोठा भरि
अँध्यारै थियो । उसले ठूलो टर्च बाल्यो र कोठाभरि फैलायो । कोठाका पर्खालहरूमा बेला
बेलामा मलाई दिइएका प्रमाणपत्रहरू सजिएका थिए । त्यो आर्मीको नजर मैले सन् १९८१ मा
प्राप्त गरेको एउटा प्रमाणपत्रमा अड्कियो । त्यस प्रमाणपत्रको शिरमा ‘जनवादी लेखक सङ्घ’
लेखिएको थियो । त्यो आर्मीले त्यस प्रमाणपत्रमा लेखिएका अन्य कुरा केही पनि पढेन, पढ्न
चाहेन । खाली ‘जनवादी लेखक सङ्घ’ पढ्यो र पढ्नासाथ मतिर बाघले हेरेझैँ हेर्यो ।
उसले खोजेको पाइहालेको थियो । त्यसपछि के थियो र... तथानाम गाली गर्न थाल्यो--- हप्काउन
थाल्यो, ‘‘ ए, तिमी जनवादी लेखक हौ । हाम्रो शङ्का सही रहेछ । तिमी त माओवादी पो रहेछौ
। ठ्याक्क माओवादी नभए पनि उनीहरूको सम्पर्कमा रहने व्यक्ति त पक्कै रहेछौ । ल भन,
केही समय अघि तिमीकहाँ आउने माओवादीहरूको नाउँ के के हो ?’’
त्यो आर्मीको कुरा सुनेर म आत्तिएँ र भक्भकाउँदै हक्लाउँदै भनेँ, ‘‘ तपाईँहरूलाई
भ्रम परेजस्तो छ । त्यो प्रमाणपत्रमा लेखिएका अन्य कुरा पनि त पढ्नुस् । यो त मैले
खेमचन्द ताराचन्द महाविद्यालय, रक्सौलमा पढ्दा मोतीहारीमा भएको कलेज स्तरीय कविता प्रतियोगितामा
द्वितीय भएर प्राप्त गरेको प्रमाणपत्र हो । यो आजभन्दा अडतिस वर्ष पहिलाको कुरो हो
। त्यो बेला त हाम्रो नेपालमा माओवादी विद्रोहको नामोनिशान नै थिएन । माओवादी आन्दोलन
त २०५२ सालदेखि सुरु भा’को हो, होइन र ?’’ मैले त्यो आर्मी अलि सोचिरहेकोझैँ देखेँ
। त्यसपछि ऊ अलिक बुझ पचाउँदै भन्यो, ‘‘ अहिले त हामी जाँदैछौँ, तिम्रो यही चाला रहने
हो भने हामी पछि फेरी आउँला, र त्यो आगमन तिम्रो लागि अस्वस्थकर हुनेछ । ख्याल गर्नु
।’’ यत्ति भन्दै पाँचै जना आर्मीका जवानहरू मेरो घरबाट निस्के ।
उनीहरू जानु र बत्ति आउनु, सँगसँगै भएको थियो
। उनीहरूले गरेको लगभग एक घन्टाको केरकारले गर्दा हामी मानसिक रूपमा गलिसकेका थियौँ
। हुन त, बत्ति आएपछि मेरो घरमा मात्र होइन, मेरो छरछिमेकमा पनि उज्यालो भइसकेको थियो
। तर मलाई मेरो घरमा अझै अँध्यारै रहेझैँ लागिरहेको थियो ।
म, ‘‘राधा म अफिस जाँदैछु
। होश गरेर बस्नु । हिजोआज कुनै पनि बेला आर्मी वा माओवादीहरू घरभित्र पसेर दुःख दिन
