Friday, June 30, 2023

अभय श्रेष्ठ

 



जन्मः गुन्डु, भक्तपुर

कृतिः 

फूलबिनाको शाखा (२०६० गजल सङ्ग्रह)
कायाकल्प (२०६२, कविता सङ्ग्रह)
तेस्रो किनारा (२०६८, कथा सङ्ग्रह)
लहना र तीर (कविता सङ्ग्रह, प्रकाशोन्मुख)
वाख्यागीत (कथा सङ्ग्रह, प्रकाशोन्मुख) ।

पुरस्कार, सम्मानः 

बालकुमारी रिसाल पत्रकारिता सम्मान (२०७४)
 गरिमा सम्मान (२०७०) 
उत्कृष्ट रचना पुरस्कार (प्रहरी द्वैमासिक, २०६५)
दृष्टि स्तम्भकार सम्मान (२०६५)
प्रज्ञा कथा पुरस्कार– २०६१
आमसञ्चारमा साहित्यिक पत्रकारिता सम्मान (२०६०)
राष्ट्रिय गजल पुरस्कार (२०५७)

सिर्जनाको प्रमुख विधाः कथा, कविता
पेसा : पत्रकारिता 
सम्पर्कः ९८४१५४९२५१
avaya.writes@gmail.com

----------------------------------------------------------------------------

कथा

खबर, कहर र जहर





अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट दस, बाह्र सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो । 

महानुभावहरू, म थिएँ लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले सके दुनियाँकै विरक्त पात्र साबित गरिदिएको थियो । खगेन्द्र थापामगरको नाम संसारकै होचो मान्छेका रूपमा गिनिज बुकमा लेखाउने प्रयास हुँदै थियो । संसारकै सबैभन्दा विरक्त मान्छेका रूपमा मेरो नाम लेखिन सक्छ कि सक्दैन ? प्रश्नको सिरुपाते खुकुरी बारम्बार मनको गमलामा उम्रिरहन्थ्यो ।

समाचारको खडेरी लागेको कति दिन भइसकेको थियो । सम्पादक बारम्बार चेतावनी दिइरहेको हुन्थ्यो, एट लिस्ट डेली एउटा न्युज, विक्ली स्कुप न्युज ।

खासमा मलाई बिट नै यस्तो दिइएको थियो जसमा नियमित समाचार आउन सम्भव थिएन । अलि दुःखी मनको दोधारकै पनि खेल होला, म ढाँट्दिनँ, कैयन् हप्तादेखि म समाचार भन्नलायक समाचार दिन असफल भइरहेको थिएँ ।

‘किरण कपाली, के छ आज तिम्रो न्युज ?’ सम्पादकले सोध्यो ।

‘सर आज एउटा साहित्यिक कार्यक्रमको न्युज मात्र छ । त्यसैलाई इलाबोरेट गरेर लेखूँ कि ?’ भित्रभित्र काम्दै, बाहिर नरम हुँदै मैले भने ।

‘वाइहात ! त्यस्तो न्युज लेखेर के हुन्छ ? कसले पढ्छ ?’

‘सर........!“

‘मिस्टर ! पत्रकार बन्न त्यति सजिलो ठान्या छौ ? घरै बस्ने मन छ कि क्या हो ?’

‘सर....’

‘तिम्रो लेखाइ पनि एकदमै ‘पुअर’ छ, अलि मिहिनेत गर है, नत्र गाह्रो पर्छ’, सहायक सम्पादक सुशान्त शर्माले भन्यो । यो सुशान्त मभन्दा जुनियर भएर पनि हात मलेको भरमा बढुवा भएर मेरो हाकिम भइसकेको थियो । अब म यसलाई के गरौँ ?
‘लिभ, लिभ राइट नाउ । जागिर खानु छ भने भोलिसम्म मलाई एउटा स्कुप न्युज चाहिन्छ । अन्डरस्ट्यान्ड ?’ सम्पादकले भन्यो ।

‘येस सर ।’

‘येस’ त भनिदिएँ । यस्तो प्रश्नको निर्विकल्प जवाफ सायद त्यही हुन्थ्यो । तर, त्यस्तो कुनै समाचार दिमागमा आइरहेको थिएन । म उठेँ । उठ्नैप¥यो युद्धमा उत्रनु छ भने । लगत्तै  मनोरञ्जन संवाददाता कुमारी उपाध्याय भित्र पसी । सम्पादक मुसुक्क हाँस्यो । कुमारी ‘द भर्जिन’ले मुसुक्क विनिमय गरी । देख्छु, सम्पादक निकै उत्साहित छ ‘भर्जिन’प्रति ।

–लुकिङ स्मार्ट । के छ आज ?

