Monday, July 3, 2023

रमेश विकल


वास्तविक नाम - रामेश्वर चालिसे
जन्मः वि.सं १९८५, भाइटीका
जन्मस्थान : गोकर्ण आरुबारी, काठमाडौं
शिक्षा - बी. एड.
भ्रमण - नेपाल, भारत, जापान, बेलायत, अमेरिका
विधाः कथा/उपन्यास /नाटक,अन्य
संलग्नता - प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष 
पहिलो रचना - वि.सं. २००६ मा शारदामा गरीब शीर्षकको कथा प्रकाशित

मौलिक कृतिः -
१) नयाँ सडकको गीत -
२) विरानो देशमा -
३) एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा
४) आज फेरि तन्ना फेरिन्छ -
५) शव सालिक र सहस्र बुद्ध -
६) उर्मिला भाउजू कथा संग्रह
७) सुनौली -
८) अविरल बग्दछ इन्द्रावती, उपन्यास -
९) सात सूर्य एक फन्को
१०) निलगिरीको छांयामा यात्रा साहित्य 
११) सप्तरंग 
१२) भक्तिथापा 
१३) मिल्किएको माणि नाटक
१४) अगेनाको डिलमा 
१५) विक्रम र नौलो ग्रह 
१६) सातथुंगा बाल साहित्य
आदि । 
सम्पादित, अनूदित र फुटकर कृतिः -
विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, यात्रा निबन्ध, लेख आदि प्रकाशित। 

पुरस्कार, मान-सम्मान, पदक
नयाँ सडकको गीतका लागि वि.सं. २०१८ को मदन पुरस्कार प्राप्त नयाँ सडकको गीतका लागि ।
 
निधन : 
वि.सं. २०६५ पुस ०२



कथा

फुटपाथ मिनिस्टर्स


एघार–बाह्र वर्षको गोरेले यो फराकिलो संसारको विचित्र कोलाहलको माझमा  एक दिन आफूलाई बिल्कुलै असहाय र एक्लो उभिएको पाएथ्यो । उनकी आमा त धेरैअघि, कहिले हो मरिसकेकी थिइन्, एक दिन बाबु पनि अचानक मरिदिएछन् । अनि त जालझ्ेल र प्रपञ्चद्वारा लखेटिएको गोरे गाउँ छाडेर सहर पस्यो । एक दिन रनभुल्लमा परेर रानीपोखरीको डिलको फुटपाथमा उभिन पुगेथ्यो ।

उसको आङमा एउटा अर्धानु कमिज र अर्धानु कट्टुसिवाय अरू एकधरो लुगा पनि थिएन । भोकले पेटमा सारङ्गी रेटिरहेको थियो, तर साथमा कानाकौडी केही थिएन । भएको पैसा ल्याउने घर्ती साइँलोले चम्पत पारेर बेपत्ता भयो । गोरेलाई कहाँ जाऊँ र के गरौंँ परिरहेको थियो । सहरमा चिनेजानेका इष्टमित्र पनि त कोही थिएनन् । ऊ के गरोस् अब ? उसलाई एकैपटक रुन मन लागेर आयो अनि त्यही आँसुले भरिएका आँखाले उसले आफ्नो वरिपरि हेर्‍यो ।

साँझ्पखको सडकको रमझ्म निकै थियो । अलकत्रा ठोकेको कालो सडकमा मोटर, बाइस्कल, मोटर–बाइस्कल, बस, लरी, रिक्सा चिप्लें झैं सललल बगिरहेका थिए । दायाँबायाँ पेटीबाट अनेक रङ्गीविरङ्गी लुगा–कपडा लगाएका लोग्नेमानिस र स्वास्नीमानिसको घुइँचो ओहर र दोहर गर्थे । अलि पर सिनेमाघरमा बजेको रिकर्डको गीतको स्वर मोटर, बसको हर्नको स्वर अनि साइकलको घन्टीको स्वरले त्यहाँको वायुमण्डललाई कोलाहलमय बनाइरहेको थियो ।

अनि अकस्मात् त्यो उराठलाग्दो कोलाहललाई उछिनेर एउटा मुटु चिर्ने खालको करुण स्वर वायुमण्डलमा उठ्यो – भोक लाग्यो । लौन हजुर भोक लाग्यो । गोरेले आफ्ना आँखा उतै लग्यो । पर फुटपाथमा त्यहाँ ऊ आफ्नोजस्तै उमेरका र झुत्रेझम्रे चार–पाँच केटा र केटीहरू थुप्रिएका थिए । तीमध्ये एउटा केटोले आफ्नो स्वरमा सकेसम्म करुणा घोलेर त्यो क्रन्दन गरिरहेको थियो – लौन मालिक, भोक लाग्यो ।

