Friday, June 30, 2023

रीता ठकुरी


कथा 

वाक् फर हेल्थ

 

हामीले सानैदेखि ठूला-बडाहरूबाट भुत-प्रेतको कथाहरू सुन्दै आएका हौं। यस्ता कथाहरू सुन्दा हामीलाई डरलाग्ने गर्थ्यो। हामी अनायसै डराएर आमा-बाबा अथवा ठूला-बडाहरूका समीपमा गएर उनीहरूलाई समाई आफ्नो डरहरू लुकाउने गर्थ्यौं।

यस्ता कथाहरूले पनि हाम्रो मनमा डर जगाउने गर्थ्यो। भुत-प्रेतको कुरा सुनेपछि हामीलाई एकलै बाहिर निस्कने आँट पनि आउँदैन थियो।

समय बित्दै गयो म पनि केटा-केटीदेखि जवान हुँदै गएँ। यो जवानीसितै भुत-प्रेतको विश्वास पनि मेरो मनबाट हटेर गयो। कसैले भुतप्रेतका बारेमा कुराहरू गर्दा पनि आफुलाई पटकै विश्वासै नलाग्ने। यी सब कुराहरू कपोल-कल्पित हुन भने जस्तो लाग्न थाल्यो। हास्यस्पद लाग्न थाल्यो। गाउँ-घरतिर रातको समयमा पनि म नडराइ हिँडने गर्थ्ये। अब म भुत-प्रेतको अस्तित्वमा विश्वासै नगर्ने मान्छे भइसकेको थिएँ।

घरमा कहिलेकाही एकलै सुत्नपर्दा म कहिले डराइन। एकलै सुत्दा, कहिले कुनै भुतले मलाई तर्साउँने सहासै पनि गरेन।

समय कति छिटो बित्दोरहेछ। सुकियापोखरीको, पोखरेबोंग रोडमा छोरी-ज्वाइँको घर छ।

दशैँको छेकमा, शुक्रवारको दिन पारेर हामी पोखरियाबोंग लाग्यौँ। सुकिया पोखरीमा आइपुग्दा, नातिको मोहले तान्यो। साउँकोभन्दा सुदको धेरै मायाभने जस्तो नाति केटोलाई हेर्न म अनि श्रीमान, गाडीबाट सुकियामा ओर्लेर कोशेली बोकेर नाति भेट्न गयौँ। सबैलाई घरमै भेट्यौँ। छोरी-ज्वाइँले हामीलाई ढोग दिए। नाति केटोले हामीलाई देखेर पहिले त लजायो। लजाउँदै-लजाउँदै शीरता-प्रणाम (ढोग) गर्यो। पहिले लजाए जस्तो गरपछि केहीक्षणमै नातिले आफ्नो चटकहरू  देखाउँन शुरू गर्यो।

छोरी-ज्वाइँले हामीलाई सुकियामा नै बस्ने आग्रह गरे। श्रीमानको पनि दशैँको छुट्टी भएको हुनाले एक-दुईदिन बस्नमा कुनै आपत्ति थिएन।

 

२०१७ सालको ३० अक्टोवरमा बडा दशैँ थियो। हाम्रो निधार खाली भएको पनि धेरै वर्ष भइसकेको थियो। हाम्रो ठूलो संन्तान भएको हुनाले वर्षैपिछे जुठो परे पछि मनाउँने कुरै भएन।

छोरी-ज्वाईंको घरबाट सखारै उठेर हामी ‘मर्निङ वाक’मा, पहिलो दिन माने भञ्झयाङ रोड, दोस्रो दिन सिमाना रोड, आज तेस्रो दिन मलाई दार्जीलिङ्ग रोड जाने इच्छा भयो। पहिलो र दोस्रो दिन ‘मर्निङ वाक’मा जार्दा हामीले बाटोमा धेरै मानिसहरूलाई भेट्यौँ।

 हामी भुक-भुके उज्यालोमा दार्जीलिङ्ग जाने मूल सडकतिर लाग्यौँ। सुकिया बजार अझै जागेको थिएन। सर्वत्र चकमन्न थियो। यस्तो सन्न्टा- भुइँमा सियो खसेको पनि सुन्न सकिन्थ्यो। पहिलो र दोस्रो दिनको तुलनामा आज हामी निकै छिटो भएका थियौँ। मेरा श्रीमानले टर्चको उज्यालोमा बिल्डिङहरू देखाउँदैभन्नु भयो; अघि-अघि त यस्ता ठूला-ठूला बिल्डिङ्गहरू सुकिया बजारमा कहाँ थिए र?

