Sunday, July 9, 2023

डा.कृष्णराज अधिकारी

 



 कथा 

उसले नखाएको भोज




“हैन, यहाँ त बिहे रैछ कि क्या हो कान्छी ! पुसमासा बिहे त हुनु नपर्ने हगि ?” तरकारी बजार (मन्डी)बाट काउली, ब्रोकाउली र गाजर खरिद गरी डोकोमा बोकेर विक्रीका लागि भित्री बजारका घर–घर सोध्दै हिँडिरहेकी सेती नेपालीले बाटोमा पर्ने एउटा ठुलो र भव्य घरभित्रको चहलपहल र गेटमा ब्यानरसमेत टाँस्नलागेको देखेपछि सँगै आएकी साथी पुतलीसँग सोधी ।
तरकारीको गह्रौं डोको बोकेर हिँडेका उनीहरूलाई मुन्टो उठाएर माथि ब्यानरतिर हेर्न अप्ठेरो भयो । अलि छड्के गरेर भएपनि सेतीले टाँस्न लागेको ब्यानरतिर हेरी । सुन्दर फ्लेक्स प्रिन्टको बीचमा एउटा झ्यापुल्ले खैरे कुकुर माला लगाएर ठाँटसँग बसेजस्तो लाग्यो । राम्ररी ठम्याउन नपाउँदै बाँध्दै गरेको ब्यानरको एकातिरको डोरी खसेकाले तस्विर छोपिन पुग्यो । ऊ केही भ्रममा परी । अन्यथा हुन जाला भनेर उसले आफूले देखेको तस्विरको कुरो पुतलीलाई समेत भन्न सकिन ।
पुतलीले भनी— “खै, बिहे नै त होला । हिजोआज के पुस, के साउन जैले पनि गर्छन् । बाहिर बसेर छुट्टीमा आएको केटालाई काँ को लगनसगन कुर्ने टायम हुन्छ र ? जैले मेसो प¥यो तैले ग¥यो ।”
गेटको मुखैमा पुगेपछि तिनले टक्क अडिएर भित्रतिर हेरे । गाडी भित्र–बाहिर गरिरहनुपर्ने भएर होला आज गेट खुलै थियो । सेती र पुतलीले पहिलोपटक गेटभित्र देखे— हरियो गलैंचा जस्तो चाइनिज दुबो, विभिन्न थरि फूल र रुख–विरुवाहरू भएको सुन्दर बगैंचा । छेउतिर पार्किङ गरिएका चिल्ला गाडी भएको घरको सुन्दर परिसर ! भित्र केही मानिसहरूको चहलपहल थियो । टेन्ट टाँग्ने र कुर्सी मिलाउने काम हुँदैथियो । तरकारी पक्कै राख्छन् भन्ने विश्वास लागेपछि गेटबाट केही पाइला भित्र छिरेर सेतीले सोधी—“तरकारी राख्नुहुन्छ ? ताजा, आजै टिपेर ल्याएको ।”
भित्रतिर सारेबारे गरिरहेको एकजनाले अलि परैबाट हातले इसारा गर्दै भन्यो—“राख्दैन, बिहानै ल्याइसक्यो ।”
तिनीहरूको आशा तुरुन्तै निराशामा परिणत भयो । तैपनि एकैछिन अडिएर गेटभित्रको परिवेशलाई सरसर्ती हेरे अनि फरक्क फर्किएर हिँडे ।
“कस्ले बनाएको रैछ यस्तो नयाँ डिजाइनको घर ? यहीँका मान्छेको त हैन होला ! कोही बाहिर बसेर आएकोले बनाएको हो कि ?”—अगाडि हिँड्दै पुतलीले भनी ।
“यहाँका स्थानीयले के बनाउन सक्थे यस्तो घर । हेरन, वरपरका अरु घर कस्ता छन् । विदेशै बसेर आएकाले पनि यस्तो त बनाउन सक्दैनन् । बाहिर हेर्दै दरबार जस्तो छ, अझ भित्र कस्तो होला । बरु काठमाडौंतिरको कोही नेता–सेताको होला ।”—सेतीले प्रतिक्रिया जनाई ।
“बिदेश गएको भनेर के गर्ने दिदी ? उता जापान, अमेरिकातिर गएकाले त राम्रै कमाउँछन् अरे, तर हाम्रा जस्ता साउदी गएकाले के को कमाउनु । दिनभरि चर्कोघाममा सिमन्टीका बोरा बोक्दा–बोक्दा काँध दुःखेर बेलुका सुत्नै गाह्रो हुन्छ भन्छन् दुर्गीका बा । जति हुन्छ हुन्छ, ओभरट्याम नगर भन्यो मान्दैनन् । ओभरट्याम नगर्ने हो भने पैसै हुँदैन भन्छन् । ड्युटी सकिएपछि पनि तीन चार घन्टा ओभरट्याम गर्दा रैछन् । त्यति गर्दा पनि अझै रिन तिरेर सकिएको छैन ।”— पुतलीले आफ्नो व्यथा सुनाई ।
“हाम्रा त झन् बिरामी भएर दुई बर्षमै फर्केर आए । अझै जान खोज्दैछन् । हेरन, त्यै ब्लकको छाप्रो पनि प्लास्टर गर्न नसकेर अलपत्रै छ । रातभरि चिसोले निदाउनै सकिन्न । त्यै चिसै लागेर त होला नि कान्छी छोरी निमोनिया भएर बितेकी । दुईचार पैसा हुन्छ कि भनेर यो चीसोमा तरकारीको डोको लिएर हिँड्यो, कहिलेकाहीँ अलिअलि भैहाल्छ, कहिले त नबिकेर खरिद गरेभन्दा नि सस्तोमा मिल्काएर हिँड्नुपर्छ ।”—सेतीले पनि आफ्नो समस्या भनी ।
“काउली कसरी हो ?” नजिकैको गेटबाट एकजना अधबैंसे महिलाले सोधेपछि दुबै त्यहाँ पुगे । पुतली र सेती सँगै हिँडेपनि छुट्टा छुट्टै तरकारी बोकेका हुन्थे । आज पुतलीले बन्दा, साग र मुला बोकेकी थिई भने सेतीले काउली, ब्रोकाउली र गाजर ल्याएकी थिई । एउटीकोे डोको खाली हुनासाथ अर्कीको सामान राखेर बिक्री गर्थे र दुवैको सामान सकिएपछि मात्र घर जान्थे । कहिले त दिनभरि डुल्दा पनि नबिकेर हैरान हुन्थे अनि चिया र डोनट खाएर भातको भोक मेट्थे । बिहानै निस्केका उनीहरू घरपुग्दा बाह्र–एक बज्थ्यो । अझ कहिले त दुई–तीनसम्म बज्थ्यो ।
“काउली साठी रुपयाँ, ब्रोकाउली सत्तरी, बन्दा चालिस रुपयाँ किलो, साग मुठाको पचास ।”—सेतीले सरसर्ती तरकारीको भाउ बताई । किन्ने मनसाय बुझेपछि दुवैले गेटबाहिरको पेटीमा भारी बिसाए ।
किलोमा पाँच रुपयाँ घटाइदिएपछि महिलाले दुईकिलो काउली र एकमुठा साग किनी ।
“ऊ त्यो देखिएको ठूलो घरमा आज पार्टी छ, त्यहाँ जानोस्न राख्छ होला ।” महिलाले उनीहरूप्रति सहानुभूति राख्दै उनीहरू फर्केर आएकै घरतिर देखाउँदै भनी ।
“बिहानै ल्याइसक्यौं भने, राखेनन् । यतातिर त पुसमा नि बिहे हुने रैछ हगि दिदी ?” सेतीले ती महिलासँग सोधी ।
“कहाँको बिहे हुनु ! बड्डे अरे । त्यो पनि मान्छेको हो र ? घरमा पालेको कुकुरको अरे । त्यसैको पार्टी भनेर हाम्लाई पनि बोलाछन् । नगए, ठुलामान्छे रिसाउन्, नातिलाई पठाइदिनुपर्ला । चलन पनि कस्तो कस्तो आयो, आफूले त जन्मदिन पनि थाहा पाइएन, छोराछोरीको पनि कहिल्यैै जन्मदिन मनाइएन । सबैको देखासिकी गरेर होला अहिले नातिनातिनाले बड्डेको रहर गर्छन् र उनीहरूले नै केक ल्याएर काटिदिन्छन् । पर्दैन, नगर भन्यो, मान्दैनन् ।”
कुकुरको पनि बर्थ डे !? महिलाको कुरा सुनेर दुवैजना स्तब्ध भए । सेतीले अघि आफूले झुलुक्क देखेर पनि भन्न नसकेको ब्यानरको तस्विर सम्झी ।
“ए ! हामीले त बिहे होला भन्ठानेका, बड्डे पो रहेछ ! अनि, कहाँका मान्छेले बनाएका हुन् नि त्यस्तो दरवार जस्तो घर ? के काम गर्ने हुन् ?”—पुतलीले सोधी ।
“त्यैं हरिचौरको मान्छे हो नि हुनत । पहिला खान–लाउनकै दुःख थियो । पार्टीतिर लाग्यो, ठेक्कापट्टा, जग्गा दलाली, दुई नंबरी धन्दा के के ग¥यो–ग¥यो । पहिला एक–दुईपटक त थुनिएको पनि हो । पछि खै कसरी हो बेसरी पैसा कमायो, सांसद–मन्त्री के के भयो । जग्गा त धेरैतिर लिएको छ भन्छन् । बस्नचाहिँ कहिले काठमाडौं, कहिले यता गर्छ । काठमाडौंमा पनि अर्की राखेको छ भन्छन्, खै के हो थाहा छैन । हामीलाई थाहा पाउन पनि परेन ।”
सेती र पुतलीले के के सोचे कुन्नि, एकछिनसम्म स्तब्ध रहे । ठुला मान्छे र ठुलो घरप्रति भत्किँदै गरेको आस्था र सम्मान उनको कुराले पूरै भत्किएर आफैंलाई अँठ्याउन आएझैं भयो । तिनले आफ्नै गाउँका ठुला भनिने मान्छेहरूलाई सम्झे— सबैजसो फटाहा, भ्रष्ट, अनैतिक र वेइमान ।
तीन रोपनी जग्गामा चार बर्ष अघि बनेको उक्त घर वरपरका अन्य घरहरूभन्दा निकै भव्य र आकर्षक देखिन्थ्यो । पहिला–पहिलाको समय हुन्थ्यो भने त्यसलाई घर नभनेर महल वा दरवार भन्नुपर्ने हुन्थ्यो । वरपर अग्लो पर्खाल लगाइएको भएपनि विशेष रङ र ढाँचाको भएकाले उक्त घरले बाटो हिँड्ने सबैलाई आकर्षित गथ्र्यो । तीन तले घरको बीचको बरण्डामा खैरो झ्यापुल्ले कुकुर बाटोतिर हेरेर बसिरहेको देखिन्थ्यो । पाहुनाहरू पनि हेर्दै खाइलाग्दा, सुकिला–मुकिलाहरू मात्रै आउने भएर होला कोही नयाँ पाहुना भित्र आएको देख्दा पनि भुक्दैनथ्यो । भुक्नु पाहुनाप्रतिको अनादर हो भन्ने बुझेर हो कि टन्न अघाएर भुक्नै नसक्ने भएर हो पुच्छर हल्लाउने बाहेक अरु प्रतिक्रिया जनाउँदैनथ्यो । ऊ हतपती भुक्दैनथ्यो वा भुकेको सुनिदैनथ्यो । त्यस घरमा आउने अलि झुत्रे–झाम्रे वा सामान्य लाग्ने मानिस भनेका घर सफा गर्ने र पुछ्ने महिला, बगैंचा गोडमेल गर्ने माली, भाँडा माझ्ने र कपडा धुने महिला अनि ड्राइभर मात्र थिए । तिनीहरू नियमित आउने भएकाले चिनेरै होला तिनीहरू आउँदा पनि वास्ता गर्दैनथ्यो । ती बाहेक अन्य सामान्य मानिसहरू त्यहाँ विरलै आउने गर्थे ।
“ए सन्तु ! जोनीले आज के खायो ?” घरमा काम गर्ने सन्तुमायातिर हेरेर चर्को स्वरमा घरमालिक भक्तराजले सोधे । दुई बर्ष भयो सन्तुमाया तामाङले त्यस घरमा काम गर्न थालेको । घर–परिवारका लुगाहरू धुने र जुठा भाँडा माझ्ने उसको मुख्य काम भएपनि लाए–अह्राएका अन्य कामहरू पनि गर्थी । भक्तराजकी श्रीमतीले आफूले एक–दुई पटक लगाएका तर मन नपरेका कपडा र चप्पलहरू एसलाई दिने गर्थी । बिहानै आउँथी, बेलुकीका जुठा भाँडा माझ्थी अनि धुने कपडाहरू कुनै हलुका धोएर वासिङ मेसिनमा हालिदिन्थी भने कुनै साबुनले घोटेरै धुने गर्दथी । अनि नौ बज्दा–नबज्दै हतार गरेर हिँड्थी अर्को घरमा काम गर्न । अनि बाह्र बजेतिर आएर पुनः बिहानका भाँडा माझ्ने र कपडा सुकाउने वा उठाउने गर्दथी । त्यस बाहेक बेला–बेलामा कुकुरको पनि स्याहार गर्नुपर्दथ्यो । आज भने उसलाई बिहानैदेखि काम गर्न र यहीँ खाना खाने भनेर बोलाइएको थियो । आज उसले दुई बर्षकी छोरी पनि सँगै लिएर आएकी थिई । ऊ आमाको पछि पछि हिँडेर आमाले गरेका सबै गतिविधि हेरिरहेकी थिई ।
“दिउँसो दूध र विस्कुट खाएको हो । अब फलफूल काटेर दिनेहोला”—सन्तुुले भनी । बढी भुक्ने, टोक्ने अनि भनेको नटेर्ने हुन्छ भनेर नै जोनीलाई पहिल्यैबाट मासु दिनबाट बञ्चित गरिएको थियो । अर्थात् साकाहारी बनाइएको थियो, ‘घर सुहाउँदो भद्र’ बनाउन ।
“ल, ल माथि आमालाई भनेर दिइहाल । फलफूल खाएन भने अस्ति मैले बाहिरबाट ल्याएको त्यस्ले मन पराउने बिस्कुट र बदाम छ, त्यै देऊ ।”
