![]() |
जय कार्की |
कथा
रोल नम्बर ३९
दशकौं दशक अघिको तराईको दुर्गम गाउँको नाम हो विजयपुर । यो गाउँका बासिन्दाहरु दोलखा, रामेछाप र सिन्धुली जिल्लाको विकट बस्तिहरुबाट आएका हुन् । यो गाउँ मधेशको गाउँ भन्नुमात्रको थियो । बिकासको “ब” पनि यो गाउँपन्चायतमा पुगेको थिएन । सबैभन्दा दुर्गम थियो, गाउँपन्चायतमा बत्ति थिएन, सडक थिएन घरमा राती लाल्टिन वा धिपधिपे बत्ति बल्थ्यो । चुरे श्रृंखलाको नदिको पानी नघटेसम्म खोलै खोला सिन्धुली जाने ट्रकहरु पनि बर्षा शुरु भए लगतै मंसिर महिनासम्म बन्द हुन्थे । ट्रकहरु चल्न थालेको हेर्न खोला वारीपारीका बासिन्दाहरु अति व्यग्र अवस्थामा हुन्थे । लौ अब ट्रक चढ्न पाइने भैयो भनि खुशी हुन्थे ।
राजमार्गसम्म पुग्न विभिन्न खोला र झर्नाहरुको जंघार तर्दै हिंसक बाघ भालुबाट जोगिंदै अटाब्बे जंगल छिचोल्दै १५ किलो मिटर पैदल हिंडेपछि महेन्द्र राजमार्गमा बल्ल पुगिन्थ्यो । त्यसपछि बस चढेर झण्डै दुई अढाइ घन्टापछि जनकपुर शहर पुगिन्थ्यो । यो शहरको वातावरण र दुर्गम गाउँको छेउटुप्पो कतै मिल्दैन थियो । शहरमा बोल्ने भाषा र गाउँको भाषा एकदम अलग थियो । गाउँको मातृभाषा नेपाली थियो । शहरको भने भाषा मैथिली थियो ।
यसै दुर्गम गाउँको सुमन छिमेकी जिल्लाबाट एस.एल.सी. पास गरेर उच्च शिक्षा हाँसिल गर्न शहर त प्रवेश गरेको थियो । उसको गाउँ टोल छर छिमेकमा एस.एल.सी. पास गरेका कोही थिएनन् । सुमन नै पहिलो ब्यक्ति थियो । उस्ले नयाँ रेकर्ड नै कायम गरेको थियो । सारा गाउँ बस्ति नै खुशीले झुमेको थियो उसले एस.एल.सी उतिर्ण गरेकोमा ।
तर यो भाषा नबुझ्ने शहरले पहिलो गाँसमै ढुंगा लागेको थियो उसलाई । शहरको भव्य कलेजमा बिज्ञान पढ्ने रहर बोकेर गएको सुमनलाई कलेजले पनि निरास पार्यो । फस्ट भएर मात्र हुँदैन टप टेन भित्रकोलाई मात्र साइन्समा भर्ना लिने कुरो थाहा पाएपछि उ निक्कै दिक्क भएको थियो । यहाँबाट टाढा गएर अध्ययन गर्ने उसको परिवारको आर्थिक हैशियत पनि थिएन ।
उस्ले बाणिज्य शाश्त्रमा मात्र भर्ना हुन पाउने पक्का भयो । त्यो बेला एउटा टुक्का निक्कै चर्चित थियो “छोरा बिग्रन्छ कमर्स पढेर, छोरी बिग्रन्छे नर्स पढेर” मानविकी शास्त्रमा कोशिस नगरेको होइन उसले । तर, सजिलोे विषय भएकोले भर्ना पूरा भैसकेको थियो । सिट खाली थिएन । “बाणिज्य विभागमा मात्र भर्ना लिनसकिन्छ” भने मैथिली भाषाका लेक्चररले उस्लाई । यो बाणिज्य शास्त्रकोे बारेमा सुमनलाई केही पनि ज्ञान थिएन ।