थालेका छन् । म सधैँझैँ आज पनि राति नै आउँछु, पत्रिकाको काम सकाएर ।
राधा, ‘‘ हुन्छ हजुर ।’’ राधाको
मनमा अझै डर व्याप्त रहेको महसुस गर्दागर्दै पनि मैले केही भन्न सकिन र चुपचाप अफिस
हिँडे ।
त्यस ताकाको समय माओवादी र राज्यबिच
हुने गरेको द्वन्द्व र त्यस द्वन्द्वमा मारिने नेपालीहरूको घरपरिवारको चीत्कार तथा
पीडामा बितिरहेको थियो । त्यही बेला सात राजनीतिक दलहरूले एकजुट भएर सरकारको विरुद्धमा
रिले भोक आन्दोलन गरेका थिए । वीरगन्जको घन्टाघरमुनि रहेको चबूतरामा पाल टाँगेर पालैपालो
कुनै कुनै नेता वा कार्यकता अनशनमा बसेको देखिन्थ्यो । हाम्रो पत्रिकाको कार्यालय पनि
घन्टाघरनजिकै थियो ।
एक दिन म सधैँझैँ छ बजे अफिसबाट छुटेर पत्रिका कार्यालयमा पुगेँ । आफ्नो कार्यकक्षमा
बसेर दिनभरिमा आएका समाचारहरूलाई हेर्न थालेँ । गर्मीको महिना र वीरगन्जको ठाउँ, भन्नै
पर्दैन ती दुवैबिच गाँसिएको साइनोबारे केही । पसिनैपसिनाले भिजिसकेको थिएँ । म मात्र
होइन, मेरो कार्यकक्षमा बसेका समाचार संवाददाताहरूका साथै अन्य मान्यजनहरू पनि पसेनाले
निथ्रुक्क भिजिसकेका थिए । केही बेर यताउताको कुरा गरिसकेपछि गर्मीबाट निजात पाउनका
निम्ति म मेरा एकाध जना सहयोगीहरूका साथ छतमा गएँ । हामी छतमा बसेर हावा खाँदै कुरा
गरिराखेका थियौँ । लगभग आधी घन्टा बितेको हुनुपर्दछ, चार पाँच जनाको एउटा समूह हामीनिर
आएर उभ्यो । ती चार पाँच जनामध्ये एकले, जो आर्मी जवानजस्तो देखिन्थ्यो, सोध्यो, ‘यस
पत्रिकाको सम्पादक को हो ? तल अफिसमा सोधेको, माथि हुनुहुन्छ भन्नै जवाफ पाइयो । म
नजिकै बसेका कार्यकारी सम्पादकले भनेँ, ‘‘ म चाहिँ कार्यकारी सम्पादक हुँ र उहाँ (मतिर
देखाउँदै) प्रधान सम्पादक हो । त्यसपछि त्यो आर्मी जवानजस्तो देखिने व्यक्तिले सिधै
मतिर हेर्यो र भन्यो, ‘‘ तपाईँहरू हाम्रा समाचार किन छाप्नु हुन्न ?’’
म, ‘‘हामीले त हामीकहाँ प्राप्त
भएका हरेक समाचार छाप्ने गरेका छौँ । सर्त एउटै हुन्छ, त्यो समाचार तथ्यसत्य हुनु
पर्दछ र स्रोत भरपर्दो हुनुपर्दछ ।’’ मैले महसुस गरेँ, त्यो व्यक्ति मेरो सपाट जवाफले
सन्तुष्ट भा’को थिएन । अलि मुख बिगार्दै भन्यो, हामी यहाँ यसै आएका होइनौँ । तपाईँहरूलाई
थाहा छैन हामी को हौँ ?’’
