Friday, June 30, 2023

मिलन संग्रौला “अकृत”

 

कथा


नियती





मालिकको दासतामा सधैँ पिल्सिएर काम गर्दै आएका गोठालाहरुको एउटा गोप्य भेला सम्पन्न भयो । कति अर्काको दासतामा काम गर्ने ? न श्रमको उचित मुल्याकंन न स्वन्त्रताको अस्तित्व । अब स्वतन्त्र हुनै पर्ने तीब्र इच्छा सबैले व्यक्त गरे त्यो भेलामा । स्वतन्त्र हुने तर कसरी ? त्यसको कार्यनीति तयार गर्न त्यो भेलाले एउटा नेतृत्व चयन गर्ने अठोट गर्यो । गोठालाहरु मध्ये अलिक टाठोबाठो र सबैभन्दा खान्दानी मालिकको गोठ हेर्ने गोपीकृष्ण सर्वसम्मतीले नेतृत्वमा चुनियो ।

नभन्दै केही दिनपछि गोपीकृष्णले आफूले बनाएको कार्यनीति भेलामा प्रस्तुत गर्यो । अबको कार्यनीतिमा सबै गोठालाहरुले अनिवार्य विद्रोहमा उत्रिने घोषणा थियो । त्यसअनुरुप प्रत्येक गोठालाले मालिकको गोठबाट कम्तीमा दुई पशु लिएर भाग्नुपर्ने थियो । त्यसपछिको व्यवस्थाको जिम्मा गोपीकृष्ण स्वयमंले लिने घोषणा पनि गर्यो ।

निर्धारित समय र स्थानमा सबै गोठालाहरु आआफ्ना मालिकका घरबाट आफूले सक्दो पशु लिएर आए । अब सबको नजर गोपीकृष्णमा अडेको थियो । गोपीकृष्ण ठाँटिलो रवाफमा आएर अबको योजना सुनाउन थाल्यो । अब यी पशुहरु मिलाएर सबैले सामुहिक गोठ बनाउनु पर्छ । र सबैले सक्दो मेहनत गरेर गोठलाई बृहत्त बनाउनु पर्छ । यस्तो उर्जाशील योजना सुनेर भर्खरै स्वतन्त्र भएका गोठालाहरुले जोडदार ताली दिए ।

नभन्दै सबै गोठालाहरुको मेहनतले गोठ सप्रदै गयो । गाईवस्तु चिल्लिदैं गए । संख्या बढ्दै गयो । पशुबजारमा त्यही गोठका पशुहरु सबैको पहिलो रोजाईमा पर्न थाले । गोठको आम्दानी बढ्दै गयो । सामुहिक गोठको सम्पूर्ण आयव्ययको हिसाब स्वत ः गोपीकृष्णलाई नै जिम्मा दिइएको थियो । मालिककोमा भन्दा बढी खटेर काम गर्नु परे पनि आफ्नोपनको भावले त्यसको उनीहरुलाई कुनै मतलब थिएन । तर गोठ जति धनी बन्दै गए पनि साधारण खान लाउन बाहेकको हिसाब कुनै गोठालाले खोज्ने आवश्यक्ता देखेन । समूहको गोठ पछि सबैका लागि हुन्छ भन्ने भावनाले उनीहरु झन् उर्जाशील भएर काम गर्न थाले ।

एकदिनको साँझ सबै गोठालाहरु आआफ्नो काममा व्यस्त थिए । एक्कासी गोठको चारैतिर पुलिसले घेरा हालेछ । सरकारी जग्गामा गैरकानुनी रुपमा बसोबास गरेको कारण तुरुन्त जग्गा छोड्न माइकिङ् सुरु भयो । सोझा गोठालाहरु अत्तालिए । उनीहरु गोपीकृष्णलाई गुहार्न उसको कार्यलयतिर हानिए । तर गोपीकृष्ण त्यहाँ थिएन ।

पुलिसले गोठ भत्काउन थाल्यो । पशुहरुलाई नियन्त्रणमा लियो । गोठालाहरुलाई लाठी बर्षाउन थाल्यो । गोठालाहरु अक्कबक्क पर्दै ज्यान जोगाउन लालाबाला चेपेर भाग्न थाले ।

भाग्दाभाग्दै केही गोठालाहरुले देखे ः गोपीकृष्ण त आफ्नो भूतपूर्व मालिक र प्रहरी हाकिमका बीचमा बसेर मस्किदै गफ पो हानिरहेको थियो ।

000

No comments:

Post a Comment