तैपनि उच्च शिक्षा हाँसिल गर्न पाएकोमा केटो फुरुङ्ग थियो । साथै उस्लाई टिचरले सिट खाली भयो भने चेन्ज गर्न सकिन्छ या त डिप्लोमाबाट चेन्ज गर्न आरामले पाइन्छ भनेर आश्वासन दिएका थिए । तर सुमनलाई पछि थाहा भयो प्रमाणपत्रमा कमर्स पढेर डिप्लोमामा मानविकी शास्त्र पढ्न उचित छैन ।
पहिलो दिन कलेज उ साथीहरुसित रमाउँदै आश्चर्यजनकको खुशी समेट्तै क्याम्पस गएको थियो । क्याम्पस मुख्य शहरबाट अलि बाहिर थियो विशाल कम्पाउण्ड भएको विषयगत फ्याकल्टी अलग अलग, पुस्तकालय अलग, रिडिङ रुम अलग, न्युजपेपर तथा चिठीपत्र आएको जानाकारी दिने र पत्र मन्जुषा सहित सबैको राम्रो व्यवस्था थियो । सुमनले यहीं पहिलो पटक चर्चित हिन्दी पत्रिका दिनमान र धर्मयुग देखेको थियो ।
पहिलो दिन क्लास लेक्चररले क्याम्पसको अनुशासनबारे केही कडा निर्देशन सुनाए । अनि हाजिर गर्न शुरु गरेका थिए । रोल नम्बर एक देखी ३८ सम्म उठेर हाजिर भएको जनाए र ती सबै पुरुष नै पुरुष विद्यार्थी थिए । तर जब टिचरले “रोल नम्बर ३९” भने खिरिलो नारी स्वरले “यस सर” भनिन् । त्यसपछि त के चहियो र ? झण्डै झण्डै त्यो क्लास नै गलल्ल हाँस्यो । उनीहरुमध्ये कोही व्यापारी घरानाका वा साहुका छोराहरु थिए, कोही माडवारीका र कोही सरकारी कर्मचारीका र कोही जमिन्दारका छोराहरु थिए ।
सुमन एकदम असमन्जसमा पर्यो र सोच्न थाल्यो “ए किन यसरी खिसि गरेर हाँसेका होलान्” भन्ने लाग्यो । किन महिला विद्यार्थीमाथि यत्रो खिसि टिउरी ? हाँसोको पर्रा रोकिएपछि लेक्चररले अनि “रोल नम्बर ४०” भने सुमनले हाजिर सर भनेको सुनेपछि पनि पाखे “यस सर” पनि भन्न नजान्ने भने जसरी खिसि गर्ने जमर्को गरे ।
उनीहरु यतिसम्मका निकम्मा निस्केकी रोल नम्बर ३९ वा अंक ३९ भन्ने वा पढ्ने बित्तिक्कै पनि हाँस्न थाले चर्चित हास्य अभिनेता चार्ली चाप्लिनको अभिनय हेरे जसरी । ३९ को जोक बनाउन थाले र ३९ सबैभन्दा फाल्तु बस्तु हो भन्ने भाष्य सिर्जना गरे । जस्ले जे भनेपनि हुन्छ वा भनाई खानलाई पढ्न आएकी हो भन्ने ढंगले प्रमाणित गर्न थाले । उनीहरुले गरेको ती निकृष्ट ब्यवहारले रोल नम्बर ३९ लाई कति हीनता बोध भयो होला भन्ने बोध प्रमाणपत्र उतिर्ण हौउन्जेल पनि उनिहरुको चेतमा परेकोे थिएन ।
ती रोल नम्बर ३९ को नाम गितान्जली शर्मा थियो उनको पढाई पनि राम्रो थियो । सुमनको रोल नम्बर ४० भएकोले बेला मौकामा ऊसित पढाई सम्बन्धी कुरा गर्थिन । तेश्रो सेमेस्टरको रिजल्ट प्रकाशित भएसंगै उनले “सुमनजी तपाईको रिजल्ट कस्तो भयो” भनि निक्कै उत्साहकासाथ ती उल्याउने हुल्लडबाजहरुकै माझमा सोधेकी थिइन् । तर सुमनलाई जवाफ दिन गारो भैरहेको थियो । किनकी सुमन एकाउन्ट विषयमा फेल भएको थियो । उनले बताउँदैन भन्ने बुझेपछि सुमनको हातबाट मार्कशीट थुत्त पार्दै अरुलाई