म,‘‘ को हुनुहुन्छ तपाईँहरू
?’’ मैले त्यो व्यक्तितिर हेर्दै सोधेँ ।
त्यो व्यक्ति, ‘‘ हामी माओवादी
हौँ । त्यो हेर्नुस् नाटक (घन्टाघरमुनि रिले भोक अनशनमा बसेकाहरूतिर हेराउँदै) । यिनीहरूको
यो नाटकले केही हुनेवाला छैन । सरकारले यिनीहरूको कुरो सुन्नेवाला छैन । सरकार त बहिरो
र अन्धो भइसकेको छ । सरकारले बम बारूदको धमाकाबाहेक निरीह, निमुखा, गरिबहरूको आवाज
सुन्दैन ।
साँच्चि भन्नुपर्दा हामी डराइसकेका छौँ । माओवादीका
बारेमा हामीले धेरै लेखिसकेका थियौँ, उनीहरूको विचारबारे अनेक तर्कवितर्क पस्किसकेका
थियौँ । म आफ्नो कुरो गर्दैछु, म जीवनमा पहिलो पल्ट माओवादीसँग भेटिरहेको थिएँ । नाम
र कामबारे त भिज्ञ थिएँ तर यसरी साक्षात् भेंट गर्न पाएको थिएन । त्यो बेला एउटा ‘माओवादी’
शब्दले मात्र भयको वातावरण सिर्जित गर्न सक्षम थियो । मेरा कार्यकारी सम्पादलेक अलिक
निडरता देखाउँदै भने, ‘‘ त्यसो होइन, हजुर । हामीलाई थाहा भएका समाचार हामी छाप्ने
गरेका छौँ ।’’
त्यो व्यक्ति, ‘‘ ठिक छ, यदि
छाप्ने गर्नु भा’छ भने । र यदि छाप्ने गर्नु भा’को छैन भने, आजदेखि, अहिलेदेखि हाम्रा
समाचार पनि छाप्ने गर्नुस् ।’’
उसले बोलेको कुरा सकुन्जेल ऊसँग आएकामध्ये एक
जनाले मलाई एउटा कागज थमाइहाल्यो । त्यो व्यक्तिले भन्यो, ‘‘ ल, सम्पादकज्यू, यो समाचार
तपाईँको पत्रिकाको भोलिको अङ्कमा छापिनु पर्यो । हामी भोलि बिहान तपाईँको पत्रिकाको
अङ्क हेर्छौँ । होश पुर्याउनु होला, यो समाचार नछापिएकोमा कुरा गर्न नपरोस् ।’’
यसो त त्यो व्यक्तिले हामीलाई धम्काएको होइन,
बडो विनम्रतापूर्वक आफ्नो कुरो राखेको थियो । प्रजातन्त्रको यही त विशेषता हो, हरेक
व्यक्ति आफ्नो कुरा राख्न स्वतन्त्र हुन्छ । वाक् स्वतन्त्रता नै प्रजातन्त्रको मूल
विशेषता हो ।’’ तर हामी त्यो व्यक्तिले प्रस्तुत गरेको स्वतन्त्रताले अर्कै किसिमबाट
प्रभावित भएका थियौँ । मेरो मुखबाट ‘हस्’ बाहेक कुनै अर्को शब्द निस्केन, वा यो भनूँ,
निस्कन चाहेन । उनीहरू हावाझैँ आएका थिए, आँधीझैँ गए ।
उनीहरू गइसकेपछि, मैले उनीहरूले दिएको कागज
पढेँ । त्यसमा लेखिएको कुरो पढेर आश्चर्यचिकत मात्र भइन, डराएँ पनि । राति बाह्र बजे
प्रेसमा जानुपर्ने ट्रेसिङ पेपर कहिलेकाहीँ बिहानको चार बजे,पाँच बजेसम्म जान्न बाध्य
हुन्थ्यो । त्यो रात, म घरै गइन, कार्यालयमै बसि रहेँ । त्यो रात पनि, लोडसेडिङ भयो
। रातिको तीन बजे मात्र बत्ति आयो । घटना एक बजे घटेको खबर प्राप्त भयो । हामीले हाम्रो
पत्रिकामा त्यो घटना छाप्यौँ । त्यस दिन बजारमा हाम्रै पत्रिकाको कुरो थियो । हाम्रा
समर्थकहरू प्रशंसा गरिरहेका थिए भने विरोधीहरू विभिन्न प्रकारका आरोप लगाइराखेका थिए
। दिनको एघार बजेतिर जिल्ला प्रशासन कार्यालयबाट हामीकहाँ फोन आयो । खास गरी मलाई र