साले चिप्रे, त्यसरी भन्ने हो त ! त्यसरी पो भन्दो रहेछ । एक्कासि उनीहरूमध्येकै एउटा उद्दण्ड खालको केटोले त्यो कराउनेचाहिँ केटाको गालामा एक थप्पड जडेर भन्यो । झैं गर्‍यो – ऊ रुन मात्र सकेन । गोरेलाई माया लागेर आयो ।
यसरी भन्नुपर्छ, लौ हेर् – उद्दण्ड केटोले भन्यो । देख्दादेख्दै उसको अनुहार एकदम निरीह र ज्यादै करुण झैं देखियो । आँखामा ज्यादै अबोधपना र दयनीयताको छाया पौडिन थाल्यो । अनि त्यसको मुखबाट मानो छाती फोरेर अत्यन्त करुण र अरूको मुटु चिर्ने खालको विलाप निस्क्यो – बाबुलाई चोभारमा काटे, आमा पोइल गई, ए हजुर भोक लाग्यो, लौन हजुर भोक लाग्यो ।

अभिनय निर्दोष थियो । उसको त्यस स्वरले त्यहाँको वायुमण्डल नै साँच्चै रोइरहेझ्ैं भान पारिदियो । एउटा भलाद्मीले पाँच पैसे ढ्याक त्यस केटोको हातमा हालिदिए । तत्कालै त्यो केटोको भाव बदलियो । उसको आँखामा विजयीको चमक र मुखमा उही उद्दण्डताको हाँसो थियो । उसले बडो गर्वसँग साथीहरूतिर हेरेर भन्यो – लौ हेर ।

गोरे यो सबै अभिनय बडो मनोयोगले हेरिरहेको थियो । अब त घाम पनि अस्ताउनै लागेको थियो । सूर्यको लाल किरण अगाडिपट्टिको रानीपोखरीको धमिलो पानीमा मानो रगत पोखिरहेको थियो । सोझैं पूर्वपट्टिको घण्टाघर पनि सिन्दुरमा मुछिए झैं लाग्दथ्यो । अनि पोखरीको पानीको तरङ्गसँग खेल्ने त्यसको र सरस्वती सदन, अनि दक्षिणपट्टिको तीनजना मानिससहितको ढुङ्गाको हात्तीको छाया, अनि पोखरीको बीचमा देवलको छाया – यी सबै कस्तो–कस्तो उदासीनझैं लाग्दथे । गोरेको मन आत्तिँदै आयो । अब कहाँ जाने ? ती केटाहरूको पनि सायद जाने ठाउँ कतै छैन क्यार – घर छैन क्यार । यी सबै उसकै उमेरका दौंतरीजस्ता देखिन्थे । ऊ बिस्तारै उनीहरू भएतिरै बढ्यो र नजिक गएर ङिच्च दाँत देखाएर ठिङ्ग उभियो ।

ए, ए, तँ के हेर्न आएको ? – त्यो डफ्फाको उद्दण्ड केटोले एक्कासि गोरेतिर हेरेर कड्क्यो ।
हेर्न पनि नहुने त ? गोरेले भन्यो ।
के रे ? उद्दण्ड केटो जुरुक्क उठेर उसको नजिकै आयो ।
तेरो ठाउँ हो त ? … बाटो त हो नि । गोरेलाई पनि जङ चलेर आयो । झ्न् यिनीहरूकै डफ्फामा बस्छु भन्ने सुर कसेर आएको त झ्न् । उसले हेर्‍यो – केटो निहुँ खोज्ने नै सुरमा थियो ।

हेर्न देन त जघने, के गर्छ त हेरेर – उनीहरूको साथी केटीले सम्झैता गराउन खोजी । तर त्यो उद्दण्ड केटो उग्र भइसकेको थियो । छोड टिकी, यो साले त बडो बडेको रेछ – उसले एकदम झ्म्टेर गोरेको कठालोमा समात्न खोज्यो । तर गोरे त्योभन्दा धेरै फूर्तिलो, धेरै बलियो देखिन्थ्यो । उसले त्यस केटाको हात समातेर मरुन्जेल बटारिदियो र पिठ्यूँतिर फर्काएर कक्रयाई अँठ्याइदियो । केटाका मण्डली वाल्ल परेर हेर्न थाले ।

ऐया नि, छोड् भन्या, ऐया । उद्दण्ड केटो पीडाले नीलो भएर रुन मात्र सकेन । तर गोरेले झ्न्–झ्न् कसेर ल्यायो । केटो झ्न् नीलो भयो ।