सन्तुमाया भ¥याङ उक्लेर माथि गई र भक्तराजकी श्रीमती सरितासँग जोनीका लागि फलफूल मागी । “ल, कति खान्छ काटेर देऊ ।”—सरिताले फुजी स्याउ, पूरै गलिनसकेको मेवा र खरबुजा ल्याएर दिई । अत्यन्त सोझी र इमानदार तामाङी सन्तुमायाप्रति सरिताको पनि पूरै विश्वास थियो । आमासँग पछिलाएर आएकी सन्तुमायाकी छोरी आमाको कुर्ताको फेरो समाउँदै पछि पछि आइरहेकी थिई । सुनिताले एउटा स्याउ अनि खरबुजा र मेवाका स–साना चिरा निकालेर बोक्रा फाली टुक्रा पारेर जोनीले खाने गरेको भाँडोमा राखिदिई । छोरीले ती फलफूललाई काटेबाट कुकुरलाई दिइन्जेल निकै गढेर हेरिरही । केही बोल्न र भन्न सकिन । न आमाले कुकुरलाई दिनुअघि एकदुई टुक्रा फलफूल छोरीलाई दिन सकी न त उसले नै माग्न सकी । ऊ घरि कुकुरले खान लागेको फलफूलतिर त घरि आमातिर हेर्दै आँखाले मात्रै खाइरही । जोनीले उसले दिएका फलफूलमध्ये केही टुक्रा मात्र खायो, सबै खाएन । कुकुरले फालेको फलफूललाई सन्तुकी छोरीले हेरिरही ।
मानिसहरू आउने क्रम सुरु भएको थियो । सबैजसो आगन्तुकहरूले हातमा फूलका माला वा पुष्पगुच्छासहित विभिन्न उपहारहरू लिएर आएका थिए । घरको सामुन्ने पर्नेगरी कुर्सीहरू मिलाएर राखिएको थियो भने अगाडि तीनवटा सोफा राखिएको थियो । सोफाको अघि लामो टेबुल राखिएको थियो । सोफाको दायाँ र वायाँतिर सन्मुख हुने गरी विशिष्ट पाहुनाहरूका लागि फोमवाला छुट्टै कुर्सीहरू राखिएका थिए । कुर्सीहरू राखेभन्दा केही पर बायाँपट्टि पारेर क्याटरिङले खानपिनको सबै व्यवस्था मिलाइसकेको थियो ।
भक्तराजकी छोरी रञ्जूले जोनीलाई काखमा राखेर ल्याई र बाबुले भनेअनुसार उसलाई बीचको सोफामा राखी ।
“तिमीहरू त्यहीँ जोनीको आडमा बस ।”— भक्तराजले छोराछोरीलाई निर्देशन दिए । रञ्जू जोनीसँगैको सोफामा बसेर उसलाई के के भनेर पुल्पुल्याउँदै मुसारिहेकी थिई । जोनी आफ्नो रातो लामो जिब्रो बाहिर निकालेर वरपर कुर्सीमा बस्ने सबैलाई मुन्टो फर्काइ–फर्काइ नियालिरहेको थियो । उसलाई आज भइरहेको गतिविधि बारे कुनै ज्ञान नभएपनि सबैकुरा थाहा पाएजस्तै गरी आफू सभापति भएझैं गरी ज्ञानी र भद्र बनेर बडो ठाँटसँग बसेको थियो ।
पाहुनामध्ये एकजनाले भन्यो– “अव सुरु गर्दै गर्ने कि हजुर ? टाइम पनि भयो ।” अरु तीन–चार जनाले उसको भनाइमा समर्थन जनाए ।
भक्तराजले आफ्नो सहयोगीलाई भन्यो—“ल ल, के के चाहिने हो सामानहरू ल्याउँदै गर । ल गुरु, के के गर्नुपर्छ सिकाउनुहोस् । पहिला तपाईंको विधि गर्नोस्, अनि हामी गरौंला ।”
भक्तराजको घरमा पूजाआजा पर्र्दा आउने गरेको स्थानीय पुरोहित अघि स¥यो । उसले दियो बाल्यो, एउटा करुवामा पानी भरेर केही फूल राखी कलस बनायो अनि एउटा कचौरामा चामल भरेर त्यसमाथि कुशको गणेश स्थापना ग¥यो । अनि संस्कृतका प्रचलित पूजा–श्लोकहरू भन्दै भक्तराजलाई तिनको पूजा गर्न लगायो । प्लेटमा पैसा राख्न लगाएर गौदान गरायो । नमस्कार गर्ने बेलामा जोनीलाई पनि नमस्कार गर्न लगायो । पहिल्यैबाट अगाडिका दुईवटा खुट्टा माथि उचालेर जोड्न सिकाइएको हुनाले उसले त्यसै ग¥यो । त्यसलाई अरुले नमस्कारको अर्थमा लिने गर्दथे । जोनीले दियो, कलस, गणेश सबैलाई नमस्कार गरेको अर्थमा बुझेर सबै खुसी भए । पुरोहितले पहिला भक्तराजलाई र त्यसपछि जोनीलाई टीका लगाइदिए । जोनीका लागि किनेर ल्याएको माला पनि उनैले लगाइदिए । प्रसाद भनेर दिएको केरा भने खाएन, सुँघेर छाडिदियो । त्यसपछि पुरोहितले परिवारका सदस्य र आगन्तुकहरूलाई समेत टीका लगाइदिए अनि मोटो दक्षिणा हात पारे ।
उता दुर्गी पनि घर पुछ्नेदेखि अरु सरसफाइको काम भ्याएर आफ्नो कोठातिर गएर पनि फर्किसकेकी थिई । लोग्ने मलेसिया गएपछि ऊ यस घरमा सरसफाइको काम गर्न आउन थालेकी थिई । दिनभर डोकोमा तरकारी बेचेर फर्केकी उसकी आमा पुतली पनि आज दिक्क लागेर होला घर नगएर बाटोमा पर्ने छोरीको कोठातिर सोझिएकी थिई । घरमा काम गर्ने सबैलाई आज त्यहीँ खाना खान भनिएकाले अलि मिठो खान पाउलान् भनेर होला दुर्गीले आफूहरूलाई खाना नपकाउन भन्दै आफ्ना दुई बच्चाहरूलाई पनि सँगै लिएर आएकी थिई । ऊ छेउको अम्बाको रुखको आड लिएर अचम्म मान्दै बड्डे कर्म हेरिरहेकी थिई ।
“ल, अव हाम्रो काम सुरु गरौं ।”—भक्तराजलाई नजिकको कोही आफन्तले भन्यो ।
“पाहुनाहरू सबैजसो आइसक्नुभयो अव सुरु गर्ने हो । ए ललित ! जाऊ त सामानहरू लिएर आऊ ।”— भक्तराजले ड्राइभरलाई अह्रायो ।
साँझ पर्न लागेको थियो । ठाउँ–ठाउँका जडिएका विभिन्न रङका प्रकाश छर्ने बत्ति एकाएक चमचमाउन थाले । घरको परिसर झनै मोहक देखिन पुग्यो ।
टेबुलमा विशाल केक र छवटा मैनबत्ति खडा गरियो । केकमा अङ्ग्रेजीमा ‘ह्याप्पी बर्थडे–जोनी’ अनि तल छको अङक लेखिएको थियो ।
“आजभन्दा पाँचबर्षअघि बेलायतमा जन्मेको मेरो प्यारो जोनी आज पाँच पूरा भएर छैटौं बर्षमा लाग्यो । यसैले आज उसको छैटौं बर्थडे हो । प्यारो जोनीलाई जन्मदिनको धेरै धेरै शुभकामना ! म र मेरो परिवार जोनीको बर्थ डेमा उपस्थित सबै मान्यजन, पार्टीका साथीहरू र सबै पाहुनाहरूलाई हार्दिक स्वागत गर्दछौं । बर्थडे केक खाएपछि हामी सबै पार्टीमा सहभागी हुनेछौं, धन्यवाद ।”—भक्तराजको सम्बोधनपछि सबैले ताली बजाए । छोरी रञ्जूले छवटा मैनबत्ति बाली र पाँचवटा निभाउँदै भनी—“ह्याप्पी बर्थ डे जोनी !”
सबैले ‘ह्याप्पी बर्थ डे जोनी’ भन्दै परर्र ताली लगाए । उसले केक काटेर एक टुक्रा जोनीलाई खुवाउन खोजी तर खान नमानेपछि मुखभरि केक दलिदिई । त्यसपछि भाइ, बाबा, आमा गर्दै सबैले जोनीलाई फूल–माला पहि¥याउँदै र खानेकुरा राखिदिँदै ‘ह्यापी बर्थ डे जोनी !’ भन्दै अघि बढ्न थाले । जोनीलाई ल्याइएको उपहारको राश लाग्यो । किलिक् किलिक् फोटाहरू खिँचिए । जोनीसँग बसेर धेरैले फोटो खिँचे । त्यो सबै चाँजोपाँजो रञ्जूले नै गरी ।
प्रसादका रुपमा सबैलाई केक र मिठाइ बाँडेपछि पार्टीको सुरुवात भयो ।
“आज त जोनीको विशेष दिन हो । उसलाई पहिला खुवाएर मात्र हामीले खाने हो ।” एकजना पार्टी कार्यकर्ता जस्तो लाग्ने व्यक्तिले भक्तराजको साखुल्य हुँदै भन्यो ।
“हो, हो । ठीक कुरा हो । पहिला जोनीलाई खुवाउनु पर्छ ।”— अरु दुई–चार जनाले हो मा हो मिलाएपछि जोनीलाई लिएर रञ्जू अघि बढी । उसले एकटुक्रा प्राउन खायो, अरुतिर हेर्दै हेरेन ।
“यसलाई आज खरो भएको होला, बियर खान्छ कि ?”—एउटाले केही व्यङ्यसहित भन्यो ।
“हैन, यस्तो चिसोमा के को बियर ? थोरै ह्विस्की खुवाउनु पर्छ । चिसो लाग्यो होला, राम्रो गर्छ”— अर्कोले भन्यो ।
“कुनचाहिँ हो ह्विस्की ?”—गिलासमा खन्याएर राखिएका विभिन्न थरि रक्सीका किस्तीतिर देखाउँदै रञ्जूको भाइले सोध्यो । ह्विस्कीको गिलास देखाइदिएपछि उसले उक्त गिलास उठाएर जोनीको मुखतिर लगिदियो । जोनीले टाढैबाट गन्ध थाहा पाएकाले मुन्टो फर्कायो । उसले गिलास ढल्काएर जवरजस्ती जोनीको मुखमा झोसिदियो । मुखभित्र थोपोसम्म नपरेपनि जवरजस्ती नाकसम्म डुबाएर भिजाइदियो ।
पाहुनाहरू कोही रक्सीका गिलास र अन्य स्न्याक्सहरू लिइरहेका थिए भने कोही सीधै खानातिर लागेका थिए ।
दुर्गी र उसका बच्चाहरू वरवर सर्दै पार्टीको नजिकतिर जान खोज्दै थिए र आमाले तानेर रोक्दै थिई । सँगै काम गर्ने उस्तै अवस्थाका भएकाले होला दुर्गीलाई देखेपछि सन्तुमाया पनि छोरीलाई लिएर दुर्गीको नजिक आई । उनीहरूले आपसमा सुस्त–सुस्त कुरा गरे ।
“सन्तु दिदी आउनोस्, केक लैजानोस् ।”—आफ्नो व्यक्तिगत कामसमेत गरिदिने र मिजासिलो स्वभावकी भएर होला रञ्जूले सन्तुप्रति माया देखाई । सन्तुले दुर्गीलाई पनि लगी । रञ्जूले दुईभाग ल्याएर तिनीहरूलाई दिई । तिनले आफूले यसो चाखेझैं गरी बच्चाहरूलाई दिए ।
केक खाएपछि दुर्गीको सात बर्षे छोरोले मिठो मुख गर्दै सोध्यो—“आमा, के को पाटी हो ?”
उसकी कान्छी छोरी र सन्तुकी छोरीले पनि जवाफ खोजेझैं गरी दुर्गीको मुखतिर हेरे । दुर्गीले जवाफ दिन नपाउँदै सन्तुले भनी—“आज जोनीको बड्डे अरे । त्यसैको पाटी हो क्या !”
“खै, को हो त जोनी ? मैले त देख्नै पाइन ।”—उसले उसैगरी जिज्ञासा राख्यो ।
“अघि माला लाएर सोफामा बसेको देखिनस् ? त्यसैको हो क्या ।”—आमाले उसलाई शान्त पार्न खोजिन् ।
“त्यो त कुकुर हैन र ?”—उसले आश्चर्य मान्दै सोध्यो ।
“हो, हो । कुकुर भन्न हुँदैन क्या, जोनी भन्नुपर्छ ।”—सन्तुमायाले भनी ।
“नाम जे भनेनि कुकुर त हो नि । अनि, कुकुरको नि बड्डे मनाउँछन् त ? हामी मान्छेको त मनाउँदैनौं हगि ?”
“ठुला घरका ठुला मान्छेले क–कसको केके मनाउँछन् मनाउँछन् । चुप लाग् । धेरै बोल्न हुन्न, उता सुन्छन् ।”—दुर्गीले हप्काएझैं गरी ।
+ + +
धेरैजसो पाहुनाहरू गइसकेका थिए भने बाँकी रहेका अधिकांश पाहुना गिलासको चुस्कीसँगै गफिइरहेका थिए । घरका सबै परिवारले खाएपछि र बच्चाहरूले अत्याएपछि सन्तु र दुर्गी पनि खाना खान गए । छोरी सानी भएकीले आफ्नै भागबाट अलिअलि खुवाए भैहाल्छ भनी सन्तुले छोरीका लागि छुट्टै भाग लिइन । दुर्गीले पनि कान्छी छोरी र आफ्नालागि एउटै प्लेट लिई र छोरालाई अर्को प्लेट दिई । तर उसले मुन्टो हल्लायो, लिन मानेन ।
“किन ? म झिकिदिन्छु के !”
“नाइँ, म खान्न, बैनी र तपाईँ खानोस् ।”
“किन ? के भयो फेरि ? जे जे मन पर्छ त्यै मात्रै खालास् । सबै कुरा खानुपर्दैन के !”
“नाइँ, मलाई खानै मन छैन । तपाईं खानोस्, म उता गएर बस्छु ।” ऊ अलि परको कुर्सीमा गएर बस्यो ।
आमाले र पछि सन्तुमायाले पनि निकै कर गरे, फकाए । तर ऊ मानेन, त्यसै फर्कियो ।