सुनाउँदै भनेकी थिइन– “चार चार विषयमा यस्तो राम्रो नम्बर ल्याउनुभएको छ, एक विषय लागेर के भयो ? दुई महिनाभित्र फेल भएको विषयको फेरी परीक्षा दिन पाइन्छ । तपाईले अब यो विषयमा बेस्ट नम्बर ल्याउनुहुनेछ । यहाँ कस्ता कस्ता मै हुँ भन्नेहरुको चार पाँच विषय लागेको छ । मेरो आफ्नै त तीन विषय लागेको छ” भन्दै अरुमाथि मेरो नम्बर देखाउँदै रोब जमाईन गितान्जली शर्माले ।
हो नभन्दै दुई महिनापछिको एकाउन्टको परीक्षामा सुमनले ७७ नम्बर ल्याएको थियो । फेरी पनि उन्ले पहिले जसरी नै सुमन रिजल्ट कस्तो भयो ? पक्का राम्रो त भयो नै नम्बर कति आयो ? भनिन् । सुमनले प्रतिउत्तरमा “म एकाउन्टमा कम्जोर छु तर म पास भएँ” भनि हल्का उत्तर दियो सुमनले । तर मार्कशीट हेर्न उनले जिद्दी गरिन् । सुमनले अन्ततः मार्कशीट उनलाई सुम्पिदियो । “वाह, ७७ नम्बर के लाज मानेको सुमनजी ? यति नम्बर त हाम्रो क्लासको मै हुँ भन्नेहरुमध्ये कसैले नि ल्याएका छैनन् । बधाई छ आफ्नो त जष्ट पास अर्थात ४० भनिन् ।”
सुमनको हात तानेर जोड्दारले हात मिलाउँदै बधाई दिएर उन्लाई रोल नम्बर ३९ भनि गिज्याउनेहरुलाई मीठो जवाफ दिइन भने “हाजिर सर” भन्ने गाउँले सुमनको सम्मान गर्न पनि छुटाइनन् । त्यस दिन देखी उनीहरुले रोल नम्बर ३९ भन्दा गलल्ल हाँस्न छाडेका थिए । यसो टाउको झुकाउँथे । उनीहरुले थोरै भनेपनि आफुलाई सच्याएका थिए । सुमनले मन मनै भन्यो “फटाहहरुलाई यसरी पनि तह लाइँदो रहेछ, सलाम गितान्जली ।”
यसपछि मैथिली भाषा बोल्ने साथीहरुले हिरण्यलाल श्रेष्ठद्धारा लिखित किताब “नेपाल परिचय” विषयमा हामी कम्जोर छौं । हामी त्यो विषयमा फेरी फेल भएका छौं सुमनजी । हामीलाई सिकाई दिनु होला भनि साथीहरुले अनुरोध गरेका थिए । र, दुबैको मित्रता मजबुतिकासाथ गाँसिएको थियो । त्यसपछि चौथो सेमेष्टरमा कतिपय ति साथीहरु नेपाल परिचय विषयमा उतिर्ण पनि भएका थिए ।
सुमन र गितान्जलीको बेलामौकामा शनिवार विद्यार्थी शो को सिनेमा हलमा भेट हुन्थ्यो । जतिखेर उनी थुप्रै साथीहरुकोसाथमा हुन्थिन् “हाई सुमन” भनि हात हल्लाउन कहिल्यै बिर्सन्न थिइन । या त बेलुका जानकी मन्दिर, जनक चोक र भानु चोकतिर चिटिक्क जिउडाल मिलेकी, टोलका साथीहरुसित गफिदै र साथीहरुको अगुवाई गर्दै निधक्र्कसित हिंडिरहेको अवस्थामा कहिलेकहीं भेटिन्थिन् । तर, देखेपछि उनको अगाडि परेपनि उनको समुहको पछाडीपट्टि देखे पनि “सुमन” भनि हात हल्लाई स्वागत गर्न भुल्दैन थिइन् । सुमनको साथीहरुलाई पनि उत्तिक्कै आदर सत्कार गर्न छुटाउदैन थिइन् ।