–थ्याङ्क यु । झरना थापाको हट इन्टरभ्यू छ सर !

कुमारीले प्रिन्टकपी सम्पादकसामु राखिदिई । सम्पादक मुसुमुसु हाँस्दै पढ्न थाल्यो । अन्तर्वार्तामा एउटा प्रश्न पहिलो सेक्स अनुभवबारे थियो । झरनाले निकै उत्तेजक जवाफ दिएकी थिइन् । सम्पादकले कुमारीतिर मोहित मुस्कान फ्याँक्यो । कुमारी स्मित मुस्कानसहित अगाडि उभिएकी थिई । सम्पादकले ‘एक्सिलेन्ट’ भन्दै कुमारीसित हात मिलायो । दुवै खित्खिताएर हाँस्न थाले । सुनेर दुवैको एकपल्ट हत्यै गरेर हिँडिदिऊँजस्तो रिसको गोली मनको बन्दुकमा भरिएर आयो । 

म त्यहाँबाट निस्किएँ । हराएको सामानजस्तै समाचार खोज्न निस्किएँ भन्नुपर्ला । भोलिसम्म सम्पादकलाई एउटा स्कुप समाचार बुझाउनु छ । चारौँ महिनामा मुस्किलले तलब पाइन्छ तैपनि जागिर हातको माछाजस्तै चिप्लेला भन्ने डर छ । प्रकाशकको दबाबमा सम्पादक रिपोर्टर कटौती गर्न अनेक निहुँ खोजिरहन्छ, हालत यस्तो छ । 

त्यसो त पहिलापहिला मैले ब्रेकिङ न्युज प्रशस्त गरेकै हुँ । तिनको राम्रै चर्चा पनि भएको थियो, मैले भन्नुपर्दा । अरूले नभन्नुमा मेरो दोष छैन । तर, सम्पादकले कहिल्यै मलाई प्रोत्साहन दिएन । उसको ध्यान सदैव पेज थ्री रिपोर्टरहरूले ल्याएको इन्टरटेनमेन्ट न्युज र ग्लेमरस तस्बिरमा मात्र हुन्छ ।

‘सुन त, तिम्रो फुर्सद कहिले छ ? अलि फुर्सद निकालेर सूर्य चुरोटको मालिकसँग अन्तवार्ता गर न ! मैले मान्छे पठाइदिन्छु भनेको छु । सार्वजनिक ठाउँमा धूमपानविरुद्ध सरकारले ल्याउन लागेको ऐनबारे उनी बोल्न चाहन्छन्’, सेभ द चिल्ड्रेनमा काम गर्ने दुइटी केटीलाई सुनाएर लिफ्टमा सुशान्त शर्माले मलाई आदेश दियो । 

