Sunday, July 9, 2023

डा.कृष्णराज अधिकारी

 



 कथा 

उसले नखाएको भोज




“हैन, यहाँ त बिहे रैछ कि क्या हो कान्छी ! पुसमासा बिहे त हुनु नपर्ने हगि ?” तरकारी बजार (मन्डी)बाट काउली, ब्रोकाउली र गाजर खरिद गरी डोकोमा बोकेर विक्रीका लागि भित्री बजारका घर–घर सोध्दै हिँडिरहेकी सेती नेपालीले बाटोमा पर्ने एउटा ठुलो र भव्य घरभित्रको चहलपहल र गेटमा ब्यानरसमेत टाँस्नलागेको देखेपछि सँगै आएकी साथी पुतलीसँग सोधी ।
तरकारीको गह्रौं डोको बोकेर हिँडेका उनीहरूलाई मुन्टो उठाएर माथि ब्यानरतिर हेर्न अप्ठेरो भयो । अलि छड्के गरेर भएपनि सेतीले टाँस्न लागेको ब्यानरतिर हेरी । सुन्दर फ्लेक्स प्रिन्टको बीचमा एउटा झ्यापुल्ले खैरे कुकुर माला लगाएर ठाँटसँग बसेजस्तो लाग्यो । राम्ररी ठम्याउन नपाउँदै बाँध्दै गरेको ब्यानरको एकातिरको डोरी खसेकाले तस्विर छोपिन पुग्यो । ऊ केही भ्रममा परी । अन्यथा हुन जाला भनेर उसले आफूले देखेको तस्विरको कुरो पुतलीलाई समेत भन्न सकिन ।
पुतलीले भनी— “खै, बिहे नै त होला । हिजोआज के पुस, के साउन जैले पनि गर्छन् । बाहिर बसेर छुट्टीमा आएको केटालाई काँ को लगनसगन कुर्ने टायम हुन्छ र ? जैले मेसो प¥यो तैले ग¥यो ।”
गेटको मुखैमा पुगेपछि तिनले टक्क अडिएर भित्रतिर हेरे । गाडी भित्र–बाहिर गरिरहनुपर्ने भएर होला आज गेट खुलै थियो । सेती र पुतलीले पहिलोपटक गेटभित्र देखे— हरियो गलैंचा जस्तो चाइनिज दुबो, विभिन्न थरि फूल र रुख–विरुवाहरू भएको सुन्दर बगैंचा । छेउतिर पार्किङ गरिएका चिल्ला गाडी भएको घरको सुन्दर परिसर ! भित्र केही मानिसहरूको चहलपहल थियो । टेन्ट टाँग्ने र कुर्सी मिलाउने काम हुँदैथियो । तरकारी पक्कै राख्छन् भन्ने विश्वास लागेपछि गेटबाट केही पाइला भित्र छिरेर सेतीले सोधी—“तरकारी राख्नुहुन्छ ? ताजा, आजै टिपेर ल्याएको ।”
भित्रतिर सारेबारे गरिरहेको एकजनाले अलि परैबाट हातले इसारा गर्दै भन्यो—“राख्दैन, बिहानै ल्याइसक्यो ।”
तिनीहरूको आशा तुरुन्तै निराशामा परिणत भयो । तैपनि एकैछिन अडिएर गेटभित्रको परिवेशलाई सरसर्ती हेरे अनि फरक्क फर्किएर हिँडे ।
“कस्ले बनाएको रैछ यस्तो नयाँ डिजाइनको घर ? यहीँका मान्छेको त हैन होला ! कोही बाहिर बसेर आएकोले बनाएको हो कि ?”—अगाडि हिँड्दै पुतलीले भनी ।
“यहाँका स्थानीयले के बनाउन सक्थे यस्तो घर । हेरन, वरपरका अरु घर कस्ता छन् । विदेशै बसेर आएकाले पनि यस्तो त बनाउन सक्दैनन् । बाहिर हेर्दै दरबार जस्तो छ, अझ भित्र कस्तो होला । बरु काठमाडौंतिरको कोही नेता–सेताको होला ।”—सेतीले प्रतिक्रिया जनाई ।