सुमनले नेपाली भाषामा हाजिर सर भन्न कहिल्यै छाडेन । यस सर भन्ने अरुको नक्कल गरेन र उसका सहपाठी साथीहरु सबैले समयक्रमसंगै पचाए त्यसलाई अन्यथा ठानेन् केही मैथिली भाषी साथीहरुले उसंग मित्रता गर्दैं गरेनन् । उनीहरु निक्कै जान्नेसुन्ने र खानदानी परिवारको भएको स्वाङ गर्थे ।
बिस्तारै बिस्तारै क्याम्पसको कक्षा यति अनियमित हुँदै गयो कि प्रतिबन्धित राजनीतिले पूरै गाँज्यो । आइ.कम उतिर्ण गर्नलाई चार वर्ष लाग्यो । संधै हड्ताल, संधै जुलुश बेलामौकामा पहाडे र मधिशे वीचको साम्प्रादायिक झगडाले भागाभाग भयो ।
त्यही बेला आसाममा नेपाली भाषा बोल्ने भारतीय नेपालीलाई खेद्ने, यातना दिने, लुट्नेहरु र हत्या गर्नेका विरुद्धमा पनि ठूलो आन्दोलन चर्कियो । भारत समर्थक सुराकीहरुले आसामका नेपालीहरुको पक्षमा जुलुश निकालेको विरोधमा राम मन्दिरको मूल ढोकाको दुबै साइडमा मिठाई, पुरी तरकारी बनाई गुजारा चलाईरहेका र हलुवाई पसलेहरुले जेरी पकाउन भक्भकी उमालिरहेको तातो तेल आन्दोलनकारीमाथि खन्याउने जघन्य अपराध गरेका थिए । त्यो अति विभत्स दृश्य थियो । तर जुलुश भव्यरुपमा सम्पन्न भएको थियो । त्यो दमन र दंगाकारीहरुको गालामा कडा झापड थियो । आसामका नेपालीप्रति ऐक्यबद्धता जाहेर गरिछाडिएको थियो ।
त्यो दंगाको कारण गाउँ फर्केर बस्नुपर्ने अवस्था समेत आयो । शहरभित्र डेरा गरेर बसेका पहाडे द्यिार्थीलाई खोजी खोजी कुट्ने अभियान नै चलाए ।
त्यो बेला विद्यार्थी संगठनको अरु अनेकौं समूह थिएनन् सत्ताधारी राजतन्त्रको पंचायति व्यवस्थाको विद्यार्थी मण्डल जस्लाई मण्डले भनि गाली गर्थे, नेविसंघ, अखिल र रुस समर्थक फेडरेशन थिए । यही परिस्थितिमा सुमनले सुरक्षाको लागि उसको हैशियत र चेतना अनुसार अखिलमा सामेल भयो । र, अनेकौं उतार चढाउको वावजुद पनि जीवनको अन्तसम्म यसैसित सम्बन्धित राजनीतिक पार्टीमाा सेवारत रह्यो
जसरी पनि पिएचडीसम्म पूरा गर्ने महत्वकांक्षी लक्ष्य बोकेको सुमनले आखिरीमा घरायशी समश्याका अगाडी घुँडा टेक्तै गएको थियो ।
उच्च तहसम्म अध्ययन गर्ने मनोकाँक्षालाई तिलान्जलि दिन बाध्ये भएको थियो । उसका योजना र सपना भत्किंदै गएका थिए ।
अन्ततः सुमन घरायशी समश्याका कारण ब्याचलरको पढाईलाई अघि बढाउन नसकेर घर फर्केर गाउँको सरकारी स्कुलको शिक्षक हुन बाध्ये भएको थियो भने गितान्जली शर्माले एडमिसन त जनकपुरमा नै गरेकी थिइन । तर, केही महिना पछि नै जनकपुरमा नपढ्ने निधो गरी नेपालको टप शंकरदेव कमर्स क्याम्पसमा अध्ययन गर्नको लागि काठमाण्डौ लागेको खबर धेरैपछि सहपाठी साथी जीवनराम दनुवारले सुमनलाई सुनाएको थियो ।
000
रचनाकाल : २०८० साल भदौ

Dherai dherai Dhanyabad chha. Kathagharblogspot.com lai.
ReplyDelete