+ + +
छोराछोरीलाई उतै खाना खुवाउने भनेर आमालाई खाना नपकाउनु भनेर आएकी दुर्गी छोराले खाना खान नमानेपछि साह्रै दुःखी बनी । कोठामा फर्किँदा नौ बज्न लागेको थियोे । कोठामा आमा खाना खाएर सुतिसकेकी थिइन् । दुर्गीले आमालाई उठाई ।
”खाना खाएर सुत्नुभएको हो ?”
“अँ, आज त तरकारी बेच्न पनि दिनभरि लाग्यो । भोक पनि लागेको थियो, तिमीहरूले उतै खाएर आउने भन्यौ, त्यै भएर दुईमुठी चामल पकाएर खाएँ र भर्खर सुतेकी । ढिलो पो ग¥यौ त ! कतिटाढा हो र ?” आमाले सोधिन् ।
“त्यैं रत्नपुरचोक भन्दा अलि तल ।”
“त्यै नयाँ बनाएको सेतो ठुलो घर त होइन ? त्यहाँ त कुकुरको बड्डे मनाउने भनेर धुमधाम गरेका थिए । तरकारी किन्छन् कि भनेर गएका, किनेनन् । हेर्दै दरबार जस्तो थियो घर पनि ।”
“ए ! तपाईं पुग्नुभा’थ्यो ? त्यहीँ त हो नि पार्टी भएको, त्यैं त हो नि मैले काम गर्ने । अनि आमा, थोरै भात रहेको छैन ? यो सोवितेले केही खाएन, भोकै आएको छ ।” दुर्गिले भनी ।
“किन नखाइआएको बाबु ? जे खाए पनि पाइने, त्यत्रो ठुलो भोजमा गएर पनि भोकै आउने हो ? के भयो र खाइनस् ?”—हजुरआमा पुतलीले सोधी ।
“खै, कुकुरको बड्डे भनिदिएपछि के भयो भयो यसलाई ।”—दुर्गीले भनी ।
“सुन्दाखेरि म पनि दङ्गै परेकी हुँ । तर, कुकुरको के दोष ! विचरा उसलाई बड्डे–सड्डे के थाहा ! केही बुझ्ने होइन । बरु कुकुरको बड्डे मनाउने नाउँमा आफ्नो सम्पत्ति र रवाफ देखाउने पो खराब हुन् । मैले सबै सुनें, त्यो घरको मालिक त अर्कालाई ठगेर, लुटेर, चुसेर र मारेर ठुलो मानिस भएको रहेछ । धेरै धन–सम्पत्ति कमाएर ठुलै नेता भएको रहेछ । म भए पनि खाने थिइन त्यस्ताको भोज । ठिकै गरेछ नातिले । मैले खाएर रहेको थोरै भात छ, त्यही तताएर देऊ, विचरालाई भोकै नसुताऊ ।”
हजुरआमाको कुरा सुनेर नातिको अनुहार भोज खाएभन्दा बढी प्रशन्न देखियो ।