“बिदेश गएको भनेर के गर्ने दिदी ? उता जापान, अमेरिकातिर गएकाले त राम्रै कमाउँछन् अरे, तर हाम्रा जस्ता साउदी गएकाले के को कमाउनु । दिनभरि चर्कोघाममा सिमन्टीका बोरा बोक्दा–बोक्दा काँध दुःखेर बेलुका सुत्नै गाह्रो हुन्छ भन्छन् दुर्गीका बा । जति हुन्छ हुन्छ, ओभरट्याम नगर भन्यो मान्दैनन् । ओभरट्याम नगर्ने हो भने पैसै हुँदैन भन्छन् । ड्युटी सकिएपछि पनि तीन चार घन्टा ओभरट्याम गर्दा रैछन् । त्यति गर्दा पनि अझै रिन तिरेर सकिएको छैन ।”— पुतलीले आफ्नो व्यथा सुनाई ।
“हाम्रा त झन् बिरामी भएर दुई बर्षमै फर्केर आए । अझै जान खोज्दैछन् । हेरन, त्यै ब्लकको छाप्रो पनि प्लास्टर गर्न नसकेर अलपत्रै छ । रातभरि चिसोले निदाउनै सकिन्न । त्यै चिसै लागेर त होला नि कान्छी छोरी निमोनिया भएर बितेकी । दुईचार पैसा हुन्छ कि भनेर यो चीसोमा तरकारीको डोको लिएर हिँड्यो, कहिलेकाहीँ अलिअलि भैहाल्छ, कहिले त नबिकेर खरिद गरेभन्दा नि सस्तोमा मिल्काएर हिँड्नुपर्छ ।”—सेतीले पनि आफ्नो समस्या भनी ।
“काउली कसरी हो ?” नजिकैको गेटबाट एकजना अधबैंसे महिलाले सोधेपछि दुबै त्यहाँ पुगे । पुतली र सेती सँगै हिँडेपनि छुट्टा छुट्टै तरकारी बोकेका हुन्थे । आज पुतलीले बन्दा, साग र मुला बोकेकी थिई भने सेतीले काउली, ब्रोकाउली र गाजर ल्याएकी थिई । एउटीकोे डोको खाली हुनासाथ अर्कीको सामान राखेर बिक्री गर्थे र दुवैको सामान सकिएपछि मात्र घर जान्थे । कहिले त दिनभरि डुल्दा पनि नबिकेर हैरान हुन्थे अनि चिया र डोनट खाएर भातको भोक मेट्थे । बिहानै निस्केका उनीहरू घरपुग्दा बाह्र–एक बज्थ्यो । अझ कहिले त दुई–तीनसम्म बज्थ्यो ।
“काउली साठी रुपयाँ, ब्रोकाउली सत्तरी, बन्दा चालिस रुपयाँ किलो, साग मुठाको पचास ।”—सेतीले सरसर्ती तरकारीको भाउ बताई । किन्ने मनसाय बुझेपछि दुवैले गेटबाहिरको पेटीमा भारी बिसाए ।
किलोमा पाँच रुपयाँ घटाइदिएपछि महिलाले दुईकिलो काउली र एकमुठा साग किनी ।
“ऊ त्यो देखिएको ठूलो घरमा आज पार्टी छ, त्यहाँ जानोस्न राख्छ होला ।” महिलाले उनीहरूप्रति सहानुभूति राख्दै उनीहरू फर्केर आएकै घरतिर देखाउँदै भनी ।
“बिहानै ल्याइसक्यौं भने, राखेनन् । यतातिर त पुसमा नि बिहे हुने रैछ हगि दिदी ?” सेतीले ती महिलासँग सोधी ।
“कहाँको बिहे हुनु ! बड्डे अरे । त्यो पनि मान्छेको हो र ? घरमा पालेको कुकुरको अरे । त्यसैको पार्टी भनेर हाम्लाई पनि बोलाछन् । नगए, ठुलामान्छे रिसाउन्, नातिलाई पठाइदिनुपर्ला । चलन पनि कस्तो कस्तो आयो, आफूले त जन्मदिन पनि थाहा पाइएन, छोराछोरीको पनि कहिल्यैै जन्मदिन मनाइएन । सबैको देखासिकी गरेर होला अहिले नातिनातिनाले बड्डेको रहर गर्छन् र उनीहरूले नै केक ल्याएर काटिदिन्छन् । पर्दैन, नगर भन्यो, मान्दैनन् ।”