मैले हातको इशाराले उहाँलाई अब बात नगर्नुहोस्, हिँडदै भए पनि मेहेर सागर पाठ गर्नु होस् भनेँ। मेरो इशारा बुझेँ पछि उहाँले आफ्नो चोर औलाँ आफ्नु ओँठमा राखेर टाउको हल्लाएर हुन्छ भन्ने संकेत दिनु भयो।

बिहान- बेलुकी हामी सँधै नै मेहेर सागर पाठ गर्ने गर्छौँ।  जुनै स्थानमा बसेपनि यो हाम्रो आत्माको दैनिक खुराक जस्तै भईसकेको छ।

अब हामी दुवैले मन-मनैमा आफ्नो आरध्यदेव श्री कृष्ण परमात्मालाई संम्झेर ‘मेहेर सागर’ पाठ गर्दै अधि बड्यौँ। बजारदेखि केही पर पुगेपछि, दार्जीलिङ्ग जाने बाटोमुनि सिस्नुघारीमा के हो कुन्नि पट्ट... पट्ट..गर्दै कराएको हामी दुवैले सुन्यौँ। दुवैले सिस्नुको घारीमै गएर ध्यानपुर्वक कान थापेर त्यो आवज सुन्यौँ। सुनसान ठाउँमा यस्तो आवाज एक किसीमको झर्को लाग्दो सुनियो। हामी छक्क परेर एकार्काको मुख हेरा-हेर गर्यौँ।

 अचम्म! यस्तो आवाज  हामीले अधि कहिले सुनेका थिएनौं। हामीले फेरि आफ्नो पाठलाई ध्यानमा राखेर गनतव्यतिर बढ्यौं।

सुनसान सडकमा हामी दुवै, सगं-सगैँ हिँडदै थियौँ। हिँडदा-हिँडदै अचानक मैले सडकबिचमा अल्गो रूख देखेँ। अचम्म लाग्यो! यो बाटो भएर दार्जीलिङ्ग र पोख्रबुङ ओहोर-दोहोर गर्दा त कहिले पनि बाटो बिचमा यत्रो अल्गो रूख देखेकी थिइँन। हिँडदै जाँदा त्यो रूख बाटो छेउमा सर्यो। मैंले आफ्नो कमजोर आँखाको दोष सम्झिएँ।  अहिले अरूले हो भने, ‘भुत भेटाएँ, तर्सायो’ भन्ने थियो होला भन्ने संम्झिदै चुपचाप हिँडीरहेकी थिएँ। निकै पर पुगे पछि त्यो रूख फेरि सडकको अर्को छेउमा पुग्यो। अहिले त्यो रूख, मान्छेको आकृतिमा देखा पर्यो। म अवाक बनेँ। मनमा एक किसिमको डर पैदा भयो।

श्रीमान भने आफ्नो पाठ गर्दै एक धुनमा हिँडिरहनु भएको थियो । म चाँही, आफ्नो दिमागलाई अलिक जोड दिएर- ‘यो के हो? अचम्म! अघि रूख देखेँ, पछि त्यहि रूख मान्छेको आकृतिमा बद्लियो’- सोच्दै थिएँ। मैले आफ्नो दुवै आँखालाई पालैसंग मिचेर हेरेँ, अनि पछि फेरि चिम्म पनि  गरे। यसो गर्दा आँखा पनि छ्याङ भयो। त्यो मान्छे एकघुम्ति पर, हाम्रो अघि-अघि वल्लो छेउ र पल्लो छेउ गर्दै हिँडदै रहेछ। मेरो आँखाले छ्याड्गै देख्यो। त्यो मान्छे पनि हामी झैँ ‘मर्निङ वाकको निम्ति हिँडेको रहेछ’ भन्ने मलाई, पूर्ण विश्वास भयो। त्यो मान्छेलाई देख्दा आफैलाई कुरी-कुरी लागेर आयो, म कस्तो हुस्सु? अघि एकैक्षण भए पनि म वास्तविकदेखि भटकिएको रहेछु।