000

Saturday, July 8, 2023

कृष्ण प्रसाई


 



जन्म मिति : बि.स: २०१७\७\२८
ठगाना अनामनगर काठमाण्डौ 
 ~२९

शिक्षा स्नातकोत्तर द्वय नेपाली र समाजशास्त्र
पहिलो प्रकाशित कविताको शिर्षक : "बालक"
पत्रिका: सूर्योदय सप्ताहिक,भद्रपुर वि: स:२०३३
पहिलो प्रकाशित पुस्तकको नाम:

१"घाम नभएको बेला" कविता संग्रह वि स २०६२

अन्य पुस्तकहरू

२ छरिएका केही पृष्ठ सम्पादन वि सं २०४८
३ समसामयिक नेपाली कविताहरू बि.स.२०४८ सम्पादन
४ प्रक्षेपण कथा सॅग्रह बि.स.२०४८
५ अनुभूतिका छालहरू नियात्रा संग्रह वि सं२०६०
६ घामको वर्षा जेन कविता सॅग्रह बि.स.२०६२
(२४ भाषामा अनुदित जेन कविता सॅग्रह)
७ घामको विरासत कविता सॅग्रह वि सं २०७४
८ Never say good bye
 (नेपाली कविताको अंग्रेजी अनुवाद वि.सं २०७५)
९ घामको आयु जेन कविता सॅग्रह वि.सं २०७९
१० सम्झनामा तारानाथ शर्मा संस्मरण सम्पादन २०७९
कविता किन लेखियाे : नजान्दा नजान्दै कविता लेखियाे।
संलग्नता : जरा फाउन्डेसन नेपाल

पुरस्कार सम्मान

१ यु एन एफ पि ए पुरस्कार
२ धरणीधर कोइराला पुरस्कार
३ योगी नरहरिनाथ पुरस्कार
४ उत्कृष्ट विध्वत छात्रवृति
५ भारत रत्न सम्मान


इमेल  krishnaprasai2017@gmail.com
सम्पर्क मोवाइल ~ ९८५१०३३२८३



-----------------------------------------------------------

कथा 

               उल्टो कोट              


    सिगरेटको अन्तिम सर्को तानेर निख्रिसकेको ठुटोलाई छेउकै खाली भूइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउदै लामो सास तानेर काकाले भने 

“मेरो पुरानो प्रतिज्ञा लाई पुनः र्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।”

 यति भनिसकेपछि तत्कालै उनले आफ्नो पुरानो इष्टकोट उल्टाए र सहज रुपले आफ्नो शरिरमा लगाए । यो घटना २०६० वैशाख १२ गतेको हो । 

0          

  रत्नबहादुर कार्की अर्थात रत्नकाकालाई मैले आजभन्दा पैँतीस वर्ष अघि पश्चिम वंगालमा अवस्थित शिलगडी शहरको प्रधाननगर भन्ने ठाउँमा पहिलो पटक देखेको थिएँ । त्यतिखेर उनले आफ्नो इष्टकोट उल्टो लगाएको देखेर मैले मेरा आफ्नै काकासँग यसवारे जिज्ञासा राखेको थिए । मेरा काकाले सहज रुपमा  उनका बारेमा भनेको मलाई सम्झना छ । “२०१७ सालअघि रत्नदाइ प्रजातन्त्रका प्रवल हिमायती थिए र पार्टीगत व्यवस्थाको सकृय सदस्य रहेर कांग्रेस राजनीतिमा होमिएथे । सत्र सालको राजनैतिक काण्डको विरोध गरे वापत उनलाई पक्राउ पुर्जी आउँदैछ भन्ने थाहा पाएपछि एकाएक पलाएन भएर उनी भारत पसे । त्यतिखेर व्यवस्था विरोधीलाई “अराष्ट्रिय तत्व” भनेर तत्कालिन व्यवस्थाका हिमायतीहरुले भन्ने गरेका थिए । व्यवस्था विरोधी जो कोहीलाई अछुत झैँ सम्झने तत्कालिन सासन व्यवस्थाले धेरैलाई आफ्नो वसमा पारे । कत्तिका घरजग्गा सरकारीकरण भए । धेरैलाई विभिन्न जालसाँजी मुद्दा लगाएर आफ्नो ठाउँबाट उठिवास लगाईयो । धेर थोर नगद हुने र आफ्नो थोर बहुत जमिन हुनेहरु टुक्राटाक्री जमिन बेचेर समेत प्रवासिए । कोही टाढाकै मुग्लान पसेर लापत्ता भए जसको पछि सम्म खवर रहेन । रत्नदाइ तिनै मध्येका एक इमान्दार कार्यकर्ता थिए जो आफ्नो भए भरको जायजेथा आफ्नी श्रीमती र नाबालक छोराछोरीलाई जिम्मा लगाएर भारत भास्सिएका थिए । रत्नदाई तिनै मध्येका एक सहयोगी प्रजातन्त्रप्रेमी कार्यकर्ता थिए जो आफ्नो प्रवाशी नेतालाई राती–राती सिमावारी आएर सिमाना नजिक घर रहेका नेताहरुका घरबाट खाने चामल, फलफूल र कुखुराका अण्डाहरु ओसारेर प्रवास पु¥याउथे । रत्नदाइ तिनै मध्येका एक व्यवहार कुशल मान्छे थिए जो प्रवाशित नेताहरुका नेपालतिरका सम्पूर्ण व्यवहारहरु भूमिगत रहेर नेपालमै मिलाउने गर्दथे । उनले गर्ने यी सब काम निःशुल्क थिए । रत्नकाका तिनै मध्येका एक त्यागी र प्रतिज्ञारत कुशल योद्धा थिए जसले प्रजातन्त्रको हरण पछि पुनः नेपालमा प्रजातन्त्र नफर्काउन्जेल सम्म सुल्टो कोट लगाउँदिन भनेर किरिया खाएका थिए ।” 

मेरा काका अझै थपिरहनु भएको थियो “सरल र जुझारु रत्नदाई अत्यन्तै मिलन्सार छन्” । 

रहदै वस्दै जाँदा मैले थाहा पाएँ रत्नकाका व।स्तवमै सहयोगी र सह†दयी रहेछन् । कुनै काममा भेद भाव थिएन काकाको । म जस्तो स्कुल पढ्दै गरेको स्कूले ठिटोसँग पनि उत्तिकै मिल्न सक्ने र पैसा हुने वित्तिकै नजिकैको आदुको पसलमा गएर सितलु मिठाई किनिदिने काका सानोभन्दा सानो काम पनि आफै गर्दथे । प्रवाशी नेताहरुलाई “अमृत वजार” पत्रिका किनेर ल्याइदिने देखि नेतापत्नीका साडीहरु बोकेर ड्राइक्लिनर्स सम्म पु¥याउन पनि उनी धक मान्दैनथे । 

    यस्तै यस्ता वानी व्यवहार र मिलनसारितामा मैले पाएको थिए रत्नकाका लाई त्यो प्रवाशी भूमिमा । एक पटक त नजिकको किरिया पुत्री नभएका एक नेताको काज किरियामै बसेर बाह्र दिन सम्म किरिया पुत्री भएर जुठो वारेका थिए उनै रत्न काकाले । 