कुकुरको पनि बर्थ डे !? महिलाको कुरा सुनेर दुवैजना स्तब्ध भए । सेतीले अघि आफूले झुलुक्क देखेर पनि भन्न नसकेको ब्यानरको तस्विर सम्झी ।
“ए ! हामीले त बिहे होला भन्ठानेका, बड्डे पो रहेछ ! अनि, कहाँका मान्छेले बनाएका हुन् नि त्यस्तो दरवार जस्तो घर ? के काम गर्ने हुन् ?”—पुतलीले सोधी ।
“त्यैं हरिचौरको मान्छे हो नि हुनत । पहिला खान–लाउनकै दुःख थियो । पार्टीतिर लाग्यो, ठेक्कापट्टा, जग्गा दलाली, दुई नंबरी धन्दा के के ग¥यो–ग¥यो । पहिला एक–दुईपटक त थुनिएको पनि हो । पछि खै कसरी हो बेसरी पैसा कमायो, सांसद–मन्त्री के के भयो । जग्गा त धेरैतिर लिएको छ भन्छन् । बस्नचाहिँ कहिले काठमाडौं, कहिले यता गर्छ । काठमाडौंमा पनि अर्की राखेको छ भन्छन्, खै के हो थाहा छैन । हामीलाई थाहा पाउन पनि परेन ।”
सेती र पुतलीले के के सोचे कुन्नि, एकछिनसम्म स्तब्ध रहे । ठुला मान्छे र ठुलो घरप्रति भत्किँदै गरेको आस्था र सम्मान उनको कुराले पूरै भत्किएर आफैंलाई अँठ्याउन आएझैं भयो । तिनले आफ्नै गाउँका ठुला भनिने मान्छेहरूलाई सम्झे— सबैजसो फटाहा, भ्रष्ट, अनैतिक र वेइमान ।
तीन रोपनी जग्गामा चार बर्ष अघि बनेको उक्त घर वरपरका अन्य घरहरूभन्दा निकै भव्य र आकर्षक देखिन्थ्यो । पहिला–पहिलाको समय हुन्थ्यो भने त्यसलाई घर नभनेर महल वा दरवार भन्नुपर्ने हुन्थ्यो । वरपर अग्लो पर्खाल लगाइएको भएपनि विशेष रङ र ढाँचाको भएकाले उक्त घरले बाटो हिँड्ने सबैलाई आकर्षित गथ्र्यो । तीन तले घरको बीचको बरण्डामा खैरो झ्यापुल्ले कुकुर बाटोतिर हेरेर बसिरहेको देखिन्थ्यो । पाहुनाहरू पनि हेर्दै खाइलाग्दा, सुकिला–मुकिलाहरू मात्रै आउने भएर होला कोही नयाँ पाहुना भित्र आएको देख्दा पनि भुक्दैनथ्यो । भुक्नु पाहुनाप्रतिको अनादर हो भन्ने बुझेर हो कि टन्न अघाएर भुक्नै नसक्ने भएर हो पुच्छर हल्लाउने बाहेक अरु प्रतिक्रिया जनाउँदैनथ्यो । ऊ हतपती भुक्दैनथ्यो वा भुकेको सुनिदैनथ्यो । त्यस घरमा आउने अलि झुत्रे–झाम्रे वा सामान्य लाग्ने मानिस भनेका घर सफा गर्ने र पुछ्ने महिला, बगैंचा गोडमेल गर्ने माली, भाँडा माझ्ने र कपडा धुने महिला अनि ड्राइभर मात्र थिए । तिनीहरू नियमित आउने भएकाले चिनेरै होला तिनीहरू आउँदा पनि वास्ता गर्दैनथ्यो । ती बाहेक अन्य सामान्य मानिसहरू त्यहाँ विरलै आउने गर्थे ।
