Monday, July 3, 2023

माधव भण्डारी




जन्म : वि.सं. १९९३ माघ १६ गते
जन्मस्थान : इलाम न.पा-६, सुम्बेक, इलामकृतिहरु
नेपाली कथा सङ्ग्रह (२०१५ सहलेखन- चूडामणि रेग्मी)
काले र माटो ( कथाकृति)
गाउँघर (२०२५),
माधव भण्डारीका कथा साहित्य (२०४०)
पार्वती परिणय (पौराणिक २०५८)
क्यालेण्डरका घुम्तीहरु (२०६१),
नबिर्सिने कोसेली (२०६० लोककथा)
इतिवृत्त र सृजना (२०७७) आदी।
निधन २०७८ पुस १८ गते

कथा

रिन

बाबुको चुटाइभन्दा, श्रीमतीको घुक्र्याइभन्दा, आमाको हप्काइभन्दा अनि गुरुको गालीभन्दा पनि डरलाग्दो कुनै कुरो मलाई छ भने त्यो हो रिन । अँ, कसैसित माग्नेबेलामा त म यसै भन्छु– “एक दुई रुपियाँ रिनै होइन, दुई चार सय भएपछि तिरिन्यै होइन ।” तर तिर्नेबेलामा भने मेरो सातोपुत्लो उड्छ ।
लुगाफाटो किन्नुपर्यो कैंयाको रिन, अन्न खानै पर्यो, महाजनको रिन, छोराछोरीलाई दूध खुवाउन एउटा गाई पाल्नै पर्यो, गोठाला दाइको रिन । मैले रिन नकाढ्ने ठाउँ कुनै पनि छैन । पहिले–पहिले त बाबुको नाउँले मलाई सबैले रिन पत्याउँथे, त्यसैले त आजसम्म यत्रो रिन भयो, तर अब ता कति जनासँग दाह्रा ङिच्याउँदा पनि ‘अहँ छैन’ कि ‘अहिले दिन सकिंदैन’ अथवा ‘खान जानेपछि तिर्न पनि जान्नुपर्छ’ बाहेक अरु मेरो माथि कसैले कृपा गर्दैन । यसैले मैले के अठोट गरें भने अबदेखि म कसैसित रिन भनेर हात पसार्ने छैन ।

एक दिन बेलुकाको कुरा हो, श्रीमतीले ढिंडो ओडालिन् । म चपला (आफ्नी सानी छोरी)लाई छेउमा राखेर खान मात्र के बसेको थिएँ बाहिरबाट केही मानिस पहाडे जुत्ता लाएर ‘गड्याप्–गड्याप्’ गर्दै आएको आवाज मेरा कानमा पर्यो । को भनेर उठेर दैलामा गएर हेर्छु त मुखियाका छोरा आएका रहेछन्, अनि पो मैले थाहा पाएँ– उनका घरबाट एक मुरी मकै ल्याएको तिर्ने भाका आजै पुगेछ ।

“कसो हो मोहनजी, के छ चालामाला ?” उनले टाँडमा बस्तै भने ।

“के भनौं र राम्रै छ” अपराधी जस्तो टाउको निहुराएर मैले भनें ।

“बा किन नखाई हिंडेका आमा ?” भित्र छोरीले आमालाई सोधी ।

“चुप लाग् !” आमा चाहिंले हकारी ।

“कसो त मोहनज्यू, धेरै बस्ने फुर्सद पनि छैन । त्यो अस्तिको दिनुहुन्छ कि भनेर पो आएको ।” मुखियापुत्र मुख्य कुरामा गए ।

मैले जवाफ दिन धेरै शब्द खोजें, आखिरमा मेरो मुखबाट यतिनै निस्कियो– “भाका त आजै थियो, तर कसै गर्दा पनि पार्न सकिएन । अब एक दुई दिन पर्खिदिनुपर्यो ।”

“खाने कुरा भनेको नखत हो बुझ्यौ, नखत, जति भन्यो उति पर्खन सकिंदैन । तिमीलाई भनेर पो यति दिन पर्खिएँ त, तिम्रा बालाई सम्झेर !