ए दाइ, छोडिद्यौ बिन्ती छ । अबदेखि त्यसो गर्दैन – डफ्फाकी केटी टिकीले अगाडि आएर नम्र स्वरमा गोरेसँग अनुनय गरी । गोरेले केटीतिर हेर्‍यो । उसको अनुहार बान्की परेको, कमलो थियो – मायालाग्दो थियो । आँखा पनि बडा–बडा राम्रा थिए । गोरेलाई उसका आँखा पनि राम्रा लागे अनि स्वर पनि मीठो लाग्यो । उसले बिस्तारै जघनेको हात छोडिदियो । अनि विजयी सिकन्दझैं आफ्ना रोबिला आँखाले त्यो मण्डलीमा हेर्‍यो । अरू केटाहरू अक्कनबक्क परेका थिए । टिकीको आँखामा लुकेको खुसीको चमक थियो । जघने हारेको कुकुरझैं पाखुरा सुम्सुम्याउँदै उभिरहेको थियो ।

गोरे छाती फर्काउँदै त्यो मण्डलीबाट पर पन्छिन खोज्यो । तर उसको पाइला अलि पर रोकियो । उसले त्यस केटीका राम्रा आँखा र बान्किलो मुख सम्झयो । त्यो केटी त खराब छैन । उसलाई फर्केर हेर्न मन लाग्यो । उसले टक्क अडिएर फर्केर हेर्‍यो, टिकी पनि उसैतिर हेरिरहेकी थिई । ऊ बिजुलीको खम्बामा अडेस लागेर उभियो । उसलाई टिकी भएतिर जाऊँ–जाऊँ लागिरहेको थियो । तर त्यहाँ जघने छ । ऊ गएन, खम्बामा अडेस लागेर उभिइनैरह्यो, टिकीतिर हेरिरह्यो, टिकीले पनि उसैलाई हेरिरही ।

अब अँध्यारो क्रमश: गाढा हुँदै गयो । जाडो पनि कठोर हुँदै गयो । गोरेको आङमा एकसरो आधी बाहुलाको कमिज र कट्टु मात्र थियो । उसको मुटु कमाउँदै ल्यायो । चीसो सिरेटो चल्न थाल्यो । उसले विवश र लोभिएका आँखाले टिकीको मण्डलीतिर हेर्‍यो । उनीहरू सिरेटोबाट बच्न परखालभित्रको लामो सेतो घरको लामो दलानमा गइसकेका थिए । साँढेको गोबर र गहुँतले मुछिएको ओडारजस्तो त्यो दलानमा टिकीको मण्डली एक गुजुल्टो परेको थियो । सबैको माझ्मा टिकी थिई । गोरेले अब आफूलाई रोक्न सकेन । ऊ बिस्तारै परखालभित्र त्यही घरको दलानतिर बढ्यो र उनीहरूभन्दा अलि पर, एउटा कुनामा गएर घुँडाभित्र मुन्टो घुसारेर बस्यो । ऊ त्यता जाँदा टिकीले मुन्टो उठाएर ऊतिर हेरेकी थिई ।

जाडोले निद्रा पटक्कै आउँदैन । भोकले अर्कोतिर आन्द्रा नै बटार्न थाल्यो, गोरे साह्रै दु:खित थियो । बल्लबल्ल आधा राततिर गएर यसो आँखा झ्काउन–झ्काउन लागेछ, तर अकस्मात् उसलाई आफ्नो गालामा तातो बतासले छोएझैं लाग्यो । झ्काउन लागेका आँखा खुले । अँँध्यारोमा कोही मानिस आफूमाथि झैं उसलाई लाग्यो । कतै जघने अघि साँझ्को बदला लिन आएको त होइन ? … उसले आँखा अलि तिखार्‍यो । बाहिर सडकको खम्बामा बलेको बिजुलीको ज्यादै मधुरो उज्यालो त्यहाँ हो कि हो कि जस्तो आइपुगेको थियो । त्यसको नगण्य सहायताबाट उसले ठम्यायो, यो टिकी थिई ।

टिकी उसमाथि झ्ुकेकी थिई, उसको अनुहार गौरसँग हेरिरहेकी थिई । उसको बाँकटे कमिज र कट्टुबाहिर पाखुरा, पिँडौला र तिघ्रा नाङ्गै थिए । त्यसमा काँडा उम्रिरहेको थियो । टिकीले सबै एक–एक गर्दै मुसारी । आश्चर्यले गोरेको मुखबाट घरिघरि चीत्कार निस्कन खोज्दथ्यो, तर टिकीको नाकबाट निस्केको तातो तातो बाफ, उसको कलिलो हातको नरम–नरम स्पर्श उसलाई बडो मीठो लागिरहेको थियो । उसले कराएन । उसले यस्तो ममताको स्वाद कहिल्यै पाएको थिएन । ऊ कुकुर गुँडुल्किएजस्तै घुँडा र मुन्टो एकै ठाउँमा पारेर गुँडुल्किरह्यो ।

टिकीले आफूले ओढेको झयाङ्लो ओढ्ने आधी गोरेलाई ओढाइदिई, आधी आफू ओढेर उसैसँग टाँस्सिएर सुती । अब गोरेको मुखबाट रोक्तारोक्दै पनि खुसी र आश्चर्य मिसिएको स्वर निस्क्यो – टिकी !