“ए सन्तु ! जोनीले आज के खायो ?” घरमा काम गर्ने सन्तुमायातिर हेरेर चर्को स्वरमा घरमालिक भक्तराजले सोधे । दुई बर्ष भयो सन्तुमाया तामाङले त्यस घरमा काम गर्न थालेको । घर–परिवारका लुगाहरू धुने र जुठा भाँडा माझ्ने उसको मुख्य काम भएपनि लाए–अह्राएका अन्य कामहरू पनि गर्थी । भक्तराजकी श्रीमतीले आफूले एक–दुई पटक लगाएका तर मन नपरेका कपडा र चप्पलहरू एसलाई दिने गर्थी । बिहानै आउँथी, बेलुकीका जुठा भाँडा माझ्थी अनि धुने कपडाहरू कुनै हलुका धोएर वासिङ मेसिनमा हालिदिन्थी भने कुनै साबुनले घोटेरै धुने गर्दथी । अनि नौ बज्दा–नबज्दै हतार गरेर हिँड्थी अर्को घरमा काम गर्न । अनि बाह्र बजेतिर आएर पुनः बिहानका भाँडा माझ्ने र कपडा सुकाउने वा उठाउने गर्दथी । त्यस बाहेक बेला–बेलामा कुकुरको पनि स्याहार गर्नुपर्दथ्यो । आज भने उसलाई बिहानैदेखि काम गर्न र यहीँ खाना खाने भनेर बोलाइएको थियो । आज उसले दुई बर्षकी छोरी पनि सँगै लिएर आएकी थिई । ऊ आमाको पछि पछि हिँडेर आमाले गरेका सबै गतिविधि हेरिरहेकी थिई ।
“दिउँसो दूध र विस्कुट खाएको हो । अब फलफूल काटेर दिनेहोला”—सन्तुुले भनी । बढी भुक्ने, टोक्ने अनि भनेको नटेर्ने हुन्छ भनेर नै जोनीलाई पहिल्यैबाट मासु दिनबाट बञ्चित गरिएको थियो । अर्थात् साकाहारी बनाइएको थियो, ‘घर सुहाउँदो भद्र’ बनाउन ।
“ल, ल माथि आमालाई भनेर दिइहाल । फलफूल खाएन भने अस्ति मैले बाहिरबाट ल्याएको त्यस्ले मन पराउने बिस्कुट र बदाम छ, त्यै देऊ ।”
सन्तुमाया भ¥याङ उक्लेर माथि गई र भक्तराजकी श्रीमती सरितासँग जोनीका लागि फलफूल मागी । “ल, कति खान्छ काटेर देऊ ।”—सरिताले फुजी स्याउ, पूरै गलिनसकेको मेवा र खरबुजा ल्याएर दिई । अत्यन्त सोझी र इमानदार तामाङी सन्तुमायाप्रति सरिताको पनि पूरै विश्वास थियो । आमासँग पछिलाएर आएकी सन्तुमायाकी छोरी आमाको कुर्ताको फेरो समाउँदै पछि पछि आइरहेकी थिई । सुनिताले एउटा स्याउ अनि खरबुजा र मेवाका स–साना चिरा निकालेर बोक्रा फाली टुक्रा पारेर जोनीले खाने गरेको भाँडोमा राखिदिई । छोरीले ती फलफूललाई काटेबाट कुकुरलाई दिइन्जेल निकै गढेर हेरिरही । केही बोल्न र भन्न सकिन । न आमाले कुकुरलाई दिनुअघि एकदुई टुक्रा फलफूल छोरीलाई दिन सकी न त उसले नै माग्न सकी । ऊ घरि कुकुरले खान लागेको फलफूलतिर त घरि आमातिर हेर्दै आँखाले मात्रै खाइरही । जोनीले उसले दिएका फलफूलमध्ये केही टुक्रा मात्र खायो, सबै खाएन । कुकुरले फालेको फलफूललाई सन्तुकी छोरीले हेरिरही ।