एक मन त लाग्यो, सम्पादक, समाचार संयोजक, सहायक सम्पादक र चिफ रिपोर्टर सबैलाई जनही पन्ध्र लात्ती हानेर हिँडूँ । त्यसो गर्न भोलिदेखि बेरोजगार बन्न तयार हुनुपथ्र्यो । त्यस्तो कल्पनाले मात्र पनि मलाई कहाली लागेर आउँथ्यो । 
परिवारमा मुटुरोगी आमा र किशोरी बहिनीबाहेक कोही थिएनन् ।  बीस वर्षअघि एउटा दुर्घटनामा बाको निधन भएको थियो जतिखेर म नाबालक थिएँ । एक दिन मर्नु त छँदै थियो, बाँचेको भए यतिजेन्ल उहाँ सामाजिक यातनाले बारम्बार मर्न बाध्य हुनुहुन्थ्यो । दुःखको कुरो, उहाँसँगै एउटा विद्रोहको पनि मृत्यु भएको थियो । मर्दापर्दा लगाइने सबैखाले जातीय परम्परागत काम विद्रोहस्वरूप बाले त्यागिदिनुभएको थियो । त्यसले गर्दा हाम्रै समुदायमा उहाँ ध्रुवताराजस्तै एक्लो हुनुपरेको थियो । उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो (होइन, जान्नुमात्र हुन्थ्यो । घरभित्र छिरेर गर्नुपर्ने भएकाले एउटा दलितलाई काम दिन कोही तयार हुन्नथ्यो) । थोरै जमिन पनि तल्सिङ र दलाल मिलेर हामीलाई मोहियानी भागसमेत नदिई बेचिदिएका थिए । बालाई यदाकदा पाखापखेरातिर ठूल्ठूला रूख चिरानी गर्ने काम दिइन्थ्यो । उहाँ भयङ्कर फाली भएको जङ्गी आरो तान्नुहुन्थ्यो । एक दिन मचान भत्कियो । काठले थिचिएर कति सजिलै उहाँको इहलीला सकिएको थियो ! 
बाको कुरा एकादेशको कथा भइसक्यो । 

२ 

मेरा कविता र पाठकपत्र छापिदिने सम्पादकले एक दिन सोध्यो, ‘पत्रकार बन्छौ भाइ ?’ त्यो बेला खुसीका ताराहरू कति उडे, बयान शब्दमा कसरी गरूँ ? अर्को आकाश नै चाहिएलाजस्तो भएको थियो ।

दुर्भाग्य ! मैले काम सिक्दासिक्दै एक दिन सम्पादक निकालियो । चन्द्रमा कसैको पनि सधैँ दाहिना रहँदैन भन्छन् । नयाँ सम्पादकसँग किन हो मेरो ग्रह ठ्याक्कै मिल्दैनथ्यो । समाचार र विचारको ठाउँमा ऊ एडभर्टोरियल छापिदिन्थ्यो जुन प्रकाशकलाई ऋण तिरेबराबर हुन्थ्यो । न्याय, मानवीय मूल्य, संवेदनाजस्ता कुरा कसैले गरे घृणाले त्यसैत्यसै उसको मुख बिग्रन थाल्थ्यो । 

हालसालै मेरा दुई ब्रेकिङ न्युज डम्प गरिएका थिए । एउटामा मन्त्रीकै संस्था बालबालिका बेचबिखनमा संलग्न भएको भण्डाफोर गरिएको थियो । अर्कोमा मन्त्री स्वयम् वेश्यालयबाट भाग्दै गरेको तस्बिरसहित समाचार थियो । सोचेको थिएँ, यी समाचारले मेरो क्यारियरलाई सफलताको सगरमाथा पु¥याउनेछन् । भोलिपल्ट अखबार हेर्छु, समाचार कतै छैन । म त हिस्सै । सम्पादकले उल्टै थर्कायो, ‘लेख्नुअघि सल्लाह गर्नुपर्दैन ? रिपोर्टर भएर के छापिन्छ, के छापिन्न, बुझ्नुपर्दैन ?’
कस्तो समाचार लेख्नुपर्ने हो ? अब त म दुविधामा पर्न थालिसकेको थिएँ । जागिर कसरी जोगिएला ? म यस्तै सोचेर हिँडिरहेको थिएँ । न्युरोड गेटमा एउटी नवयुवतीसँग ड्याम्म ठोक्किएँ । मैले सरी भनेँ । त्यसले मलाई आँखा तर्दै ‘इडियट’ भनिदिई । (सम्पादकको आदेशभन्दा बरु अपरिचित केटीकै गाली ठिक छ !) 
ओभरब्रिजनिर सडकमा थुप्रै किताब बिक्रीमा राखिएका थिए । महँगो भए पनि त्यहाँ मैले निकोलाई गोगोलको कथा सङ्ग्रह ‘ओभरकोट’ किनेँ । झुम्पा लाहिरीले ‘नेमसेक’ मा गरेको चर्चाले लामो समयदेखि म यसको खोजीमा थिएँ ।

सडकमा कपडा, जुत्ता र सबै सामग्री फिँजाइएका थिए । सोचेँ, सडकमै सबै सामग्री पाइन्छन् भन्नेबारे एउटा समाचार बनाऊँँ । त्यसका लागि धेरै दुःख पनि गर्नुपर्दैनथ्यो । त्यसलाई कथा बनाएर रोचक शैलीमा लेखे पुग्थ्यो । त्यसमा म सफलै हुन्थेँ । सोचेँ, डाँका सम्पादकले यस्तो समाचार मेरै अगाडि च्यातेर डस्टबिनमा मिल्काइदिनेछ । यस्तो भयो भने त मर्नु भएन ?