तिमी निदा’छैन ? – टिकीले उसको मुख, नाक, आँखा, गाला, निधार एक–एक गरेर अँध्यारोमा छामी । त्यो मोरो जघने असाद्धे नजाती छ । मलाई त्योसँग सुत्नै मन लाग्दैन । जहाँ गए पनि पछिपछि लाग्छ, छोड्दै छोड्दैन । त्यसको जीउ कसरी डुङडुङ गन्हाउँछ !

जघने तिम्रो दाजु हो ? – गोरेले सोध्यो ।
केको दाजु त्यो मोरो माग्ने । मेरो त दाजु नै छैन, बाआमा पनि छैन, मरिसक्यो । मेरो कोही छैन । घैंटे, कप्तान, चिप्रे पनि कोही होइन – टिकी बडो मायालाग्दो स्वरमा भनिरहेकी थिई – त्यो जघने मोरो त साह्रै बदमास छ, मागेको पैसा पनि लुट्छ । चिप्रे, भोटेहरूले मागेको पनि लुटेर लिन्छ । म जहाँ गए पनि लखेटिरहन्छ – उसकै स्वास्नीजस्तो । मलाई त्योसँग सुत्नै मन लाग्दैन, घैंटे, चिप्रे पनि ऊसँग डराउँछन् । तिमी त डराउन्नौ ! … म तिमीसँग सुत्छु, हुन्छ ?

गोरे केही बोलेन । टिकी अब झ्न् उसको जीउमा टाँस्सिन आएकी थिई । उसको तातो–तातो सास गोरेको गलामा परिरहेको थियो । दुवैका तिघ्रा आपसमा लठारिएका थिए, दुवैका छाती आपसमा टाँस्सिएका थिए । टिकीको शरीरबाट आउने तातो–तातो बाफ आफ्नो शरीरभित्र पस्दा एउटा लागूको जस्तो अव्यक्त आनन्दको अनुभव गोरेले गरिरहेको थियो – असाध्य न्यानो, बताउन नसकिने मीठो । ऊ केही भन्न खोजेर पनि केही भन्न सकिरहेको थिएन । यस्तै आनन्दमय अवस्थामा दुवैजना कुन बेला निदाए, पत्तै भएन ।

एक्कासि जघनेको कडकाइले पो त गोरेका आँखा खुलेका थिए । गोरे पहिले त अकमक्क परेको थियो । घाम निकै माथि आइसकेको रहेछ । जघने एकदम आएर टिकीलाई जगल्ट्याउन लागेको रहेछ । गोरेले पहिले केही बुझ्ेन । पछि बिस्तारै पो बुझदै आयो ।

तँ किन त त्यो कोको नचिनेकोसँग सुत्न गएकी त ? – जघने टिकीको जगल्टामा समातेर बम्किरहेको थियो ।
हामी जोसँग मन लागे पनि सुत्छम् रे, तँ मोरालाई केको चासो ? – टिकी रुन्चे स्वरमा भनिरहेकी थिई । उसले करुण आँखा उठाएर गोरेतिर हेरी । गोरेको नसा एकदमै फुलेर आयो । तर पहिले हच्क्यो – पराइको डफ्फामा । तर जघने निर्दयतासँग टिकीलाई जगल्टामा समातेर तान्न थाल्यो ।
ए गोरे – टिकी चिच्याई । उसको करुण स्वरले गोेरेको मगजमा आगो सल्काइदियो । उसको पौरुष तातेर आयो ।

ए जघने, छोडिदे टिकीलाई – ऊ झ्म्टेर गयो र जघनेको कन्पारामा एक घुस्सी छाडिदियो । जघनेले तोरीको फूल देख्यो । उसको हातबाट टिकीको कपाल छुट्यो । एक त हिजैको चित, दोसो यो बज्रघुस्सा, उसलाई गोरेसँग जोरी खोज्ने आँट आएन । हान्ने राँगाले जस्तै राता–राता आँखाले केही बेर गोरेलाई हेरेर, हारेको विवश साँढेले मैदान छाडेजस्तै फुई–फुई नाकका पोरा फुराउँदै ऊ बाहिर फुटपाथतिर निस्क्यो ।

त्यस दिनदेखि त्यस मण्डलीको नाइके गोरै नै भयो । हारेको जघने टाढा बसेर उनीहरूको प्रत्येक कुरालाई हेरिरहन्थ्यो । अब उसको हरेक कुरा बेग्लै देखिन थालेको थियो, ऊ बेग्लै माग्थ्यो, बेग्लै खान्थ्यो र बेग्लै सुत्थ्यो । तर कहिलेकाहीँ भने उसको आँखामा बथानबाट त्यागिएको बानरको छाउरोजस्तै निरीहता र विवशता छट्पटाइरहेको देखिन्थ्यो । ऊ बडो लालची आँखाले पुरानो मण्डलीतिर हेरिरहन्थ्यो । अनि गोरे नभएको कुनै पनि मौका पायो कि ऊ जगरसेठ भएर बाख्राको बथानमा चितुवा पसेझ्ैं मण्डलीमा पसेर हुन्डरी मच्चाउँथ्यो । ऊ चिम्से, घैंटे, भोटेलाई पिटपाट गर्दथ्यो, उनीहरूसँग भएका सबै पैसा खोसखास पार्दथ्यो । टिकीलाई त ऊ ज्यादै सताउँथ्यो । उसलाई जगल्ट्याएर पछाथ्र्यो र भुँडीमा घोडा चडेर बेसरी छाती माडिदिन्थ्यो – जा, तेरो पोइ गोरे साला लौ जा रण्डी, जा ।