   मेरो सम्झनामा रहेको अर्को ताजा घटनामा रत्नकाका र म भएर नै एक दिन हाम्रा नेता पत्नीका नयाँ र राम्रा साडीहरु प्रधाननगरको “वेण्डवक्स” भन्ने ड्राइक्लिनर्समा जाकट राखेर ल्याएको पैसाले वनारसबाट आएका एक जना प्रभावशाली प्रजातन्त्रवादी नेताको अतिथि सत्कारमा खर्चिएका थियौँ । प्रवाशमा भोग्नु परेको गरीवी र अभावको सबै भन्दा ठूलो घटना हुनु पर्छ त्यो । वागडोगरा हवाई अड्डा सम्म लिन जाने र पछि दुई दिन सम्मको अतिथ्य सत्कार पछि त्यसै ठाउँमा छोड्न जाने निर्वासित नेताहरुको पंंंिक्तको लाममा रत्नकाका पनि एक थिए । तर उनको नाम न ती  वरिष्ठ नेतालाई थाहाथियो न उनका कामलाई चासो लिएर उनी प्रति कसैले गम्भीर हुन सकेकै थिए । 

      सम्झनै सम्झनाहरु वीच अर्को एउटा सम्झना छ काकासँग मेरो । जाडोको छोटो स्कूले विदामा छुट्टी मनाउन म काकासँग एक साँझको समय पारेर आफ्नो घर नौवाबारी फर्केको थिएँ । आजभोलि झैँ त्यसताका पनि नेपालका पूर्वी तराई फाँटहरुमा धान पहेँलपुर भएर लटरम्म फलेका हुन्थे । आखाले भ्याइन्जेल सम्म पहेँला धानका फराकिला मैदानहरु औधी रमाइला लाग्थे । १५ दिनको जाडो विदा सकिनै लागेकोले म पुनः आफ्नै प्रवाशी स्कुलमा फर्कने तरखरमा थिएँ । त्यसताका रातैभरि स्याल कराएको आवाज गाउँमा सुनिन्थ्यो । एक ठाउँबाट स्याल कराउन थालेपछि एक पछि अर्को लहरै आवाजमा स्यालहरु घन्टौं सम्म कराउथे । जुन आवाज धेरै टाडासम्म फैलिएर आफै एकाएक बिलाएर जान्थ्यो । धान काटिसकेपछि खमारमा थन्क्याइसकेको समय हुन्थ्यो त्यो । त्यतिखेर आजभोलि जस्तो फेदै लगाएर धान काट्ने चलन थिएन । धान काटिसकेर छोडिएको एक फुट जतिको नरुवा भएका गराहरुमा सिलाधान खोज्नेहरुको जमातै भेटिन्थ्यो । सिलाधान खोज्नु कसैका लागि वाध्यता र कसैका लागि रहर थियो त्यतिखेर । दिनभरि सिलाधान खोजेर बेलुका घर फर्केपछि खुट्टा धुनेबेलामा घुडामुनि पानीपर्दा चहर्याएर खपिनसम्क्नु हुन्थ्यो शरीरलाई । मुसाले चोरेर पाँजैपाँजा मिलाएर खेतका आलीमुनी दुलामा लुकाएका बाला सहितको मुसेधान पनि मानिसहरुले मुसाको दुलोबाट खनेर निकाल्ने गर्दथे । त्यस्तै दिनहरु मध्ये त्यो एउटा हिँउदे विदा मनाउँदै गरेको दिनको याद छ मलाई, काका मलार्इं छाडेर प्रवाश फर्केपछिको समय थियो त्यो । मुसा जस्तै स्याल लुक्ने अलि ठूला र दुलैदुला भएका ठाउँमा एक दिन हामीले स्याल समाउन भनेर केही दूलामा धुँवा निस्किरहेका पुल्ठा हालेर दूलो बन्द गरेपछि केही दूलामा भने लठ्ठी सहितका हामी चौकिदारी बसेका थियौँ । दूलाभित्र बस्ने स्याललाई बाहिर निकाल्न यसरी धुँवा लगाइएको थियो । तर ठूला स्यालको सट्टा  पाँचवटा स्यालका वच्चाहरु धुवाले निसास्सिएर फुत्फुति दूलाभित्रबाट बाहिर निस्केका थिए । कस्तो अचम्म ! ती स्यालका बच्चाहरु  बाहिर निस्कनासाथ एकोहोरो गरी आकाशतिर मुख फर्काएर सबै एकै नासले रोएका थिए । एकै पटक त्यति धेरै संख्यामा रहेका वच्चाहरु रोएको देखेर म पनि गोठालाहरु झैँ अत्तालिएको थिएँ । हामी मध्येको जेठो मंगले तामाङ्गले सम्झाए पछिमात्र हामी शान्त भएका थियौँ । मंगले तामाङ्गले त्यतिखेरै भन्थे ती बच्चाहरु रामस्यालका बच्चाहरु हुन् रे, र स्यालको जातमा राम स्याल स्यालहरुको राजामा गनिन्छ रे । पुल्ठोका धुवाँले निसास्सिएका ती वच्चा स्यालहरुलाई हामी सबैले कुटी कुटी मारेका थियाँै 

  अहिले सम्झदा कहाली लाग्छ ती विदाका दिनहरुमा विताएको  पूर्वी तराइको वास । जाडो विदा सकिएर प्रवाशको स्कुल सम्झने वित्तिकै डरलाग्दा दृश्यहरु आँखा वरिपरि घुम्दथे त्यसताका । तौलेर खान पाइने सिमित खानेकुरा, आफूले खाएको भाडाकुडाहरु आफै टल्काएर माझ्नु पर्ने अनुसासन, स्कूलदेखि केही पर रहेको चर्च । चर्च छेउमै लहरै सुतेका इसाई चिहानहरु, चिहान सम्बन्धी साथीभाईले सुनाउने गरेका पत्ताले भूतका कथाहरु, होस्टल छेउमै रहेको वधशाला र वडेमान गोरु र राँगाहरुलाई मेसिन द्वारा गर्धन गिडेका दृश्यहरु । यस्तै थिए तिनताका मैले पालेका म भित्रका दैनिकीहरु । जसले सधै भरी मलाई डसिरहन्थे स्कुल बनेर ।  

  0                               

     २०३६ सालको जनमत संग्रहमा रत्नकाका भूमिगत रुपमै नेपाल भित्रिए र बहुदलको पक्षम खुलेर वकालत गरे । उनको पक्राउ आदेश त्यति वेला सम्म पनि फुकुवा भैसकेको थिएन । प्रजातन्त्र फर्काउने संकल्पमा जुटेका रत्नकाका पुरानै उल्टो कोट लगाएर प्रचार–प्रसारमा जुटेका हुन्थे ।नेपाल फर्किएर प्रजातन्त्रको पक्षमा चुनावी आमसभाहरुमा भाग लिँदा विपक्षीहरुबाट कुटिएर काकाका दुईवटा दाहिने करङ् भाँच्चिएको पनि सम्झना छ मलाई । सिलगढीकै कालु ड।क्टरले केही निको पारेपनि आकाश घुर्मैलो हुनासाथ करङ्हरुले दुःख दिन शुरु गर्नें कुरा मलाई काकाले नै भनेका थिए ।  प्रजातन्त्र नफर्के सम्म आफ्नो कोट सुल्टो नफर्काउने कसम खाएका काकाले यस काममा जाडो गर्मी केही भनेनन् । हिउँद र वर्षा केही छुट्याएनन् । डोरीले टालेका एेंडी खिइसकेका हात्तिछाप प्याट्प्याटे चप्पल सहितको पुरानो झोलामा देखिने रत्नकाका त्यतिखेर दिलो ज्यान दिएर जनमत संग्रहमा जुटे पनि अन्ततः उनको केही लागेन । पहेँलोको जीत र निलोको हार भएको सरकारी रेडियोको घोषणा सँगै रत्नकाका फेरि पुरानै ठाउँतिर पलायन भए । 

सायद सँगसँगै थियो रत्नकाका पलायन हुनु र म स्वदेश फर्किनु पनि । प्रवाशी स्कुलमा आफ्ना सगोत्री काकाको सहयोगी भएर वाल्यकालमै प्रवाश छिरेको म कालन्तर सम्म मैले आफ्नो पढाई प्रवासमा भर्न सकिन । काकाको त्यतिबेलाको राजनैतिक पद्धतिसँग विचलन भएर समयसँग गरेको सम्झौता पछि म पनि आफ्नै गाउँ फर्किएको थिएँ काकासँगै । 

त्यति बेला देखि रत्नकाकासँग पातलिएका मेरा सम्बन्ध पछि सम्म पनि बाक्लिन सकेका थिएनन् । यसो हुनुमा मेरो उमेर, मेरा आफ्ना काकाको राजनैतिक विचलन र रत्नकाकाको कर्तव्यनिष्ठाले काम गरेको हुनुपर्छ । तर पनि मेरो बाल्यकालमा उनले छोडेका अमिट छापहरुले होला मैले रत्नकाकालाई कहिल्यै भुल्न सकेको थिइन । 

रत्नकाका प्रवाशिएको बेला उनका निजी जीवनमा धेरै परिवर्तनहरु आएका थिए । अलि पछि काकाले छोडेका जग्गाजमिनहरु र परिवेशको ठूलो कायापलट भैसकको थियो । काका प्रवाश छिरेको तीन वर्षभित्रै उनकी श्रीमती काखको नानी च्यापेर अर्कैसँग पोइलिएकी थिइन् । ७ वर्षकी एउटी छोरी र १० वर्षको अर्को छोरोलाई छोडेर आफ्नी श्रीमती यसरी हिडेको कुरा सुनेर काका केही दिन हतप्रद पनि भएथे । तर समयमै उनले आफ्नो समस्या भूमिगत रुपमै नेपाल आएर मिलाए । छोरालाई पुराना प्रजातन्त्र सेनानी रणधीर बुढाथोकीको जिम्मा लगाए र बचेकी एउटी छोरीलाई आफूसँगै शिलिगुडी लिएर गए । अलिकति भएको चल सम्पति भाँडाकुँडा र गाइबाख्रा श्रीमतीले साथै लगेकाले काकालाई कुनै ठुलो लेठा परेन सामान सम्हाल्ने । तर अचल सम्पतीको नाउँमा बचेको पौने दुई विघा जमिन भने काकाले वर्षेनीको खर्च धान्न प्रवास बस्दै ताका दुईतीन पटक गरी वेचेर सिध्याएका थिए । श्रीमती पोइलिनु अघि जमिन बेच्ने कुराले नै आफ्नी श्रीमतीसँग ठाकठुक परेको कुरा पनि काकाले त्यसै ताका सुनाएका थिए ।