‘अहिलेको जुगमा पनि तर्साउँछ र? अहिलेका मान्छेहरूले मशानघाट वरिपरिको जमीनमा पनि घर बनाएर मज्जाले निर्धक्कभई बसीरहेका छन्। खोई त! भुतले तर्साएको? अब त भुत-प्रेतकोभन्दा पनि मान्छेको डर पो राख्नुपर्ने  समय आएको छ।

आजको हाम्रो गन्तव्य ‘लाप्चे जगत’सम्म थियो।

एक घुम्ति पर हाम्रो अधि-अघि त्यो मत्थु मान्छे पनि सडकको वल्लो छेउ र पल्लो छेउ हुँदै, मदको नशामा हिँडीरहेको थियो। यस्तो मत्थुले पनि ‘वाक फर हेल्थ’को महत्वलाई बुझेको रहेछ भन्ने विश्वासमा मेरो मन पनि खुशी भयो।

‘गाडीहरू न हिँडदा त यो सडक पनि कति ठूलो देखिएको?’ दार्जीलिङ्ग रोडको ठूलो सडकमा हामी तीन प्राणीहरू आ-आफ्नो स्वास्थ्यको ख्याल राख्दै हिँडीरहेका थियौँ। ‘वाक फर हेल्थको महत्वलाई यस घडी बुझिदिने, हामी तीन प्राणी मात्रै रह्छौं’ भनेर म मन मनै गजक्कै थिएँ। बेला-बेलामा श्रीमान र मेरो आँखा चार हुन्थ्यो। दुवै मुसुक्क हाँस्थ्यौं। अहिले हामी निरन्तर ‘मेहेर सागर’को पाठ गर्दै हिँडीरहेको हुनाले, हामी दुई माझ बातचित बन्द थियो।

हामीले जति छिटो पाइलाहरू चाले पनि त्यो मान्छेलाई भेटाउँन सकिरहेका थिएनौँ। हेर्दा-हेर्दै त्यो मान्छे, हामीदेखि निकै टाडोमा पुग्यो। मैले पनि निकै छिटो-छिटो पाइलाहरू बढाएँ। म छिटो हिँडेको देखेर मेरा श्रीमानले पनि आफ्नो रफ्तार बडाउनु भयो। हामी दुई संग-सगैँ हिँडदै थियौँ। त्यो मत्थु मान्छेले हामीलाई लंकै पछि छाड्यो।

त्यो मत्थु मान्छेले, हामी दुवैलाई यसरी निकै पछाडि छोडेको कुरा मलाई पच्दै, पचेन। मन-मनै मैले संम्झेँ, थुक्क! त्यो नाथे मत्थुलाई, धरि हामीले जित्न सकेनौँ। परै मातेर पनि हामीभन्दा कति छिटो हिँडेको?

 यसरी हिँडदै जाँदा मलाई, खै किन हो कुन्नि? त्यो मत्थु मान्छे कस्तो रहेछ? भनेर त्यसको अनुहार हेर्न मन लाग्यो। तर त्यो संम्भव थिएन।

‘छ्या! कस्तो? त्यो मत्थुको अनुहार पनि हेर्नु पाइन् भनेर सोँचेकोमात्रै के थिएँ र!

 त्यो मान्छे अचानक मेरो सामुमा आएर ठिङ्ग उभियो। मेरो सारा शरिरभरि जररर् काँडा उम्रियो। मैले आफ्नो आँखा चिम्म गरेर श्रीमानको देब्रे हातमा प्याट्टै हिर्काएर फनक्क पछि फर्केर द्रुत् गतिमा हिँडन थालेँ।

 ‘हे प्रभु! आज मैलेँ जे देखेँ त्यो ठीक देखिनँ। अहिलेसम्म जसलाई, मैलेँ मत्थु संम्झेकी थिए, ‘त्यो त अर्कै लोकको पो रहेछ! मैले, झट्ट आँखा नचिम्लेकी भए मेरो त प्राण पखेरू नै उड्ने थिएछ।‘

 मेरो आकास्मिक परिवर्तनको रवैया देखेर, श्रीमान पनि छक्क परेर सोध्नु भयो; के भयो? के भयो??