मेरा कार्यकारी सम्पादकलाई बोलाइयो । त्यो प्रकाशित घटनाबारे विभिन्न कोण र विभिन्न
शैलीबाट सोधपुछ गरियो । सोधपुछ त प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा गरिएको थियो,
तर त्यहाँ उपस्थित हुनेहरूमा आर्मीका जवानहरू पनि थिए, प्रहरी प्रशासनका अधिकारी पनि
थिए । हामीलाई ‘‘ताड़ से गिरे, खजूर पर लटके’ जस्तो भा’ थियो । धन्न, हामीले त्यो खबर
‘छाप्दाछाप्दा’ को ब्लाक र शीर्षकमा छापेका थियौँ र सबैभन्दा महत्त्वपूर्ण कुरो, त्यो
रात लोडसेडिङ लामै भएको कुरो प्रशासनलाई पनि थाहा थियो । हामीले बडो मुस्किलले उन्मुक्ति
पाएका थियौँ ।
आज, हाम्रो देशमा
संघीय गणतन्त्र स्थापित भइसकेको छ। २०७२ को नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई
सार्वभौम बनाएको छ । प्रत्येक नेपालीलाई बोल्ने अधिकार प्राप्त भइसकेको छ। हाम्रो
संविाधानलाई विश्वमा सबैभन्दा राम्रो संविधानको रूपमा दर्जा प्राप्त भएको छ । हिजो
दश वर्ष लडेका माओवादीहरूले सत्ताको कुर्सीमा विराजमान हुन थालेका छन् । भन्नु पर्दा
सत्तासुख भोग्न थालेका छन् । माओवादी नेता र कार्यकर्ताहरू आफ्नो जीवन उकास्नमा तल्लिन
छन् । पूँजीवाद र सामन्तवादको घोर भर्तर्सना गर्ने, विरोध गर्ने र विदोह्र गर्ने माओवादीहरू
कमोबेस त्यही बाटोमा हिँडिराखेका छन् । अचम्मको कुरो त के छ भने माओवादी र काङ्ग्रेसबिच
सत्ता समझौता हुन थालेको छ । माओवादीलाई देखि नसक्ने काङ्ग्रेसी र जनयुद्धको बेला
सबैभन्दा बढी काङ्ग्रेसीहरूलाई नै मार्ने माओवादीहरूबिच समझौता भएको मात्र होइन, टिकेको
पनि देखेर नेपाली समाज आश्चर्यचकित छ । बेला बेलामा दुवै दलका सजग र नेता कार्यकर्ताहरू
यो पवित्र वा अपवित्र समझौताबारे कुरो उठाइराखेका छन् तर नेतृत्व पङ्क्तिको कानले
सुन्दैन । सुन्नै चाहँदैन ।
युवा पिँढी विदेस पलायन भइरहेको छ । तर एउटा
आशाले कहिल्यै साथ छाडेको छैन, हर मोडमा साथ दिइरहेको छ । त्यो आशा रुपान्तरित भएको
छ, ‘क्रान्ति’ भन्ने शब्दमा । सबै नेपालीले राम्ररी के बुझेका छन् भने कुनै पनि क्रान्ति
दिशाहीन हुँदैन, बरू क्रान्ति गर्ने पात्रहरू दिशाहीन भइहाल्छन् । ‘क्रान्ति’ शब्द
खाली शब्द मात्र होइन, एउटा संस्कार हो, एउटा सभ्यता हो, समाजमा व्याप्त रहेका विविध
विसङ्गतिविरुद्धको शङ्खनाद हो । ‘क्रान्ति’ अपिवत्र कहिल्यै हुँदैन, सधैँ पवित्र
हुने गर्दछ । मलाई लाग्छ, हाम्रो मुलुकले एउटा अर्को ‘क्रान्ति’ को पृष्ठभूमिको तयारीमा
छ । त्यो क्रान्ति रक्तरहित क्रान्ति हुनेछ, हरित क्रान्ति हुनेछ । नेपालबाट विदेसिरहेको
युवा पिँढीलाई आफ्नै देशमा रोक्ने र विदेसिएको युवा पिँढीलाई स्वदेश फर्काउने अन्तिम
क्रान्ति हुनेछ । हुनेछ, हाम्रो देशमा क्रान्ति हुनेछ । पक्कै हुनेछ ।
v