मानिसहरू आउने क्रम सुरु भएको थियो । सबैजसो आगन्तुकहरूले हातमा फूलका माला वा पुष्पगुच्छासहित विभिन्न उपहारहरू लिएर आएका थिए । घरको सामुन्ने पर्नेगरी कुर्सीहरू मिलाएर राखिएको थियो भने अगाडि तीनवटा सोफा राखिएको थियो । सोफाको अघि लामो टेबुल राखिएको थियो । सोफाको दायाँ र वायाँतिर सन्मुख हुने गरी विशिष्ट पाहुनाहरूका लागि फोमवाला छुट्टै कुर्सीहरू राखिएका थिए । कुर्सीहरू राखेभन्दा केही पर बायाँपट्टि पारेर क्याटरिङले खानपिनको सबै व्यवस्था मिलाइसकेको थियो ।
भक्तराजकी छोरी रञ्जूले जोनीलाई काखमा राखेर ल्याई र बाबुले भनेअनुसार उसलाई बीचको सोफामा राखी ।
“तिमीहरू त्यहीँ जोनीको आडमा बस ।”— भक्तराजले छोराछोरीलाई निर्देशन दिए । रञ्जू जोनीसँगैको सोफामा बसेर उसलाई के के भनेर पुल्पुल्याउँदै मुसारिहेकी थिई । जोनी आफ्नो रातो लामो जिब्रो बाहिर निकालेर वरपर कुर्सीमा बस्ने सबैलाई मुन्टो फर्काइ–फर्काइ नियालिरहेको थियो । उसलाई आज भइरहेको गतिविधि बारे कुनै ज्ञान नभएपनि सबैकुरा थाहा पाएजस्तै गरी आफू सभापति भएझैं गरी ज्ञानी र भद्र बनेर बडो ठाँटसँग बसेको थियो ।
पाहुनामध्ये एकजनाले भन्यो– “अव सुरु गर्दै गर्ने कि हजुर ? टाइम पनि भयो ।” अरु तीन–चार जनाले उसको भनाइमा समर्थन जनाए ।
भक्तराजले आफ्नो सहयोगीलाई भन्यो—“ल ल, के के चाहिने हो सामानहरू ल्याउँदै गर । ल गुरु, के के गर्नुपर्छ सिकाउनुहोस् । पहिला तपाईंको विधि गर्नोस्, अनि हामी गरौंला ।”
भक्तराजको घरमा पूजाआजा पर्र्दा आउने गरेको स्थानीय पुरोहित अघि स¥यो । उसले दियो बाल्यो, एउटा करुवामा पानी भरेर केही फूल राखी कलस बनायो अनि एउटा कचौरामा चामल भरेर त्यसमाथि कुशको गणेश स्थापना ग¥यो । अनि संस्कृतका प्रचलित पूजा–श्लोकहरू भन्दै भक्तराजलाई तिनको पूजा गर्न लगायो । प्लेटमा पैसा राख्न लगाएर गौदान गरायो । नमस्कार गर्ने बेलामा जोनीलाई पनि नमस्कार गर्न लगायो । पहिल्यैबाट अगाडिका दुईवटा खुट्टा माथि उचालेर जोड्न सिकाइएको हुनाले उसले त्यसै ग¥यो । त्यसलाई अरुले नमस्कारको अर्थमा लिने गर्दथे । जोनीले दियो, कलस, गणेश सबैलाई नमस्कार गरेको अर्थमा बुझेर सबै खुसी भए । पुरोहितले पहिला भक्तराजलाई र त्यसपछि जोनीलाई टीका लगाइदिए । जोनीका लागि किनेर ल्याएको माला पनि उनैले लगाइदिए । प्रसाद भनेर दिएको केरा भने खाएन, सुँघेर छाडिदियो । त्यसपछि पुरोहितले परिवारका सदस्य र आगन्तुकहरूलाई समेत टीका लगाइदिए अनि मोटो दक्षिणा हात पारे ।