बाको नाम सुन्दा मलाई कस्तोकस्तो लाग्यो । त्यस्ता गाउँका योग्य व्यक्तिको छोरो भएर पनि यस्तो बेइमान भएको ‘आफूलाई’ सम्झँदा मनमनै आफ्नो जीवनलाई धिक्कार दिन थालें । उनी भन्दै गए ...
“तिम्रा बाबु कस्ता थिए, गाउँका पण्डित ! फेरि कति सीधा, कुनै काम चलाउनुपर्यो भने पनि भनेको दिन फरक नपार्ने, तर तिमी खोइ ?”

मैले दिने जवाफ अब केही थिएन । रपनि नकच्चरो नभई काम नचल्ने । अनेक बिन्ती भाउ गरें तर उनले सुन्न मानेनन् । यसको बदलामा मलाई उनले खोर्सानी हालेको आलुको ओल्याँसी (अचार) र धेरै मरिच हालेको चिया जस्ता धेरै कुरा सुनाए, तर मलाई यसले बाडुली पनि लागेन कान पनि तातेनन्, किनभने यस्ता कुरामा मलाई पुरापुरा अभ्यास भइसकेको थियो ।

मुक्तिको लागि बैरागीले भगवानलाई जति प्रार्थना गर्छ त्यति नै रागी (सन्सारी)ले साहूलाई गर्नुपर्दो रहेछ । आखिरमा केही नलागेर भदौ एकको साटो दुई मुरी तिर्ने गरी भोलि तमसुक गर्नेमा कुरा छिनियो । एकातिरबाट त अलिक दिनको लागि भए पनि टाउको हलौं भयो । भित्र जाँदा भात सेलाइसकेको रहेछ । खान बसें, तर निल्न निक्कै मुस्किल पर्यो ।

भोलिपल्टै मुखियाकोमा गएर तमसुकमा ल्याप्चे सही गरिदिएँ ।

विस्तार–विस्तार भदौ पनि आयो । बारीमा मकै जम्मा पाँच मुरी भएछन् । त्यही हो वर्षभरि श्रीमती र मैले पाखुरा बजाएको फल । त्यसमा दुई मुरी मुखियालाई बुझाएँ, एक मुरी गोठाला दाइको गाई ल्याएको व्याज तिरें, दस पाथी बेचेर नूनतेल गरें । अब खालि डेढ मुरी मात्र बाँकी रहे । त्यत्तिले कैयाँलाई के तिर्ने, लुगाफाटो केले हाल्ने अनि वर्षभरि के खाने ? म छक्क परें । र पनि चित्त बुझाएँ ‘के होला भनेर भएन, जे होला !’

तीज आउन तिन दिन बाँकी थियो, बेलुका सुत्ने बेलामा श्रीमतीले गन्गन गरिन्– “भोलि माइत जानुभनेको, सारी यस्तो सहे ठाउँमा टालेको छ, के लाएर जाने ? दिदी–बहिनीले यस्तो देखेर के भन्लान् ?”

“अब के गर्ने, तिमीलाई थाहै छ । म बजार जाँदा पनि कैयाँले देख्छ कि भनेर लुकेर हिंड्छु । पैसा छैन, रिन कसैले पत्याउँदैन । सबभन्दा राम्रो कुरा त के हो भने, तिमी यसपाली माइतै नजाऊ ! दसैंसम्ममा जे गरौंला ।” मैले मनका सबै कुरा एकैचोटी भनें ।

“अँ, वर्ष दिनको यत्रो चाड, यसपाली पनि माइत नजानु रे ! जे सुकै होस् जान्छु । “किन यस्तो गुनिउँ लाइस् भने भने ‘दिएनन्’ भन्छु । मलाई के हुन्छ ?” उनका कुरामा सकेसम्म जिद्दी थियो ।
“कस्तो कुरा नबुझेको ? मैले नदिएको हो ? अब अहिल्यै कसले पत्याउँछ र रिन काढ्न ? फेरि फस्र्याउनु पनि त पर्छ ।”