   0                     

     ४६ सालको परिवर्तन पछि काका स्वदेश फिरेको कुरा सुने । प्रजातन्त्र फर्काउने काममा आफ्नो सर्वंस्व गुमाएर सम्पत्तिको नाउँमा आफुमात्र रहेका सुकुम्वासी काकाले केहीवर्षका लागि मात्र कोट सुल्ट्याएछन् । 

  प्रजातन्त्र प्राप्ति पछिका बाह्र वर्षसम्म रत्नकाकाले प्रजातन्त्र हाक्ने नेताहरु हेरेछन् । प्रजातन्त्रले चलाएको संसद, सासन र सरकार हेरेछन् । नसुन्ने पनि सुनेछन् । नेदेख्ने पनि देखेछन् र नभोग्ने सबै भोगेछन् । एक पटकको भेटमा काकाले मलाई त्यसै भने । 

  0                                     

अलि पछि ढाड दुख्ने र करङ्गको विराम लागेर थलिएका काकाले निकै कष्टसाथ प्राण त्याग गरेछन् । काकाको मर्ने बेलाको अन्तिम इच्छा उल्टो कोटमै सद्गति गर्नु भन्ने थियो 

रे । नभन्दै उल्टो कोटमै मरेका काकालाइ उल्टो कोटमै जमिनमा दफ्न्याइएकोथियो रे । मरिसकेपछि उल्टो कोटको खल्तीभित्रबाट निकालिएको पच्चिस रुपैया र अरु चन्दा उठाएर उनको सतगति गरियो रे ।                                                                                                                                      

  0               

  २०६५ सालको जेष्ठ १६ सम्म काका बाँचेका हुन्थे भने कमसेकम उनको कोट सधैँभरिका लागि सुल्टिने थियो कि भन्ने म अनुमान गर्छु । 

   0                   

अहिले म तिनै रामस्यालका बच्चाहरुलाई सम्झिरहेछु जसलाई निकाल्न र मार्न हामीले धुँवाको पुल्ठो बनाएर लठ्ठीहरुमा मनोरन्जन साँधेका थियौँ । बाहिर निस्किए पछि आकाशतिर फर्किएर अरन्य रुने ती निरीह स्यालका बच्चाहरुको कसुर  के थियो ? रत्नकाकाले प्रजातन्त्रका लागि लडेर भोगेको नियति, उनको इमान्दारिता अनि पुनः सम्झदैछु  उनले देशका लागि आफू विग्रिएर दिएको समग्रता । उत्तर अझै पाउन सकेको थिइनँ । 

   0                

काकाको देश भने उल्टो कोटमै सुतिरहेको थियो ।  


000


    


Monday, July 3, 2023

दिलीप शाह




जन्म : २०१६ साल ।
जन्मस्थान : जाजरकोट खलङ्गा, गणेशटोल, भेरी अञ्चल ।
शिक्षा : वि.एस्सी (कृषि), बेंगलोर ।
एम.ए. (समाजशास्त्र) त्रिभुवन विश्वविद्यालय ।
पेशा : कृषि ।
प्रकाशित कृति : मौन धारण ( कथा संग्रह ),२०६४ ,साझा प्रकाशन ।
जालो (लघुकथासङ्गग्रह), २०६६ , विवेक सिर्जनशिल प्रकाशन प्रा.लि. ।
श्रद्धासुमन (कथासङ्ग्रह), २०६८, साझा प्रकाशन ।
मुर्दार काठमान्डु (कथासङ्ग्रह ), २०६९ , साझाप्रकाशन ।
बघिनी (कथासङ्ग्रह), २०७०, याम्बुरी बुक प्वाइन्ट प्रा.लि. ।
चियर्स (कथासङ्ग्रह), २०७५ , भुँडीपुराण प्रकाशन ।
भ्रमण गरेका देशहरु ः भारत, श्रीलङ्का, भियतनाम, थाइलेण्ड, बहराइन, इजरेल ।
पुुरस्कार ः एनएलजी कला श्री सिर्जना पुुरस्कार, २०७१ ।
संलग्न संस्था तथा योगदान ः
क) त्रिभुवन माध्यमिक विद्यालय, जाजरकोटबाट २०३१ सालमा पहिलो पटक प्रकाशित ‘मालिका’ भित्ते पत्रिकाको सम्पादकहरुमध्य एक । .
ख) २०३५ सालमा गठन भएको युवा साहित्यिक जमात, नेपालगञ्जको सक्रिय सदस्य । यसले लघु कथा, लघु कविताजस्ता विधामा ‘नवरत्न’ गोजी पत्रिका प्रकाशन गरेको थियो ।
ग) २०७१ पुषसम्म कृषि विकास बैंकबाट प्रकाशित हुने .‘समष्टि’ द्वेमासिकको सम्पादक मण्डलको सदस्य ।
घ) नेपाल स्रष्टा समाजको आजीवन सदस्य ।

---------------------------------------------

कथा 

जिजीविषा

म सरकारी अस्पतालको बरण्डाको सिमेन्टेड भुइँमाथि इन्तु न चिन्तु हालतमा पल्टाइएको छु । धन्न ! भुइँमाथि प्लास्टिकको म्याट बिच्छ्याइएकोले थोरै भए पनि राहत भएको छ । अन्यथा सिमेन्टीको चिसोले नै परमधाम पु¥याइसक्थ्यो । यस्तो हालतमा पनि मलाई दुई वटा कारणले सन्तोष प्राप्त भएको छ । 

एक, बरन्डामा लम्पसार परी बेडका लागि प्रार्थना गर्ने मजस्ता बिरामीको सङ्ख्या चौरको भन्दा स्वभावैले न्यून छ ।

दुई, सङ्ख्या कम भएकोले बेड पाउने चान्स कैयौं  गुणा बढी छ । 

दिमागभरि करोडौ“ स्वार्थी जिनले स्थायी डेरा जमाएको मान्छेको जात । त्यसमाथि करिब–करिब घिटीघिटी अवस्थाको बिरामी । आफ्नो बाहेक अगाडिपछाडि, तलमाथि नयाँ  सडकको गेटलाई छानो बनाएर आकासका तारा गन्दै रात गुजार्ने माग्नेको भन्दा अझ दयनीय तरिकाले लम्पसार परेका रोगीको अवस्था कस्तो छ ? चिन्ता गर्ने, सरोकार देखाउने मलाई पटक्कै चासो छैन । 

मलाई आँखाका ढकनी खोल्न पनि महाभारत छ । लगातार सात दिनको मन्द ज्वरोले जीउ गलेको पि“डालु भएको छ, फत्याकफुतुक । सम्पूर्ण जोर्नी कटकट खाँदै छन् । ओठ चाट्दा–चाट्दा खडेरी परेको खेत भएका छन् । ज्यान गए एक घुट्को भन्दा बढी पानी घा“टीभित्र छिर्दैन । भित्र गएको पानी पनि बा“झो खेत पटाएझैं  हुन्छ । काटेर छाडेको कुखुराझैं  उफ्रिन्छ, मुटु । जे खाए पनि नानीको पखाला लाग्छ, बेस्वादको । गन्ध कुन चराको नाम  हो ? थाहा छैन । 

मेरो स्थास्थ्यस्थिति मध्यनजर गर्दा सदाका लागि कोमामा गइसक्नुपर्ने थियो । आत्मबलको कारणले हो वा यमलोकमा स्थानाभाव भएर हो वा दिन नआएर हो ?  अहिलेसम्म जेनतेन इन्धन सकिन लागेको थोत्रो इन्जिनजस्तो घ्यारघ्यार सास चलेकै छ । आधाजसो समय म बेहोशजस्तै हुन्छु । अर्ध बेहोशीमा गरुड पुराणमा वर्णित जुँगामुठे यमदुतहरू मलाई पृथ्वीलोकबाट उठाउन तयारी हालतमा उभिएको पाउ“छु । 

‘यस दुई बित्ते जिन्दगानीमा गर्न बाँकी अधुरा काम धेरै छन् । कान्छो छोराको बर्तवन्धसम्म गरेको छैन । बुहारी गर्भवती छ । नातिको मुख हेर्ने लालसा छ । श्रीमतीलाई तिरोभरो, लेनदेनका बारेमा जानकारी दिनै पाएको छैन । जनी गरी केही समय मलाई बक्सिनुहोस् । बरु मभन्दा बूढाखाडाको ताँती छ ।.............।’ म विक्षिप्त भएर बर्बराउँछु । 

‘बा ! जुस खानु हुन्छ ? ताकत लाग्छ ।’ छोरो टाढैबाट मलाई मन पर्ने आँपको जुस बढाउँछ । टाढैबाट किनभने नजिक आउन मनाही छ । ‘बेड नपाउन्जेलसम्म त जसरीतसरी थेग्नुप¥यो नि ।’ उसको आशय हुन्छ ।

‘.......।’ हातले म नाइँ को इसारा गर्छु ।


000
 
हप्ता दिन यतादेखि खानासँग एलर्जी हुन लाग्यो । खाने कुराको नाम लियो कि कन्पारो तात्तिइहाल्ने । कोखामा घुस्सी बजाएजझैं  लाग्ने । खाना सोध्न आउने मान्छेलाई टिपेर झ्यालबाट मिल्काइदिउँ  जस्तो हुन थाल्यो । हुँदाहुँदा  पानीसमेत घाँटीभित्र नछिर्ने भयो । त्यसबाट अजीबको गन्धजस्तो आउन थाल्यो । 

‘होइन के भयो तपाईंलाई । दालभातको नाम लिनासाथ भोटे कुकुर भइहाल्नुहुन्छ । गन्ध पनि ‘थाहा पाउँदिन’ भन्नुहुन्छ । बाहिर निक्लिने मन गर्नु हुन्न । सुइरोले घोच्दा पनि नरिसाउने मान्छे । झर्किनेफर्किने मात्र गर्नुहुन्छ ।’ मैयाँले मेरो आनीबानीमाथि सटिक टिप्पणी गरिन् । सतर्क गराउन खोजेकी हुँदिहुन्–‘बाहिर अनेकथरि हल्ला सुन्निन्छन् । छिमेकीलाई पनि भयो भन्छन् । कतै .......?’ 