उता दुर्गी पनि घर पुछ्नेदेखि अरु सरसफाइको काम भ्याएर आफ्नो कोठातिर गएर पनि फर्किसकेकी थिई । लोग्ने मलेसिया गएपछि ऊ यस घरमा सरसफाइको काम गर्न आउन थालेकी थिई । दिनभर डोकोमा तरकारी बेचेर फर्केकी उसकी आमा पुतली पनि आज दिक्क लागेर होला घर नगएर बाटोमा पर्ने छोरीको कोठातिर सोझिएकी थिई । घरमा काम गर्ने सबैलाई आज त्यहीँ खाना खान भनिएकाले अलि मिठो खान पाउलान् भनेर होला दुर्गीले आफूहरूलाई खाना नपकाउन भन्दै आफ्ना दुई बच्चाहरूलाई पनि सँगै लिएर आएकी थिई । ऊ छेउको अम्बाको रुखको आड लिएर अचम्म मान्दै बड्डे कर्म हेरिरहेकी थिई ।
“ल, अव हाम्रो काम सुरु गरौं ।”—भक्तराजलाई नजिकको कोही आफन्तले भन्यो ।
“पाहुनाहरू सबैजसो आइसक्नुभयो अव सुरु गर्ने हो । ए ललित ! जाऊ त सामानहरू लिएर आऊ ।”— भक्तराजले ड्राइभरलाई अह्रायो ।
साँझ पर्न लागेको थियो । ठाउँ–ठाउँका जडिएका विभिन्न रङका प्रकाश छर्ने बत्ति एकाएक चमचमाउन थाले । घरको परिसर झनै मोहक देखिन पुग्यो ।
टेबुलमा विशाल केक र छवटा मैनबत्ति खडा गरियो । केकमा अङ्ग्रेजीमा ‘ह्याप्पी बर्थडे–जोनी’ अनि तल छको अङक लेखिएको थियो ।
“आजभन्दा पाँचबर्षअघि बेलायतमा जन्मेको मेरो प्यारो जोनी आज पाँच पूरा भएर छैटौं बर्षमा लाग्यो । यसैले आज उसको छैटौं बर्थडे हो । प्यारो जोनीलाई जन्मदिनको धेरै धेरै शुभकामना ! म र मेरो परिवार जोनीको बर्थ डेमा उपस्थित सबै मान्यजन, पार्टीका साथीहरू र सबै पाहुनाहरूलाई हार्दिक स्वागत गर्दछौं । बर्थडे केक खाएपछि हामी सबै पार्टीमा सहभागी हुनेछौं, धन्यवाद ।”—भक्तराजको सम्बोधनपछि सबैले ताली बजाए । छोरी रञ्जूले छवटा मैनबत्ति बाली र पाँचवटा निभाउँदै भनी—“ह्याप्पी बर्थ डे जोनी !”
सबैले ‘ह्याप्पी बर्थ डे जोनी’ भन्दै परर्र ताली लगाए । उसले केक काटेर एक टुक्रा जोनीलाई खुवाउन खोजी तर खान नमानेपछि मुखभरि केक दलिदिई । त्यसपछि भाइ, बाबा, आमा गर्दै सबैले जोनीलाई फूल–माला पहि¥याउँदै र खानेकुरा राखिदिँदै ‘ह्यापी बर्थ डे जोनी !’ भन्दै अघि बढ्न थाले । जोनीलाई ल्याइएको उपहारको राश लाग्यो । किलिक् किलिक् फोटाहरू खिँचिए । जोनीसँग बसेर धेरैले फोटो खिँचे । त्यो सबै चाँजोपाँजो रञ्जूले नै गरी ।
प्रसादका रुपमा सबैलाई केक र मिठाइ बाँडेपछि पार्टीको सुरुवात भयो ।
“आज त जोनीको विशेष दिन हो । उसलाई पहिला खुवाएर मात्र हामीले खाने हो ।” एकजना पार्टी कार्यकर्ता जस्तो लाग्ने व्यक्तिले भक्तराजको साखुल्य हुँदै भन्यो ।
“हो, हो । ठीक कुरा हो । पहिला जोनीलाई खुवाउनु पर्छ ।”— अरु दुई–चार जनाले हो मा हो मिलाएपछि जोनीलाई लिएर रञ्जू अघि बढी । उसले एकटुक्रा प्राउन खायो, अरुतिर हेर्दै हेरेन ।
“यसलाई आज खरो भएको होला, बियर खान्छ कि ?”—एउटाले केही व्यङ्यसहित भन्यो ।
“हैन, यस्तो चिसोमा के को बियर ? थोरै ह्विस्की खुवाउनु पर्छ । चिसो लाग्यो होला, राम्रो गर्छ”— अर्कोले भन्यो ।