मेरो हंशले ठाउँ छोडिसकेको थियो। मैले उहाँलाई तत्कालै जवाफ दिन सकिनँ। मेरो बोल्ने सहासै भएन। अहिलेसम्म म मेहेर सागर पाठ गर्दै थिएँ। अचानक मेरो मुँखबाट श्री हनुमान चालिसा पाठको आवृति शुरू भयो। हनुमान चालिसा पाठ गर्नाले भुत-प्रेत भाग्छन् भन्ने कुरा मलाई सानैदेखि नै विस्वास थियो।

 म आधिःअघि मेरा श्रीमान पछि-पछि के भयो? के भयो? भन्दै सोधिरहनु भएको थियो।

मलाई भने अब त्यो प्रेतात्माले मेरो गर्दनको दाहिने पाटा समाएर, ल हेर! मेरो अनुहार! तँलाई, मेरो अनुहार साह्रै नै हेर्न मन लाग्यो होइन? भनेर गर्दन तान्छ होला भन्ने डर लागेर मुटु नै बाहिर निस्केला जस्तो गरेर उफ्रिरहेको थियो। यसैले म भएभरको शक्ति लगाएर, श्रीमानलाई पनि वास्ता नगरी पछि छोडेर, फटाफट आघि-अघि हिँडिरहेकी थिएँ।

     सुकियाको जंगलबीच मलाई कलचुँडाले भ्यारर् उडेर सातो नै लियो।

   यसरी अबुई! भनेर म तर्सिएँ।  मेरो यो ‘अबुई शब्द सुनसानमा निकै जोडले सुनियो।

       म अल-अलिएको देखेर श्रीमानले मलाई च्याप्प समाएर सोध्नु भयो, के भयो? के भएर तिमी यसरी अत्तलिदै, मलाई पनि छाडेर पगली सरह कुदेँकी?

    ‘आफ्नो ज्यानको मोहमा यति साह्रो अन्धा बनेर आफ्नो जीवन साथीलाई पनि छाडेर आफ्नो ज्यान जोगाउँन दगुरेकी थिएछु।

मैले लामो-लामो श्वास लिँदै आफुलाई सामन्य स्थितिमा ल्याउने कोशिश गर्न थालेँ। तर मेरो मुटुको धडकन भने बाहिर सबैले सुन्ने गरि धडकिरहेको थियो। यसरी डराई रहेको मनमा कलचुडाले अर्को डर थपे पछि मेरो यो हालत भयो।

म केही नबोलेको देखेर मेरा श्रीमानले भन्नुभयो, तिमी त, प...र नै एउटा मान्छेले प्यारापेडमा आफ्नो खुट्टाहरू तन्काउदै वयाम गरेको देखेर पो अघाडि जानु नमानेको होला हगी?

श्रीमानको कुरा सुनेर म छक्क परे। मैले यस्तो कुनै मान्छेलाई प्यारापेडमा, आफ्ना खुट्टाहरू तन्काउदै गरेको देखिनँ।

 हामी निकै वर आए पछि माईल स्टोनमा सुकिया एक किलो मिटर लेखेको देखेँ। अचम्म कुरो के भने आज कुनै वाहनहरू गुडेका छैनन्। 

बल्ल-तल्ल हामी घर आइपुग्यौँ। ढुक्क लाग्यो। मैले श्रीमानलाई शुरूदेखि देखेको मान्छेको कुरा गरेँ। श्रीमानले विश्वासै गर्नु भएन।

जुन समयमा मैले त्यो मान्छेलाई देखेकी थिएँ त्यस समयमा, मेरा श्रीमानले पनि त्यो मान्छेलाई देखीरहनु भएको छ भन्ने, मलाई लागेको थियो। तर पछिबाट थाहा लाग्यो कि उहाँले त्यस्तो कुनै मान्छेलाई देख्नुनै भएन रहेछ।

पछि श्रीमानले भन्नु भयो; प्यारापेडमाचाँहि एकजना मान्छेले आफ्नो खुट्टाहरू तन्काएर वयाम गरिरहेको थियो त्योचाँहि मैले देखऱेको थिए।

त्यही कुरोचाँही मैले फेरि पटक्कै देखिँन।

के हामी दुईजनाले एकै समयमा ती भिन्न- भिन्न मान्छेलाई देखाका थियौ त? अविश्वासनिय कुराहरू!