‘.........।’ पहिलेको राधेश्याम भएको भए म कृतज्ञता प्रकट गरिहाल्थें  । त्यस दिनमा भने म धुवाँ  हालेको अरिंगाल भएँ , चिल्न तयार । धन्यवाद दिनुको सट्टा औंलाले दुवै आँखाकान बन्द गरी ‘भ्रामरी’ गर्न थालें  ।

‘के भएको छ ? यो मान्छेलाई, कुन्नि ! राम्रो सल्लाह त दिनै हुँदैन । मलाई पनि  खाँचै सिद्धि ।’ उनले घुँडामा मुड्की बजार्दै बाहिर निक्लिन् ।

000
 
‘आ......। होइन होला । कसरी हुनसक्छ ? मैले आफैंलाई आश्वस्त र विश्वस्त बनाउन खोजें  ।
यसका बलिया आधार के थिए भने यस महामारीबाट बच्न मैले जानेसुने जति सबै सावधानी अपनाएको थिएँ  । दिनदिनै ‘नेट’ टटोल्थें  । टिभीमा आउने कोरोनासम्बन्धि विज्ञापनसमेत बडो ध्यानपूर्वक हेर्थें । बिहानभरि पत्रिकाका समाचार तथा लेख अद्योपान्त  पढ्थें  । हेर्ने, पढ्ने मात्र होइन कि सम्भव भएसम्म अमल गर्थें । 

कोठाभित्र बस्दा दुईटा मुखाउरोले नाकमुख ढाक्थें  । दिनमै रात पार्ने गरी झ्यालढोकाका पर्दा ड्यामडुम लगाउंथें  । प्रत्यक आधा घण्टामा स्यानिटाइजरले हात रगड्थे“ । शरीरको देखिने ठाउँजति साबुनपानीले सफा गर्थें । लगाएको कपडा, सुतेको तन्ना दोश्रो दिनमै बदलिहाल्थे“ ।  बाहिरबाट ल्याएका खाद्यान्न दिनभरि घाममा सुकाएपछि मात्र घरभित्र लिने गरेको थिए“ । तरकारी पूरा एक रात फ्रिजमा राख्न लगाउंथें । काट्नुअगाडि पोटासपानीले सफा गरेर मात्र पकाउन लगाउंथें।  

यहाँसम्म कि बैंकबाट निकालेका, पसलेले फिर्ता गरेका नोट, चिल्लरसमेत पकेटभित्र राख्नुअगाडि पानीले सफा गरी घाममा सुकाउने गर्थें ।

यसका अतिरिक्त सूर्योदय हुनुअगावै म नियमित एक घण्टा योगा, प्राणायाम गर्थें । खुला ठाउ“मा आधा घण्टा जगिङ गर्न निक्लिन्थें  । आफन्त, साथीभाइ, छरछिमेकसँग भेटघाट, दुवासलाम बन्दजस्तै होइन कि बन्द नै थियो । अकस्मात बाटोमा कोही चिनजानको मान्छे जम्काभेट भइहालेमा भरसक तर्किन्थें  । बोल्नै परेमा निश्चित दुरी कायम गरी हालचाल सोध्ने गर्थें । ‘परानी रहे बात मार्दै गरौंला  ।’ म भेटघाट भरसक अत्यन्त छोटो बनाउंथें । मोबाइलबाट सञ्चोबिसञ्चो सोधपुछ गर्दा पनि बोल्ने भाँडोलाई रुमालले छोपछाप गरी सम्वाद गर्थें ।

घरबाहिर निक्लिंदा  र भित्र पस्दा डिटलपानी राखेको स्थानमा टिभीमा देखाएजस्तो गरी  रगडीरगडी हातमुख सफा गर्थें । त्यो पनि लरतरो तरिकाले हो र ! मयलले कटकटिएको टालो मिचमाच गरेसरि ।

मैले सकल परिवारलाई यही फलामे अनुशासनभित्र बाँधेको थिएँ  । यसको अर्थ मैले कोरोनारूपी विनाशकारी शत्रुको आक्रमणबाट बच्न अभेद्य किल्ला निर्माण गरेको भ्रम पालेको थिएँ  ।

‘यो त अति भयो बा !’ मेरो फलामे अनुशासनप्रति आजित हुँ दै उनी रोष प्रकट     गर्थिन् ।

‘सावधानी अपनाउनु नराम्रो होइन । तर .......।’ बुहारी पनि अति भएकै गुनासो   पोख्थी ।

‘घरभित्रै बसेको मान्छेलाई पनि भयो भन्छन् ।’ छोरो आगोमाथि घ्यू थप्थ्यो ।

‘प्रिभेन्सन इज बेटर देन क्योर ।’ कसले के भन्छ ? छुः मतलब ।’  म कुम उचाल्दै ठाडो जवाफ दिन्थें  । 

‘लौ, लौ गरौँ  । अति सर्वत्र वर्जयत् ।’ उनी कटाक्ष गर्थिन् ।

‘त्यही त भन्या । रोग आयो भन्दैमा सामान्य दिनचर्यासमेत ठप्प त गर्नु भएन नि । होशियारी अपनाउने पो त ।’ नाति थपथाप पाथ्र्यो ।

‘सक्ने जति गरौ“ । बातबा“की परमात्माको मर्जी ।’ म बहशलाई पटाक्षेप गर्थें ।

यति मजबुत सावधानी अपनाइसकेपछि त्यो पाजी भाइरसले मेरो शरीरभित्र घुस्ने हिम्मत नजुटाउनुपर्ने थियो ।

यसको विपरीत........।

000
 
म टङ्सिल रोगबाट पीडित भएको धेरै वर्ष भएको थियो । पानीमा भिज्नै नहुने, नाकभित्र धुलो छिर्नै नहुने । नाक सकबग गर्न थालिहाल्ने ।घाँटी खसखस गरिहाल्ने । ज्वरो आइहाल्ने । त्यस अभागी दिनमा पनि यस्तै लक्षण देखा परे । सोचें , बजार जाँदा रुझेको थिएँ  । पक्का टङ्सिल बढ्न थाल्यो । 
सधैंझैं  पानीमा नुनबेसार, तुलसीको पात पकाई ‘गार्गल’ गरें  । सुत्नुअगाडि सिटामोल      लिएँ  । खास असर भएन । 

भोलिपल्ट जिब्रोको स्वाद म¥यो । तेस्रो दिनमा नाकले गन्ध बिस्र्यो । पाँचौ दिनको राति भने जीउ कटकट खान थाल्यो । एक्कासी खोकीको साथमा सास फुलेर आयो । लगातार सुक्खा खोकी लाग्न थाल्यो ।

छैटौँ  दिन भइसक्दा पनि रोग बीसको उन्नाइस हुने छाँटकाँट  देखिएन । यसको मतलब मेरो घरेलु उपचारले काम नगरको प्रमाणित भयो ।

‘सा“च्चिकै भयो कि क्या हो ? चारैतिर यस्तै छ ।’ म पहिलोपल्ट सोच्न बाध्य भएँ । ‘भए पनि सामान्य होला । दुईचार दिनमा ठीक भइजाला । परिवारलाई किन चिन्तित     बनाउनु ? फेरि कोरोना लागेको व्यक्ति, घरलाई अछुतको व्यवहार गर्छन् ।’ म उपबुज्रुक हु“दै आफैंलाई थुमथुम्याएँ   ।

000
 
‘रातभरि सुत्न दिएका छैनन् । आफू पनि झिपिक्कै गरेका छैनन् । लानै पर्छ जस्तो   छ । तेरो बालाई मना ।’ उनले झरी पार्न मात्र बाँकी राखिन् । 

‘मान्नु हुन्न । कति जिद्दी हुनुहुन्छ ? तीस वर्षको सङ्गत । मैलेभन्दा ज्यादा तपाईंले भोग्नुभएको छ ।’ छोराले मेरो आदतको खोइरो खन्यो ।

‘त्यसो भनेर हुन्छ ? झ्याइ“कुटी पारेर पनि लिनुपर्छ ।’ उनले करै गरिन् ।

‘एम्बुलेन्स बोलाउँ  त ?’ छोराले नाइँनास्ती गर्न सकेन ।

मैले कोठाबाहिर आमाछोराको गलफती सुनें  । गलफती गरेको केही समयमै एम्बुलेन्सको साइरन बजेको आवाज आयो ।

‘जाउँ  । घरमा बसेर ठीक होलाजस्तो छैन ।’ छोराले अनुरोध होइन कि आदेश दियो । उसले अस्पतालमा चाहिने आवश्यक सामानसमेत झोलामा मिलाइसकेको थियो । 

मसँग हस्पिटल जानुको विकल्प बचेको थिएन । म गलिसकेको थिए“ । स्वीकार नगरेको मात्र हो । बा“च्ने रहर कसलाई पो हुँदैन र !

‘ठीक भएर फर्किनुहोला ।’ उनले धोतीको सप्कोले मुख छोप्दै बिदाइका हात      हल्लाइन् ।

000

‘बिरामी ल्याउँदै छु । अवस्था ‘सिरियस’ छ ।’

‘केको बिरामी ? लक्षण भन्नुस् त ।’

‘सुरुमा रुघा लागेको थियो । पछि ज्वरो आयो । अहिले जीउ तातो छ । छातीमा समस्या छ जस्तो छ । सास फुलेको छ ।’

‘बिरामीको अवस्था  सुन्दा ‘क्रिटिकल’ लाग्छ । बेडमै भर्ना गर्नुपर्ने अवस्था आउन    सक्छ । अक्सिजन चाहिन सक्छ । यहा“ दुवै ‘फुल’ छन् । अन्तै कोसिस गर्नुस् ।’

‘अन्त भेनेको कहाँ  हो ? बाटो देखाइदिनुस् न त ।’

‘त्यो त मलाई थाहा छैन ?’