“कुनचाहिँ हो ह्विस्की ?”—गिलासमा खन्याएर राखिएका विभिन्न थरि रक्सीका किस्तीतिर देखाउँदै रञ्जूको भाइले सोध्यो । ह्विस्कीको गिलास देखाइदिएपछि उसले उक्त गिलास उठाएर जोनीको मुखतिर लगिदियो । जोनीले टाढैबाट गन्ध थाहा पाएकाले मुन्टो फर्कायो । उसले गिलास ढल्काएर जवरजस्ती जोनीको मुखमा झोसिदियो । मुखभित्र थोपोसम्म नपरेपनि जवरजस्ती नाकसम्म डुबाएर भिजाइदियो ।
पाहुनाहरू कोही रक्सीका गिलास र अन्य स्न्याक्सहरू लिइरहेका थिए भने कोही सीधै खानातिर लागेका थिए ।
दुर्गी र उसका बच्चाहरू वरवर सर्दै पार्टीको नजिकतिर जान खोज्दै थिए र आमाले तानेर रोक्दै थिई । सँगै काम गर्ने उस्तै अवस्थाका भएकाले होला दुर्गीलाई देखेपछि सन्तुमाया पनि छोरीलाई लिएर दुर्गीको नजिक आई । उनीहरूले आपसमा सुस्त–सुस्त कुरा गरे ।
“सन्तु दिदी आउनोस्, केक लैजानोस् ।”—आफ्नो व्यक्तिगत कामसमेत गरिदिने र मिजासिलो स्वभावकी भएर होला रञ्जूले सन्तुप्रति माया देखाई । सन्तुले दुर्गीलाई पनि लगी । रञ्जूले दुईभाग ल्याएर तिनीहरूलाई दिई । तिनले आफूले यसो चाखेझैं गरी बच्चाहरूलाई दिए ।
केक खाएपछि दुर्गीको सात बर्षे छोरोले मिठो मुख गर्दै सोध्यो—“आमा, के को पाटी हो ?”
उसकी कान्छी छोरी र सन्तुकी छोरीले पनि जवाफ खोजेझैं गरी दुर्गीको मुखतिर हेरे । दुर्गीले जवाफ दिन नपाउँदै सन्तुले भनी—“आज जोनीको बड्डे अरे । त्यसैको पाटी हो क्या !”
“खै, को हो त जोनी ? मैले त देख्नै पाइन ।”—उसले उसैगरी जिज्ञासा राख्यो ।
“अघि माला लाएर सोफामा बसेको देखिनस् ? त्यसैको हो क्या ।”—आमाले उसलाई शान्त पार्न खोजिन् ।
“त्यो त कुकुर हैन र ?”—उसले आश्चर्य मान्दै सोध्यो ।
“हो, हो । कुकुर भन्न हुँदैन क्या, जोनी भन्नुपर्छ ।”—सन्तुमायाले भनी ।
“नाम जे भनेनि कुकुर त हो नि । अनि, कुकुरको नि बड्डे मनाउँछन् त ? हामी मान्छेको त मनाउँदैनौं हगि ?”
“ठुला घरका ठुला मान्छेले क–कसको केके मनाउँछन् मनाउँछन् । चुप लाग् । धेरै बोल्न हुन्न, उता सुन्छन् ।”—दुर्गीले हप्काएझैं गरी ।
+ + +
धेरैजसो पाहुनाहरू गइसकेका थिए भने बाँकी रहेका अधिकांश पाहुना गिलासको चुस्कीसँगै गफिइरहेका थिए । घरका सबै परिवारले खाएपछि र बच्चाहरूले अत्याएपछि सन्तु र दुर्गी पनि खाना खान गए । छोरी सानी भएकीले आफ्नै भागबाट अलिअलि खुवाए भैहाल्छ भनी सन्तुले छोरीका लागि छुट्टै भाग लिइन । दुर्गीले पनि कान्छी छोरी र आफ्नालागि एउटै प्लेट लिई र छोरालाई अर्को प्लेट दिई । तर उसले मुन्टो हल्लायो, लिन मानेन ।
“किन ? म झिकिदिन्छु के !”