गोरे फर्कंदा टिकी रोइरहेकी हुन्थी ।
किन ? किन रोएकी टिकी ? … के भयो ? … गोरे दु:खी भएर सोध्दथ्यो ।

त्यै मोरो जघने ! … अर्कालाई घोडा चढेर, पैसा खोसेर … ? टिकी छातीमा भक्कानो पारी हिक्क–हिक्क स्वरमा सबै वृत्तान्त सुनाउँथी । गोरेको रगत एकदम तातेर आउँथ्यो । ऊ टिकीको कपाल तह लगाइदिन्थ्यो । आङको धूलो झरिदिन्थ्यो अलि क्रोधले बलेका आँखाले जघने भएतिर हेर्दथ्यो । जघने टाढा बसेर ङिच्च दाह्रा ङिच्याउँदै निर्लज्ज हाँसो हाँस्तै बकुल्ला, सीमीको गेडा टोकिरहेको हुन्थ्यो । गोरे रिसले आँखै देख्दैनथ्यो । ऊ झ्म्टेर जघनेतिर जान्थ्यो । तर जघने निर्लज्जताले भाग्दथ्यो । गोरे लखेट्दै गएर उसको कठालामा समातेर भारीसँग ठोकपिट गर्दथ्यो । अनि गोरे भोटेहरूका खोसिएका पैसा सबै ल्याएर टिकीको हातमा हालिदिन्थ्यो । त्यसपछि दुवै मुखामुख गरेर हाँस्थे ।
गोरे अब त्यस फुटपाथ स्टेट (सडकको पेटी राज्य)को सम्राट थियो, टिकी पटसाम्राज्ञी । चिम्से, घैंटे, भोटे मन्त्री, मिनिस्टर । कुनै अवरोध थिएन, कुनै बाधा थिएन । दीनताको अभिनय गर्दथे, करुणाको प्रदर्शन । अनि त्यसबाट दर्शकको मन पगालेर एक–आध पैसा जति झर्न सक्यो – दुई रुपियाँ चार रुपियाँ – त्यो सबै टिकीको हातमा सुम्पिदिन्थे । अनि टिकी खानपिनको सबै चाँजो मिलाउँथी ।

दिनभर मागजुग गर्‍यो, साँझ् खानपिन गरिसकेपछि सबै–जना लामो घरको साँढेको गहुँत गोबरले सरोबर अँध्यारो दलानतिर जान्थे र अनि सुख्खा कुना खोजेर एकै गुजुल्टो परेर सुत्दथे । अँगालोमा बाँधिएका गोरे र टिकी माझ्मा सुत्दथे, अनि अरू वरिपरि गुजुल्टो पर्दथे ।

जघने बिस्तारै–बिस्तारै उनीहरूबाट एकदम पर भइसकेको थियो । ऊ अब दुई–चार दिनमा मात्र देखा पर्न थालेको थियो । एकपल्ट त महिनौं पनि देखिएन । यस परिस्थितिमा टिकी र गोरेको बाल माया झ्न् झ्न् गाढा हुँदै गयो । ऊ उसलाई, ऊ उसलाई अखण्डै माया गर्न थालेका थिए । एउटालाई एकछिन देखेन भने अर्को छटपटाएको देखिन्थ्यो । अनि गोरे बाहिर कतै गएर फर्कंदा टिकीको आँखामा एउटा अपूर्व उल्लासको चिन्ह देखिन्थ्यो ।

बाटामा रङ्ग–बिरङ्गका लुगा–कपडा लगाएका रङ्ग–रङ्गका फेसनमा डुबेका सम्भ्रान्त सज्जन महिलाहरू ओहरदोहर गरिरहन्थे । उनीहरूका राम्रा–राम्रा लुगा, आधुनिकतम फेसन र कटमा गोरे र टिकी लोभिएका आँखाले हेरिरहन्थे । कहिलेकाहीँ एक्कासि एउटी केटीको बुट्टे कुर्ता र सलवारतिर लालची आँखाले हेरेर टिकी भन्थी – त्यो कस्तो राम्रो हगि गोरे ?