  हामी दुईको कुरा सुनेर ज्वाइँ साहेबले मलाई सोध्नुभयो, मुमा! तपाईंले त्यो मान्छेलाई कहाँ देख्नुभयो, एकज्याक्ट लोकेशन बताउनु होस् त?

 मैले, अँध्यारोमा मलाई लोकेशन थाहाँ भएन! धुप्पी घारी बिचमा कहाँ हो कहाँ? तर निकै वर आएँ पछि सुकिया एक किलो मिटर भनेर माईल स्टोनमा लेखेको देखेँ।

ज्वाइँसाहेबले भन्नु भयो, त्याहाँतिर समाधिहरू छ नि त! ‘शहिदको स्मारक’ पनि छ।

      तर आज मैले जे देखेँ, ‘त्यो साधरण कुरो थिएन, मैले अनुहार हेर्नचाहेको भुतले अचानक मेरो नजिकै आएर आफ्नो अनुहार देखाउँन खोजेको थियो। यदि मैले आँखा नचिम्लेको भए, मेरो के गति हुनेँ थियो होला?

मेरो कुराहरू सुनेर छोरी-ज्वाइँ अनि श्रीमान सबै छक्कै परेँ। श्रीमानले भन्नु भयो; हुन सक्छ! तिम्रो छाया ‘हलुका’ छ त्यो भएर पनि देख्न सक्छौँ। दशैँ-तिहारको छेकमा यस्तो हुन सक्दैन।

     यो मेरो आँखाको धोका थिएन न कुनै मनको भ्रम नै थियो। प्रेतआत्माले नै मलाई तर्साएको थियो। कुनै मुक्ति पाउँन नसकेको आत्माले मसित मुक्तिको सहारा माँगीरहेको थियो। त्यसलाई म कसरी असत्य भनुँ? कसरी म कपोल कल्पित कुरा भनुँ? अब पनि म कसरी भुत हुँदै- हुँदैन भनेर विश्वास गरूँ??

  मेहेर सागर पाठ गरेर हिँडिरहेकी थिएँ। यसैले नै मलाई रक्षा गर्यो। हाम्रो श्री कृष्ण प्रणामी धर्मावल्बीहरूमा मेहेर सागर पाठको ठूलो महत्व छ। मेहेरको अर्थ दया हो। श्री कृष्ण परमात्मा दयाका सागर हुनुहुन्छ। यो मेहेर सागर पाठ गर्दा परमात्माबाट दया, करूणा, आशीर्वादको वर्षा हुन्छ भन्ने अटल विश्वास छ। सायद यसो भएकोले नै भुले-भट्किएका आत्माहरू परमात्माको मेहेर प्राप्त भएर मलाई पनि मुक्ति मिलोस् भन्ने उद्धेश्यले मेरो नजिक आएका पो हुन् कि?

   अकाल मृत्यु भएका आत्माहरूले मुक्ति नपाउँदारहेछन्। यस्ता आत्माहरू आफ्नो तरण-तारणको निम्ति कसैलाई पनि समयानुकुल सहायता माँगीबस्दा रहेछन्। भगवानको नाम सुमिरण ध्यान गर्ने मानिस भेटे उनिहरूको अघि सायद यस्ता आत्माहरू आफ्नो दु:ख पोखाउँन आउँदा हुन्। तर हामीचाँहि भुतले तर्सायो भनी भाग्ने गर्छौं। सायद निडर भएर उनीहरूको गुनासो अनि पुकार सुन्नसकेँ हामी जिउँदो भनाउँदा मानिसहरू ती प्रेतात्माहरूका उद्धारक पनि बनिन सक्छौं कि? यसधडी मलाई यस्तो महसुस भइरहेको छ।

 

000


राजबाडी,

दार्जीलिङ्ग

No comments:

Post a Comment