Saturday, July 1, 2023

यश घिमिरे

 


कथा


सम्झनामा दुई पात्र



पात्र -१
पोखराबाट चितवन जान डाइरेक्ट गाडी नभेटे पछी मुग्लिन झरेर अर्को गाडी चढें | करिब २४ – २५ बर्षको जस्तो देखिने गोरो र हसिलो अनुहार गरेको एकजना भाई भाडा उठाउदै आयो | जब नजिक आइपुग्यो मलाई हेर्दै खुसि मिस्सिएको स्वरले सोध्यो – दाई ! सन्चै हुनुहुन्छ ? | हजुर लाइ भेटेर एकदम खुशी लाग्यो …” भन्दै दह्रो गरि हात मिलायो | म रनभुल्लमा परें | केटो राम्रो , हसिलो र पढेलेखेको जस्तो देखिन्थ्यो | भए भरको स्मरण शक्ति लगाएर उसलाई चिन्ने प्रयत्न गरें , सब व्यर्थ | जिन्दगीको कुनै पनि मोडमा चिनेको , भेटेको मान्छे हो जस्तो लागेन | तैपनि आफ्नो असजिलो पन छिपाउन भनें -” अँ भाइ सन्चै छु | मलाई नि तिमिसंग भेटेर खुसि लाग्यो ” | पर्सबाट बस भाडा निकालेर दिन खोजें , लिन मानेन | जबर्जस्ति गरेर फर्काएरै छोड्यो | ”दाइ एकछिन है.. म ऐले आउछु” भन्दै फेरी भाडा उठाउनै व्यस्त भयो |
म भने उसैको बारेमा सोच्न थालें- को होला त ? | स्कुल , क्याम्पसको सहपाठी हुने कुरै भएन, म भन्दा निकै कान्छो छ | नातेदार होला त ? त्यो पनि होइन , केटो गुरुङ -मगर जस्तो मंगोलियन अनुहारको छ | सोच्दा सोच्दा दिमाग फुट्ला जस्तो भयो तर पनि चिन्न सकिन | अब कसोरी ”सरि मैले चिन्न सकिन” भनु होला ? बसभाडा सम्म नलिएर आत्मियता देखाई सक्यो |
”दाई ! कंडक्टर भै’याछ आफु त | गरेर खान के को लाज होइन त ”| फुर्सदिलो भएर आईपुग्यो |
”अफकोर्स ! गरेर खानु नि के को लाज यार ?| ढाटेर छलेर खानु पो भएन त ” |
”अनि घर तिर बुबा आमा सबैजना सन्चै हुनुहुन्छ नि ? बैनी कतिमा पढ्दै छिन | सुरेन्द्र दाई त दुबही जानु भयो रे भन्ने सुनेको थिएँ | फोन गरि रहनु हुन्छ नि ?|”
मेरो अड्किएको सर्टको कलर मिलाइदिदै भन्यो |
म झन् चकित परें | उसले त मलाई मात्र होइन मेरो आमा बुबा भाइ बैनी समेतलाइ चिन्दोरहेछ | चिन्ने मात्र होइन मेरो परिवारको बारे एक-एक थाह पनि रहेछ | कति नजिकको ठानी रहेछ उ?! आफनै मान्छे जस्तो गरेर सर्टको कलर मिलाई दिदैछ | अब कसरि भनक हुन दिउँ कि मैले उसलाई चिन्नै सकिरहेको छैन |
अचानक घ्याच्च गाडी रोकियो | बाहिर हल्ला खल्ला सुनिन्थ्यो | हातहातमा लाठि र दाउरा बोकेका मान्छेहरु ड्राइभर संग गाडी साइड लगाउन आदेश दिई रहेका थिए | मानौ हवल्दारले सिपाही लाइ आदेश दिएको होस् | केहि व्यक्तिहरु भने चक्का जाम भएको बेलामा गाडी किन चलाएको भन्दै ड्राइभरलाइ झ्याँगल र झुन्गल पार्न थाले | त्यो भाइ हत्त न पत्त तल झरेर ड्राइभरको बचावट गर्न पुग्यो | उ आफ्नो दुई हात जोड्दै आफु हरुलाई चक्का जाम छ भन्ने थाह नभएको व्यहोरा सुनाउदै थियो | उसको कुरा कोहि सुनिरहेको थिएन | सबैको अनुहार रगत पिएर मातेको बाघ जस्तो देखिन्थ्यो | यतिकैमा एउटा कुर्लियो -”साला ! चक्का जाम छ भन्ने थाह हुदाहुदै गाडी चलाउछ ! ओइ केटा हो… पेट्रोल खन्याएर आगो लाईदे , मा … क्नेको गाडी जलाउने हो आज |”
यात्रीहरु माझ गाडी जलाउने कुराले खैलाबैला मच्चियो | सबजना हतार हतार गाडीबाट झर्र्यौं |
हामी जतिसक्दो चाँडो त्यो अराज़क हुलमुल बाट टाढा हुन चाहन्थौँ | त्यो भाइ भने त्यहि कतै भिडभाडमा नम्र भएर भद्रता देखाउदै थियो | उसलाई मन भरिको धन्यबाद र ”बाइ’ भन्न पनि नपाइकन अरु यात्रीसंगै पैदलनै गन्तब्य तिर लागें | आज 10 बर्ष पछीसम्म पनि मनमा यहि कौतुहल खेल्छ – ”को होला त त्यो भाई ?”