तँलाई पनि त्यस्तै लाउन मन लाग्छ, टिकी ? ऊ त्यो स्वास्नीमान्छेको जस्तो जुत्ता नि लाउन मन लाग्छ तँलाई ? – गोरे गम्भीर स्वरमा सोध्दथ्यो ।

किन नलाउनु त पाए – टिकीका लोभिएका आँखा त्यही रङ्गीचङ्गी लुगाहरूमा गाडिएका हुन्थे । हामीलाई कसैले दिँदैन । दिएदेखि त राम्रो लुगा, राम्रो जुत्ता लाएर ठाँट्टिएर सिनेमा हेर्न जान हुन्थ्यो, साँच्चै एक दिन सिनेमा हेर्न जाऊँ न गोरे हँ ? … मलाई सिनेमा हेर्न अखण्ड मन पर्छ । मैले कहिल्यै सिनेमा हेर्‍या छैन । जघने मोरो त पैसा चोरेर सिनेमा हेर्न जान्थ्यो । फोर किलासको कति लिन्छ ? हामी पनि एक बाजी जाऊँ न है ? … है भन्या !

गोरे गम्भीर हुन्थ्यो । उसलाई पनि सिनेमा हेर्न मन नलागेको होइन । साँच्चै, टिकीलाई राम्रो लुगा लाउन दिएर सिनेमा हेर्न जान पाए त … । ऊ सिनेमाहलतिर गइरहेका दुई जना राम्रा र सफा लुगा लाएका लोग्नेमानिस र स्वास्नीमानिसका जोडीलाई स्वप्निल आँखाले हेरिरहन्थ्यो ।

जाउँला पख न … । म ठूलो हुँला पैसा कमाउँला अनि ऊ तिनीहरूले जस्तै राम्रा लुगा लगाएर तँ र म सिनेमा जाउँला । ऊ सपनामा डुबेझ्ैं मुग्ध स्वरमा भन्थ्यो । टिकी पनि सपनामा डुब्थी ! … एक डेढ वर्ष यस्तैमा बित्यो ।

एक दिन एक्कासि जघने त्यहाँ देखापर्‍यो । अहिले उसको रूप एकदम छाँट्टिएको थियो । लुगा उसको नयाँ र मूल्यवान् नभए पनि सफा र सुग्घर थियो । अनुहार पनि सफा र सुग्घर, रोबिलो र तेजिलो देखिन्थ्यो । उसको अनुहारमा पहिलेवस्तो उद्दण्डता देखिँदैनथ्यो, बरु केही मात्रामा सौम्यता नै झ्ल्केको भान पर्दथ्यो ।

ऊ गोरेको मण्डलीतिर आएर सबैको मुखमा हेर्दै बडो हार्दिक हाँसो हाँसिरहेको थियो । खासगरी ऊ टिकीतिर हेरिरहेको थियो । उसको आँखामा एउटा नजानिँदो मायाको तरलता थियो । यो देखेर टिकी पनि ऊतिर आकर्षित नभई सकिन ।

कहाँ गएर आएको जघने ? … कहाँ थिइस् तँ ? उसले जघनेको नजिकै गएर सोधी । जघनेले पहिलेजस्तो उद्दण्डता देखाएन । उसले स्वाभाविक र शिष्ट भनेझ्ैं भाषामा जवाफ दियो – म त होटेलमा काम गर्छु । आज त साहुसँग भनेर सिनेमा हेर्न आएको । यो लुगा पनि साहुले हालिदिएको । ….. महिनाको दस रुपिया दिन्छ, खान पनि दिन्छ । अनि चिया खान आउनेले पनि कसैले पाँच पैसा दिन्छन्, कसैले दुई पैसा । … समोसा, चप पनि खान पाइन्छ ।

समोसा ? …. त्यो कस्तो हुन्छ जघने ? भोटे बडो उत्सुक भएर सोध्न आयो – त्यसलाई कति पैसा लिन्छ ?

पैसा त धेरै लिन्छ – एक सुका, आठाना, मोहर हेरी – जघनेले जवाफ दियो । हामी होटलमा काम गर्छौं, हामी त पैसै तिर्दैनौं – सित्तै खान्छौं ।

हामीलाई पनि ख्वा न जघने, समोसा – आखिर टिकीले मन थाम्न सकिन र जघनेको हात समातेर बडो याचक स्वरमा भनी । अलि पर बसेर यो सबै हेरिरहेको गोरेको मनमा च्वास्स घोच्यो – कस्ती लाज नभएकी त्यो टिकी ! जघनेसँग माग्न जाने । जघने कति दु:ख दिन्थ्यो टिकीलाई । तर अहिले त्यसैसँग त्यसरी लहस्सिन जाने । गोरेलाई टिकीदेखि भित्र चित्त दुखेझैं भयो ।