समयचक्र खबरपत्रिकाकी रमिला शाह भेटिई । कुनै दिन यसलाई मैले पूरै दुई महिनाको तलब सापटी दिएको थिएँ । 

किन ढाँट्नु ! त्यसमा अलिकति मेरै स्वार्थ थियो । म त्यसका आँखामा मेरी प्रेमिका बन्ने कम्तीमा ९० प्रतिशत सम्भावना देख्थँे । (अँ, यस्तो समाजमा दलित भएर कुलीन अतीत भएकी सुजाता युवतीसँग सपना देख्ने दुस्साहस मैले कसरी गर्न सकेँ ? प्रस्ट थियो, उसैले बारम्बार प्रेममय एसएमस पठाएर मलाई यो ढोका खोलिदिएकी थिई ।) सम्भावना त ‘खोलापारि मै माया लाउँदिनँ’ भनेर बिदा भयो, चाँडै नै त्यसले एउटा सुधो केटो फसाई भन्ने घुइरोघुइरो सुनियो । बरु आफ्नै दानीपनाले जिन्दगीमा कत्रो हाहाकार मच्चियो, बयान के गरूँ ! 

केही दिनमै तिरिदिने वाचा गरेकी थिई । पैसा हात परेपछि पूरै दुई वर्ष बेपत्ता भई । पछाडिबाट मेरो पाखुरा समाएर त्यसले सोधी, ‘सञ्चै हुनुहुन्छ ?’ सापटी लिएको त तिर्दिन पक्का छ, क्या मीठो बोल्छे भने..., म आफैँलाई भन्न थालेँ, साढे सातको दशा बेलैमा पन्छाइहाल् बाबु ! खल्तीमा तीन सय रुपियाँ बाँकी छ, बैङ्कमा मुस्किलले दुई हजार ब्यालेन्स छ, तलब चार महिनामा एकपल्ट पाइन्छ, अर्को ऋण नपाउन्जेल त्यसैबाट बाँच्नु छ । कसैले केही मागे हार्न नसक्ने बानीले डुबाइरहेको छ । म दिक्दार थिएँ । उसले चिया खाने अफर गरी । वाचा गरेर ऋण नतिरेकोमा जसको कठालो समाउने नैतिक हक मलाई छ, त्यसैसँग म थर्थरी कामिरहेको थिएँ । ऊ भने निर्धक्क छे । कतै मै त यसको ऋणी होइन ? होइन, ऋणी त ऊ नै हो ! काम्ने क्रम अझै जारी छ । थुइक्क, कस्तो जुनी पाइएछ ! 

जरुरी काम छ भनेर म उम्किएँ । उम्किन सकेकामा आफैँलाई बधाई दिएँ । 

रत्नपार्कको एउटा बेन्चमा बसेर सुस्ताउन थालेँ ! नजिकै एक जोडी प्रेम प्रदर्शनमा मस्त थिए । केही मानिस राजनीतिक गफ गरिरहेका थिए । एउटी केटी आई । खास राम्री होइन तर आकर्षक । त्यसले भनी, ‘जाने हो दाइ ?’ 

म अलमल्ल परेँ । केटी मुसुक्क हाँसी । कुरा बुझियो । त्यसो भए यसले किन मलाई ‘दाइ’ भनेकी ? 

‘कन्सेसन पनि दिन सकिन्छ, विद्यार्थी हो भने’, साउतीको स्वरमा नसालु ठट्टा गर्दै भनी, ‘अचेलको चलन !’

‘म विद्यार्थी थिएँ ।’

‘थिएँ ? त्यसो भए छु भन्ठान्नोस् । सदर गरिदिउँला नि हुन्न ?’