“वर्षमा एउटा गुनिउँ पनि हालिदिन नसक्ने, चाँजो मिलाउनु पर्छ नि !” कसले ला भनेर हातमा राखिदिन्छ त ?” उनको के भाव थियो भने खालि मैं बिकामे भएर सबै यस्तो भएको हो ।

मैले झर्कंदै भनें– “हो बाबा हो, मैले गर्न सकिन रे ! अब आफैं चाँजो मिलाएर लगाउनू !”

“आफैंले गर्दा हुने भए को बिन्ती गरिरहन्थ्यो ?” मैले कसै गर्दा पनि भएन । हाम्रो यस बहसले द्वितीय विश्वमहायुद्धको रूप नलिए पनि गृहयुद्धको रुप त अवश्य लिने थियो होला, तर सानो नानीलाई उपिउँले टोकेछ र ‘च्याँर्–च्याँर्’ गर्यो र उनी धिप्री लिएर कुद्दै गइन् । ईश्वरको कृपा, यतिकैमा शान्त भयो र सन्चले पल्टन पाइयो ।

बिहान भयो, बेलुका भयो, अर्को दिन पनि आयो तर लुगाका कुरा चलेनन् । साँच्चै भनुँ भने हामी राम्रो बोलेनौं पनि । भात पाकेपछि छोरी बोलाउँथी, सुपु–सुपु खान्थें, उठेर आफ्ना काममा लाग्थें ।
त्यही दिन थियो दर खाने दिन । उनी डोकोमा नानी हालेर त्यही थोत्रो गुनिउँ लाएर ठुली छोरीलाई ‘बासँग बस्नु है, म पर्सि आउँछु’ भनेर माइतको बाटो लिइन् । म पनि ‘दुनियाँ किन हँसाउनु’ भनेर केही बोलिनँ ।

तिन दिनपछि उनी नयाँ सारी लगाएर आइन् । बेलुका मैले सोधें– “सारी कसले दियो ?” उनको जवाफ यति मात्र थियो– “आफूले नहालिदिएपछि के खस–खस ?”
मैले पहिल्यै के अड्कल गीता काटिसकेको थिएँ भने माइतीले नै दिए होलान् । अब जे भए पनि उनलाई मैले खुसी नै पार्नुथियो र उनको ठट्यौलीतिर लागें । उनीले मन नपरीनपरी पनि मतिर हेरेर किच्च गरिन् । मैले प्रेमको सानो थप्पड गालामा दिएँ ।

दसैं पनि आउन लाग्यो । अब श्रीमतीलाई गुनिउँ ता भइगयो, तर आफू र छोराछोरी पनि त नाङ्गै बस्नु भएन । रिन काढौं, कहाँ के, नकाढौं निर्वाह छैन । केही नलागेर गाउँभरि डुलें, पत्ता लागेन । अब दाह्रा ङिच्याउनु मात्र किन भनेर बसेको थिएँ, श्रीमतीले एउटा सुझाउ दिइन् । उनका बासित गएर मागे केही रुपियाँ हार्न सक्तैनन् ।

म पनि केही नलागेर लाज मानी मानी पनि गएँ । बेलुका पुगें, राम्ररी घिउ र अचारले स्वागत गरे । मैले पनि आउँदा आउँदै के कुरा चलाउँ भनेर बेलुका केही भनिनँ । बिहान भयो, तर माग्न भने निक्कै संकोच लाग्यो र पनि अर्को उपाय केही थिएन । धेरै माग्ने विचार थियो तर बल्ल बल्ल बिस रुपियाँको प्रस्ताव राखें ।