ए टिकी ! उसको स्वर अलि चर्को भयो । टिकी जघनेलाई छोडेर गोरेकहाँ आई ।

गोरे ! जघने त होटेलमा काम गर्छ रे । ऊ समोसा पनि खान पाउँछ रे, दस रुपिया साहुले दिन्छ रे, खान पनि दिन्छ रे, लुगा पनि … – टिकीले बडो उत्साहले एकसासमा भनी । गोरे केही बोलेन, गम्भीर र करिब–करिब उक्सेको रोटीजस्तै ढुस्स फुलेर बस्यो । जघने बिस्तारै त्यताबाट सिनेमाहलतिर लाग्यो । खेल सुरु हुनुभन्दा अगाडि रिकर्ड बजिरहेको थियो । गोरेले टाढासम्म उसको सफा कमिज सुरुवाल र फूर्तिलो हिँडाइलाई गहिरोसँग हेरिरह्यो ।

त्यस दिनदेखि गोरे साँच्चै कता हराएझ्ैं देखिन थाल्यो । उसको मन उडेजस्तो – धेरै बोल्दा पनि नबोल्ने, उस्तो फूर्तिफार्ति पनि नगरी चुपचाप कहाँ–कहाँ हेरेर बसिरहने । उसको विचार अब ज्यादै जघनेतिर जान थालेको थियो । जघने निकै भिन्नै भएछ । पहिलेजस्तो छुच्चो मिजास पनि हराएछ । निकै भलाद्मी देखिएछ, राम्रो पनि देखिएछ । ऊ राम्रा लुगा पनि लाउँदो रहेछ, सिनेमा पनि जान पाउँदो रहेछ । उसलाई मागेर खानु पनि पर्दैन, साहुले ख्वाउँछ । झ्न् त्यसमाथि महिनाको दस रुपियाँ पनि ऊ पाउँछ । उसको मन त्यो फुटपाथबाट त्यसै–त्यसै विरक्तिएर आउन थाल्यो । उसलाई कतै कुनै प्रबल आकर्षणले तानिरहेझ्ै भित्र ज्यादै छटपटी र अशान्ति हुन थाल्यो ।

टिकी, म पनि होटलमा काम गर्न जाऊँ है ! – एक दिन अकस्मात उसको भित्रको अज्ञात इच्छा प्रकाश रूपमा देखापर्‍यो । होटेलमा काम गरेर पैसा कमाउँछु, तँलाई लुगा ल्याइदिन्छु, समोसा ल्याइदिन्छु । जघने कस्तो राम्रो लुगा लाउँछ ।
टिकी केही बोलिन । ऊ काँतर आँखाले उसको अनुहारमा हेर्न थाली । गोरे जान सकेन । अनि एक, दुई, चार, छ महिना बित्यो । तर गोरेको मानसिक पटबाट जघनेको सफासुग्घर र भलाद्मी रूपको तस्विर कहिल्यै मेटिएन । उसलाई घरिघरि एउटा अज्ञात शक्तिले जोरसँग तानेझ्ैं लाग्दथ्यो । त्यो सडकको चहलपहल, फुटपाथको करुण प्रदर्शन, अभिनय, दुई–चार पैसा – यी सबै उसलाई वाक्क लागेर आउँथे । तर टिकी ! …. यही एउटी बन्धन थिई । यसलाई छोड्न गोरेको मन मान्दैनथ्यो ।

तर एक दिन यही सङ्घर्षको बीचमा ऊ कसैलाई नसोधी, कसैले नदेख्ने गरी आफ्नो लक्ष्यतिर आफ्नो अभीष्टको खोजीमा हिँड्यो … ।

अनि आज छ महिनापछि गोरे आफ्नो उही पुरानो फुटपाथ स्टेटतिर, आफ्नी टिकीकहाँ जान हतार हतार रातको चकमन्न सडकमा हिँडिरहेछ । सडक प्राय: चकमन्न भइसकेको छ । एकआध मोटरहरू यदाकदा त्यो कालो चिप्लो सडकमा सललल बग्छन् । दुईचार मानिसहरू फाट्फुट हिँडछन् । एकआध घरका झयालबाट रेडियोको गीत निस्केर दिगन्तमा गुञ्जिरहन्छ – अरू सबै शून्य ।

पीचपोतेको कालो सडकमा जूनको जुनेली पोखिएर परसम्म टल्किरहेको छ । टाढा–टाढा भुस्याहा कुकुर भुकेको ह्वाङ–ह्वाङ आवाजले कहिलेकाहीँ त्यो रात्रीको नीरवतालाई चिरिदिन्छ । कहिलेकाहीँ त्यसमा रेडियो, गीत र मोटरको हर्न मिलेर एउटा विचित्रता प्रकट गरिदिन्छ ।