एक्कासि मलाई ठूलै कुरा फेला परेझैँ लाग्यो । कृपया मलाई गलत नठान्नुहोला । अखबारका लागि यसैसँग नगरबधू–संवाद गर्ने लोभले मनमा पखेटा फडफडाएको थियो । सम्पादकलाई मनपर्ने कुरा यस्तै थियो त म के गरूँ ? म केटीको पछि लागेँ । 
मैले ऊसँग अखबारका लागि अन्तर्वार्ता मात्र गरेको थिएँ । फर्कँदा फी दिन चाहेको थिएँ । उसले मानिन । जिन्दगीमा खल्ती रित्तिनुजस्तो ठूलो दशा अरू केही हुँदैन । धन्यवाद ! उसले मलाई त्यस दशाबाट जोगाइदिएकी थिई । कुनै विद्वान्ले भनेको सम्झिएँ, ‘मखुण्डो धारण नगर्ने किसान र नगरबधू मात्र हुन् ।’ खबरदार नैतिकताका ठेकेदारहरू ! देशमा इमान पूरै बाँझो पल्टिसकेको छैन । त्यो कम्तीमा मखुण्डो धारण नगरेकी एउटी नगरबधूसँग चाहिँ छ है !


डेरा आइपुग्नै लाग्दा अँध्यारोमा एउटा दृश्यले म अचम्भित भएँ । एउटी स्कुले किशोरीलाई कारले ठकर दिएको थियो । किशोरी लडी तर ढलपलाउँदै उठी । मैले कारको नम्बर टिपेँ, फ्लास प्रयोग गरेर ठक्कर दिँदै गरेको कार र किशोरीको तस्बिर खिचेँ । सहारा खोज्दै किशोरी मतिर आउँदै थिई । कारले फेरि जोडले ठक्कर दियो र टाप कस्यो । विचरी रगतपच्छे भएर सडकमा छटपटाउन थाली । त्यसलाई अस्पताल पु¥याउनेतर्फ मेरो ध्यानै गएन । घटनाको सुरुवातदेखि पछिसम्म मैले दस, बाह्र सट तस्बिर लिएँ । रगतपच्छे केटी छट्पटाइरहेकी थिई  । मान्छे जम्मा भए । प्रहरी आयो । म भने अफिसतिर दौडिएँ । मसँग अब एउटा स्कुप न्युज थियो ।
तस्बिरसहितको विवरण सुनेपछि सम्पादकले भन्यो, ‘गुड न्युज । राइट अ प्लेफुल स्टोरी । फस्ट पेज बक्स एङ्कर ।’ 

समाचार लेख्न म कम्प्युटरअगाडि बसेँ । मैले केटीको हुलिया लिएको थिइनँ । प्रहरी कार्यालयमा सोध्न फोन डायल गरेँ । एक्कासि प्रहरी कार्यालयबाटै मोबाइलमा फोन आयो । फोन अपराध अनुसन्धान शाखाको डीएसपी मेघराज सिलवालको थियो । खबर पाएर म स्तब्ध भएँ । आफैँले खिचेको तस्बिर गहिरेर हेरेपछि एक्कासि म मूर्तिवत् भएँ । मेरो चेत टक्क कतै अडिएको थियो । डेस्क सम्पादक आफ्नो कक्षबाट समाचार छिटो लेखिसक्न दबाब दिइरहेको थियो ।

बेलैमा अस्पताल पु¥याइएको भए घाइते किशोरी बाँच्न पनि सक्थी । अत्यधिक रक्तस्रावले अस्पताल पुग्नेबित्तिकै उसको मृत्यु भएको थियो । कथाको सुरुवातमा एउटा फोटो पत्रकारको प्रसङ्ग उठेको थियो । महासय, त्यो संवेदनाविहीन पात्र (होइन यन्त्र) मै थिएँ । विपत्तिका बेला आफन्तलाई देखेर किशोरी सायद मतिर आएकी थिई । म कसरी यस्तो भएँ ? एक, त्यो बेला अलिअलि अँध्यारो थियो । दुई जागिर बचाउने धुनमा म पूरै अन्धो भएको थिएँ । तीन, आफैँले खिचेको तस्बिर मैले राम्ररी हेरेको थिइनँ । 

म आफैँलाई माफ गर्न सक्नेस्थितिमा छैन ।

यस खबरलाई अब म कहर मानूँ कि जहर ठानूँ ?