“नाइँ, म खान्न, बैनी र तपाईँ खानोस् ।”
“किन ? के भयो फेरि ? जे जे मन पर्छ त्यै मात्रै खालास् । सबै कुरा खानुपर्दैन के !”
“नाइँ, मलाई खानै मन छैन । तपाईं खानोस्, म उता गएर बस्छु ।” ऊ अलि परको कुर्सीमा गएर बस्यो ।
आमाले र पछि सन्तुमायाले पनि निकै कर गरे, फकाए । तर ऊ मानेन, त्यसै फर्कियो ।

+ + +
छोराछोरीलाई उतै खाना खुवाउने भनेर आमालाई खाना नपकाउनु भनेर आएकी दुर्गी छोराले खाना खान नमानेपछि साह्रै दुःखी बनी । कोठामा फर्किँदा नौ बज्न लागेको थियोे । कोठामा आमा खाना खाएर सुतिसकेकी थिइन् । दुर्गीले आमालाई उठाई ।
”खाना खाएर सुत्नुभएको हो ?”
“अँ, आज त तरकारी बेच्न पनि दिनभरि लाग्यो । भोक पनि लागेको थियो, तिमीहरूले उतै खाएर आउने भन्यौ, त्यै भएर दुईमुठी चामल पकाएर खाएँ र भर्खर सुतेकी । ढिलो पो ग¥यौ त ! कतिटाढा हो र ?” आमाले सोधिन् ।
“त्यैं रत्नपुरचोक भन्दा अलि तल ।”
“त्यै नयाँ बनाएको सेतो ठुलो घर त होइन ? त्यहाँ त कुकुरको बड्डे मनाउने भनेर धुमधाम गरेका थिए । तरकारी किन्छन् कि भनेर गएका, किनेनन् । हेर्दै दरबार जस्तो थियो घर पनि ।”
“ए ! तपाईं पुग्नुभा’थ्यो ? त्यहीँ त हो नि पार्टी भएको, त्यैं त हो नि मैले काम गर्ने । अनि आमा, थोरै भात रहेको छैन ? यो सोवितेले केही खाएन, भोकै आएको छ ।” दुर्गिले भनी ।
“किन नखाइआएको बाबु ? जे खाए पनि पाइने, त्यत्रो ठुलो भोजमा गएर पनि भोकै आउने हो ? के भयो र खाइनस् ?”—हजुरआमा पुतलीले सोधी ।
“खै, कुकुरको बड्डे भनिदिएपछि के भयो भयो यसलाई ।”—दुर्गीले भनी ।
“सुन्दाखेरि म पनि दङ्गै परेकी हुँ । तर, कुकुरको के दोष ! विचरा उसलाई बड्डे–सड्डे के थाहा ! केही बुझ्ने होइन । बरु कुकुरको बड्डे मनाउने नाउँमा आफ्नो सम्पत्ति र रवाफ देखाउने पो खराब हुन् । मैले सबै सुनें, त्यो घरको मालिक त अर्कालाई ठगेर, लुटेर, चुसेर र मारेर ठुलो मानिस भएको रहेछ । धेरै धन–सम्पत्ति कमाएर ठुलै नेता भएको रहेछ । म भए पनि खाने थिइन त्यस्ताको भोज । ठिकै गरेछ नातिले । मैले खाएर रहेको थोरै भात छ, त्यही तताएर देऊ, विचरालाई भोकै नसुताऊ ।”
हजुरआमाको कुरा सुनेर नातिको अनुहार भोज खाएभन्दा बढी प्रशन्न देखियो ।


000

No comments:

Post a Comment