गोरे घण्टाघरतिर फटाफट बढिरहेको छ । रानीपोखरीछेवैको सेन्टरीको पुलिस उँघ्न लागिसकेको थियो । बिजुलीको खम्बाको उज्यालोमा त्यहाँ वरिपरिको वातावरण कस्तो–कस्तो मरन्च्याँसे देखिन्थ्यो – रानीपोखरीको कालो पानीमा चन्द्रमा हल्लिरहेको थियो । घण्टाघर, सरस्वती सदन अनि पोखरीमाझ्को मन्दिरको छाया पानीमा तरङ्गिरहेको थियो । घण्टाघरको आँखा दन्त्यकथाको राक्षसको आँखा बलेझ्ैं बलिरहेको थियो । गोरे सरासर फुटपाथतिर बढ्यो । उसको खोकिलामा समोसा र चपका पोको थियो – टिकीलाई ल्याइदिएको । ऊ छिटोछिटो हिँडिरहेको थियो । फुटपाथमा एक–आध भुस्याहा कुकुरहरू गुँडुल्किरहेका थिए । उसको चाल पाएर ती भुक्तै परपर भाग्दथे । कुनै–कुनै चप र समोसाको गन्धले पछि लाग्दथे । गोरे बडो उत्साहले फटाफट त्यो पर्खालको ठूलो ढोकाबाट लामो घरको दलानतिर बढ्यो । दलान पनि चकमन्न थियो । बाहिर सडकको खम्बामा बलेको बिजुलीको त्यतिको फासला पार गर्दै आएको उज्यालो ज्यादै मरन्च्याँसे रूपमा त्यहाँ पुगेको थियो । त्यसले त्यो दलानको अँध्यारोलाई झ्न् डरलाग्दो बनाएको थियो ।

गोरे दलानभित्र पस्यो । उसको नाकमा साँढेको गोबर र गहुँत मुछिएको गन्ध ह्वास्स आयो । उसले पहिलेको घटना सबै एक–एक गर्दै सम्झयो । ऊ त्यो कुनामा आफू, टिकी र उसका मण्डली एकै गुजुल्टो परेर गुँडुल्किन्थे । ऊ त्यतै बढ्यो । तर त्यो ठाउँ खाली थियो, फगत त्यहाँ एउटा पुरानो भाङ्ग्राको फ्याङ्ली थियो अनि एउटा झ्ुत्रो चोलाको टुक्रो । ऊ त्यसलाई हातमा लिएर केही बेर टोल्हायो – यो टिकीको चोलो थियो । त्यहाँ टिकी थिइन । उसको मन त्यसै नरमाइलो भएर आयो । छाती भरिएर आयो ।

ऊ एकदम निराश भएर फक्र्यो । अलि पर कालो कालो थुप्रो जस्तो देख्यो । ऊ उतै बढ्यो । यो त साँढे पो रहेछ । ऊ खिन्न भयो । अनि सडकतिर निस्क्यो ।

सडकतिर निस्कने ठूलो ढोकाको कुनामा कोही गुँडुल्किएर सुतिरहेको थियो । गोरेले नियालेर हेर्‍यो – यो त भोटे रहेछ ।
भोटे ! – उसको मन फेरि हरियो भएर आयो । उसले भोटेलाई घच्घच्यायो । भोटे आँखा मिच्दै उठ्यो । अगाडि गोरे थियो – सफा–सुग्घर लुगा लगाएको ।

गोरे दाइ ! भोटेको मुखबाट खुसीको उद्गार निस्क्यो । तिमी कहाँ थियौ यत्तिका दिन ?
तँ यहीँ छस् भोटे ? – गोरेले आफ्ना आँखाले केही खोज्दै सोध्यो – अरू खोई त ?
अरू त थाहा छैन । भोटेले भन्यो – म एक्लै यहाँ छु । त्यै पनि पुलिसले कतिपल्ट लखेटिसक्यो । चिम्से, घैंटे, टिकी कोही पनि छैनन् । म एक्लै … मलाई यहाँ बस्नै मन लाग्दैन । अब म पनि तिमीसँगै जान्छु है ?

टिकी कहाँ गई नि ? गोरले डुबेको स्वरमा भन्यो ।

थाहा छैन – भोटेले भन्यो – तिमी गएपछि जघने आएको थियो । उसले फकाएर उसैसँग गई । … नजा, गोरेदाइ आउँछ भनेको, मानिन । अब म पनि तिमीसँगै जान्छु है गोरे दाइ ?

गोरेको छातीभित्र कसैले नराम्रोसँग चिमोटिदिएझ्ैं पीडा भयो । उसका हातखुट्टा गलेझैं  लागे । ऊ केही बोलेन । ऊ बिस्तारै सडकतिर निस्क्यो ।

गोरेदाइ, म पनि तिमीसँग जान्छु है ! – भोटे चिच्यायो । तर गोरे केही नबोली सडकमा बढ्दै गयो । एक–दुईवटा भुस्याहा कुकुर उसका पछि लागे । उसले आफ्नो खोकिलाको समोसा र चप एक–एक गर्दै कुकुरको अगाडि खसाल्दै गयो ।

000 

No comments:

Post a Comment