यी शब्द आँसुले लेख्दै गर्दा मुटुमा गाँठो परेको कुरा अब तपाईँलाई कहन्छु, मारिएकी किशोरी ट्युसनबाट डेरा फर्कँदै गरेकी ....... मेरी बहिनी थिई ।  







आत्मस्वीकृति

प्रिय लागेका सबै कुरा श्रेष्ठ नहुन पनि सक्छन् । तर, मेरो यो कथा समीक्षक र पाठक दुवैले श्रेष्ठ मानेको कथा हो । कतिपय पाठक र पत्रकारले यस कथाको पात्रसँग समानुभूति भएको सुनाउँदा दोहोरिरहने एउटा विगतका तरङ्गहरू मनभित्र ओहोरदोहोर गर्छन् । मेरा लागि भने यो श्रेष्ठभन्दा बढी प्रिय कथा हो । किनभने यसमा कुनै समय अखबारमा रिपोर्टर रहँदाको मेरो आफ्नै भोगाइका प्रस्ट छापहरू मात्र छैनन्, पुँजीवादी युगमा जीवनको विडम्बना र चरम त्रासदीका झलकहरू पनि छन् । खुला बजारको प्रतिस्पर्धी युगमा श्री नढलेका अधिकांश पत्रकारका लागि दुर्भाग्य यस्तो ढुङ्गा हो जसलाई तपाईँ सक्दो टाढा हुत्याउन खोज्नुहुन्छ तर त्यो हावाको विपरीत दिशातिर फ्याकिएको कागजजस्तै फर्केर तपाईँकै छातीमा बज्रन आइपुग्छ । 
नेपालमा मासमिडिया क्रान्तिसँगै पत्रकारितामा चलाख, मिडियोकर, चापलुस र श्रीहीन एक वर्गको उदय भयो जो कुनै तस्कर, अपराधी, मन्त्री, सचिव वा प्रतिष्ठानका अब्बल गुलाम थिए । सत्ता र आफ्नो संस्थाबीच दलाली गर्ने पत्रकारको यो नयाँ वर्ग मानवीय मूल्य र बृहत् सामाजिक दायित्यप्रति पूरै निस्पृह थियो । यही वर्ग प्रेसको आन्तरिक अतिरिक्त नीति निर्माण र व्यवस्थापनमा हाबी थियो । यता सूचनाको हकको नारा कतिपय प्रेस मालिकका लागि कालो धन चोख्याउने सुनपानी मात्र थियो । आज पनि हाम्रो राष्ट्रिय प्रेसमा यो महामारी कायमै छ । त्यस्तो बेला कुलीन समाजमा एउटा दलितजस्तै म पत्रकारितामा प्रवेश गरेको थिएँ । एउटा दैनिकको विडम्बनाबाट उम्कन अर्को नयाँ दैनिकमा प्रवेश गर्दा म तावाबाट उम्केर भुङ्ग्रामा परेको माछा थिएँ । सबैतिरबाट धसिएको एउटा रिपोर्टरका लागि हिउँदे वर्षाजस्तो स्कुप समाचार पाउने धुनले अन्धो बनाउँथ्यो । यही अन्धोपनमा मुटुको एक टुक्रा चोइटिएर गएको अनुभूतिमा मैले यो कथा लेखेँ । कुनै दिन यस कथाको अङ्ग्रेजी अनुवादका लागि आग्रह गर्दा कवि विनोदविक्रम केसीले भनेका थिए, अनुवाद गर्दा यस कथाको मौलिक भाषा जोगाउन सकिन्नँ । त्यस बेला अनुवाद नुहुनुको दुःखभन्दा मभित्र उनको टिप्पणीले आनन्दको लहर फैलिएको थियो । तर, नेपाल प्रज्ञा प्रतिष्ठानले हिन्दीमा अनुवाद गरी यसलाई ‘लोकप्रिय नेपाली कहानियाँ’ मा समेटेको छ ।


1 comment:

  1. धन्यवाद मातृका सर । याे नेपाली कथाकाे संग्रहालय बनाेस् । शुभकामना ।

    ReplyDelete