पात्र -२

परदेशमा हुदा आफ्नो देशको मान्छे भेटीए प्राय सबैलाइ खुशी लाग्छ | झन् नयानया हुँदा त कोहि नेपाली भेटीए , नातेदारनै भेटे जस्तो लाग्ने | इजरैल टेक्नासाथ एजेन्सीले हस्पिटलमा बुढो रुंगेर बस्ने काममा हालिदियो | हिब्रो मात्र बुझ्ने बुढो , म हिब्रोमा सलोम र आनी बेस्सेदार भन्दा अरु बोल्न नआउने | बुढोले के के भन्छ के के केहि बुझिने होइन | नर्स /डाक्टरहरु जाने पनि नजाने जस्तो गरेको हुन कि के हो के हिब्रु मात्र बोलिदिने अंग्रेजी बोल्न नरुचाउने | खुब असजिलो स्थितिको सामना गर्दै गर्दा अचानक उ आइपुग्यो , म जस्तै बुढो रुंगेर बस्न | होंचो कदको , कालो कालो अन्दाजी बर्ष ३५ को देखिने उ हेर्दा नेपाली या इन्डीएन झैँ मानें | उसले इम्प्लोयर र नर्सहरु संग धारा प्रबाह हिब्रोमा कुरा गरेको देखेर मलाई पनि निकै राहत महशुस भयो | कमसेकम बुढोले के चाहन्छ , के भन्न खोजेको हो ? , यसले त सघाइदेला भन्ने लाग्यो |
”नमस्ते हजुर ! तपाई नेपाली हो ?|”
उसले मलाई पुलुक्क हेर्यो | अनि आफ्नै धुनमा मोबाइल खेलाउदै भन्यो -”नो” |
”देन यु आर एन इन्डिएन , यस ?”
”यस” अझै म तिर फर्किएन |
”इन्डिया कहा से हो आप |” म उ संग नजिकिने प्रयास गर्दै थिएँ |
”जानकर क्या करोगे |”
उसको यस्तो रुखो उत्तरले एकछिन त अकमक्कमा पार्यो | फेरी इच्छा भयो एकलात जमाएर हिर्काउँ अनि भन्दिऊँ – ”जानकार ये करुंगा ”| तर केहि बोलिन | फरक्क फर्किएँ |
भोलिपल्ट साबिक कै समयमा हस्पिटल पुगें | कोठा भित्र पस्नै लाग्दा अलि जोड जोडले बोलेको आवाज़ सुनें -” साले …न्डी ! तेरो मन लागेको गर | तेरो छोरा छोरी जहा लानु पर्ने हो लैजा ..मलाइ मतलब ..”|
यति भन्दाभन्दै उसले मलाई देख्यो | अनि मोबाइल काट्यो | शायद उ नेपालमा श्रीमतीसंग कुरा गर्दै थियो | उ त्यहि मान्छे थियो जो हिजो म संग आफुलाई इन्डियन हुँ भन्दै थियो | आँखा जुधाएर हेर्न सकेन अनि आफ्नो इम्प्लोयर संग बोल्न थाल्यो | आज ३ बर्ष भैंसक्यो म यो मुलुकमा आएको | अझै पनि मनमा यहि कौतुहल खेल्छ -” कस्तो खालको होला त्यो मान्छे ?”|


000

No comments:

Post a Comment