तर उनले (ससुराले) पनि त्यस्तै जवाफ दिए जस्तो आजसम्म अरुले दिएका थिए । अँ, तीता र पीरा कुरा भने त्यहाँ थिएनन् । उनले बितेको अनिकाल र पैसाका समस्याको ठुलो व्याख्यान दिए । म पनि बोल्नमा कम्ती थिइनँ, आजसम्ममा पैसा माग्ने कला मैले जानिसकेको थिएँ । कुरा चलाएपछि लाज मानेर पनि भएको थिएन ।

बल्ल बल्ल दस रुपियाँ खुस्काएर आफ्नो बाटो लिएँ ।
त्यसै दिन हाटको दिन थियो, सुकवार, यसैले बजार गएर कैयाँको दस तिरेर अरु उधारो माग्ने विचारले बजारतिर लागें ।

जाँदै थिएँ, दोबाटामा एउटा पसल थियो । त्यसमा एउटी आइमाई के–के किन्दै गरेकी देखें, ठिक मेरी श्रीमती जस्तै सारी लाएकी । को रहिछे भनेर यसो चियाएको त ससुराली घरकै छेउकी मगर्नी रहिछ । उसको अवस्था यस्तै सत्र–अठार होला । उसको लोग्ने मलायामा भर्ती भएको थियो । राम्री थिई धिपिक्कै बलेकी । त्यही सारी मेरी श्रीमतीले लाउँदा कति नमिलेको भ्यातुल्ले देखिन्थ्यो, त्यही उसलाई कति सुहाएको, कति सपक्क लगाएकी !

भन्दाभन्दै उसलाई मैले एक छिन हेरिहालेंछु । भरे झसङ्ग भएर, हिंड्न खोज्दैथिएँ, उसले मतिर हेरेर हाँस्तै भनिहाली– “एक छिन पर्खनोस् न भिना, म पनि बजारै जाने ।”

म सन्सारलाई तुच्छ सम्झने वैरागी ता थिइनँ । त्यस्ती युवतीलाई सालीको रूपमा सँगै लिएर हिंड्नपाउनु आफ्नो अहोभाग्य सम्झें । एक छिनमा ऊ आई । “साली पनि बजारै हिंड्नुभा’को ?” मैले कटाक्ष गर्दै बोल्ने मेलो फेरि ल्याएँ । “अँ भिना ! सँगै जाऊँ !” उसले भनी । म खुसीले फुलेर त्यो सानो पहाडको बाटोमा अटाउन छोडें ।

एक छिनमा उसले भनी– “भिनासँग एउटा कुरा भन्नुथियो र पो !”

“के कुरा भन्नोस् न !” म सुन्न उत्सुकिएँ ।

“साँल्दीले (मतलब मेरी श्रमतीले) अलिकति रुपियाँ दिनुथियो । दसैंसम्ममा तिम्रो भिनाले दिनुहुन्छ भन्थिन् ।”

मानूँ म हावाको भुँवरीभित्र एक्कासि परें । नारान् ! कहाँबाट यो फेरि आइलाग्यो ! मैले छक्क पर्दै सोधें– “कहिलेको ?”

“अस्तिनि, तीजमा म कैंयाँकोमा सारी किन्दै थिएँ, साँल्दी आइछन् र एउटा सारी मलाई पनि गराइदेउ भनिन् । अनि मेरै जस्तो सारी दस रुपियाँमा उधारो गराइदिएँ । आज कैयाँले माग्छ होला । के तपाईंलाई भनेको थिएन ?”

“भनेको थियो मैले पो बिर्सिएथें” मैले आफ्नो भावलाई लुकाउने प्रयत्न गर्दै भनें र गोजीबाट दस रुपियाँको नोट झिकेर उसका हातमा राखिदिएँ । अलिक पर पुगेपछि बिसाउने निहुँ गरेर उसलाई अघि पठाएँ अनि एक छिनमा घरतिरको बाटो लिएर सुइँकुच्चा ठोकें । यतिखेर मेरो सास पनि निक्कै बढेको थियो, अनि चिउँडाको दारीबाट शिवजीका जटाबाट गङ्गा झरेझैं पसिना चुहुँदै थियो ।
ooo

No comments:

Post a Comment