‘प्लिज ! जीवनमरणको सवाल छ ।’

‘मेरो समय बर्बाद नगर्नुस् । अरू थुप्रै केस हेर्नु छ ।

‘हेलो......हेलो......हेलो.....।’

सायद छोराले सरकारी अस्पतालमा सोधपुछ गरेको थियो । झुक्किएरै होला, उसले मोबाइलको माइक्रोफोन ‘अन’ गरेकोले मैले सम्वाद सुनेको थिएँ ।

‘कस्तो देश हो, यो । तीस तीस वर्षसम्म सरकारी सेवामा काम गरी देशलाई उर्वर जवानी सुम्पेको, राज्यलाई निरन्तर कर बुझाएको निवर्तमान राष्ट्र सेवकलाई राज्यको निकायले उपचार गराउन सक्दिन“ भनी यस्तो निकृष्ट जवाफ दिन्छ । यो भन्दा लाजमर्दो के        हुनसक्छ ?’ उसले झन्नालि“दै, मुर्मुरि“दै पुनः उही नम्बर थिच्यो ।

‘देशको नागरिकले आकस्मिक सेवा लिन पनि नेता नै लगाउनुपर्ने भो त ?’

‘नेता लगाउनोस् कि डन । मन्त्रीलाई भन्नोस् कि मुख्यमन्त्रीलाई । केही गर्नसक्ने अवस्था छैन । सरी ।’

छोराको निक्खर बेसार हु“दै गएको चेहराको उतारचढाव हेरी मलाई बाँच्ने डोरी चुँडिनै लागेको भान हुँदै थियो र यस बेलामा म आफूलाई लाचार, विवश महसुस गर्दै थिएँ।

गनिमत ! छोराले भने हार मानिसकेको थिएन । युद्ध मैदानमा डटेकै थियो । कमान सम्हालेकै थियो ।

‘नमस्कार ! मलाई चिन्नुभयो होला । म महेष । सुरप्रतापको छोरा ।’ छोराले चुनावमा दिलोज्यानले सहयोग गरेको नेतालाई फोन हानेको हुनुपथ्र्यो ।

‘ए बाबु तिमी पो । किन नचिन्नु । तिमीले गुन लगाउनुसम्म लगाएका छौ । भन, म के सहयोग गर्न सक्छु ।’ नेता सायद मुडमा थियो । भर्खरै ठूलै कमिसन पो खल्तीभित्र हालेको थियो कि ? एउटा हातले स्कच समाती अर्को हातले सुन्दरी पिएका गाला मुसार्दै थियो कि ? 

‘मलाई केही गर्नु पर्दैन । बुवालाई भने ......।’ उसले भक्कानिंदै सम्पूर्ण वृतान्त वर्णन ग¥यो । यस देशको पदासिन नेताले जवाफ फर्काउने कष्ट बिसाएकोमा छोरो हदैसम्म कृतज्ञ हुनुपथ्र्यो । यस्तो उसको अवरुद्ध भएको गलाले दर्शाउँथ्यो ।

‘पर्ख । म केही गर्न सक्छु कि ?’ नेताले घना बादलबाट छिरेको मधुरो प्रकाशजस्तो केही देखायो ।

000
 
‘बिरामी सुरप्रतापको छोरा वीरप्रताप कता हुनुहुन्छ ।’ बिरामी र बिरामीका आफन्तजनको मेलाको जस्तो कोलाहलका बिचबाट एक जना सेतो एप्रोनधारीले टर्च      बाल्यो । टर्च किनभने बिजुली ‘गुल’ थियो । जेनेरेटर चलाउने प्राविधिक कोरोनाको त्रासले घरेलु उपचार गर्न भट्टिभित्र पसेको हुनुपथ्र्यो । अस्पतालको प्राङ्गनको भीडले नाकाबन्दीको बेलाको ग्या“स र मट्टितेलको लाइनको सम्झना दिलाउ“थ्यो । भीडमा आर्तनाद, क्रन्दन, बिलौना थियो । मशानघाटमा हुने चीत्कार थियो । 

‘म यहा“ छु ।’ छोराको नाम पुकारि“दा मलाई बोकेको एम्बुलेन्स अस्पताल गेटबाट प्रवेश मात्र गरेको थियो । ‘अब के गर्ने ? कहा“ जाने ? कसलाई गुहार्ने ? नेताले गफ मात्र लगायो कि ?’ ऊ बडो असमन्जस्यमा थियो ।

‘बिरामी कता ?’ डाक्टरले फेरि टर्चको उज्यालो छ¥यो ।
‘एम्बुलेन्सभित्र ।’ उसले एम्बुलेन्सतर्फ चोर औ“लो तेछ्र्यायो ।

‘बेड खाली छैन । कहिले खाली हुन्छ ? भन्न सकिंदैन । करिडोरको बिरामीको लाइनमा लाग्ने भए......।’ डाक्टरले अस्पतालको यथार्थ दुरावस्था वर्णन ग¥यो जसले देशको अस्थिपञ्चर भइसकेको स्वास्थ्य अवस्था र पदासिन नेताहरूको डिङ हाकाइको बिचमा कतै तालमेल नभएको छर्लङ्गै देखाउ“थ्यो ।

‘सहयोगका लागि धन्यवाद । कमसे कम चौरमा पल्टिनु त परेन ।’ कडा संघर्षका साथ उसले  स्ट्रेचर पाउन समर्थ भयो र बडा मुस्किलले मलाई करिडोरमा कुप्रो परी पल्टिन मिल्ने ठाउँ  बनायो ।

000
 
एक.....दुई......तीन.....चार....। 
मभन्दा अगाडि चार जना बिरामी हप्याक–हप्याक गर्दै थिए । उनीहरूको अवस्था मेरोभन्दा कै“यौ“ गुणा ‘क्रिटिकल’ थियो । तराइको ठाउँ  । गर्मीको महिना । जताततै फोहर । पङ्खासम्म थिएन । भित्ता, कुनामा थुकेका पानका छिटाले झि“गा, लामखुट्टे, साङलालाई मिष्ठान्न भोजन पस्केजस्तो लाग्थ्यो । बिरामी हलचल गर्न सकिरहेका थिएनन् । त्यसैले झिंगा महानुभावले मस्तसँग  भोज गरेपश्चात बिरामीका चेहरालाई आरामदायक सोफा बनाएका थिए । लामखुट्टेले रगतको रस्वास्वादन गरी शक्ति संचय गर्दै थिए । साङला महासय ढाड जाँघ, पिंडौला, पाखुराभित्र घुसी बेफिक्रीसँग  फुटबल खेल्दै थिए ।
000

बिरामीका लागि जाउलो, सुप आदि ल्याउनका लागि घरको एक जना सदस्यलाई भेट गर्न दिने नियम छ । रोग सर्ला भन्ने डरले छोरोबाहेक सबैलाई भेट गर्न मनाही गरेको छु । बाँचे भेट भइ त जाला ।’ सोच पालेको छु । त्यसै त मैया“ले सयथरिको रोग पालेकी छन् । बुहारी दोजीया छ । फेरि बुहारी काममा पनि जानुपर्छ । छोरो त मर्द हो । सानोतिनो संक्रमण त ह्याकुलाले पनि मिचिहाल्ला ।

‘बुवा ! बेड नम्बर एघार भर्खरै खाली भयो । मैले नेताको सोर्स लगाइसकें  । अब तपाईंलाई त्यही बेडमा सार्ने व्यवस्था हुँदै छ । चिन्ता नगर्नुस् ।’ छोरो उत्साहित हुँदै चार हातमाथि उफ्रिन खोज्छ ।

दुई जना मुखदेखि पाउसम्म छोपेका अस्पतालका सहयोगीले म पल्टेको बाटो भएर प्लास्टिकले बेरेको लास स्ट्रेचरमा हाली बाहिर निकाल्दै छन् । त्यहाँ  मृत्युपछिको वातावरण कहीं कतै छैन । न परिवार, न आफन्त, न साथीभाइ, न रुवाबासी । छातीमाथि बिदाइका  अविर, फूलसम्म छैन ।

‘हो र ?’ मेरा लोलाएका थकित आँखा आफसेआफ खुल्छन् । चेहरामा एक्कासी चमक पोतिन्छ । म भ्रम हो कि भनी नाडी चिमोट्छु । होइन रहेछ । जाँदै गरेको स्ट्रेचरमा बेड नम्बर एघार टाँगिएको छ । 

जिजीविषा यसैलाई भन्छन् क्या र !


000 





माधव भण्डारी




जन्म : वि.सं. १९९३ माघ १६ गते
जन्मस्थान : इलाम न.पा-६, सुम्बेक, इलामकृतिहरु
नेपाली कथा सङ्ग्रह (२०१५ सहलेखन- चूडामणि रेग्मी)
काले र माटो ( कथाकृति)
गाउँघर (२०२५),
माधव भण्डारीका कथा साहित्य (२०४०)
पार्वती परिणय (पौराणिक २०५८)
क्यालेण्डरका घुम्तीहरु (२०६१),
नबिर्सिने कोसेली (२०६० लोककथा)
इतिवृत्त र सृजना (२०७७) आदी।
निधन २०७८ पुस १८ गते

कथा

रिन

बाबुको चुटाइभन्दा, श्रीमतीको घुक्र्याइभन्दा, आमाको हप्काइभन्दा अनि गुरुको गालीभन्दा पनि डरलाग्दो कुनै कुरो मलाई छ भने त्यो हो रिन । अँ, कसैसित माग्नेबेलामा त म यसै भन्छु– “एक दुई रुपियाँ रिनै होइन, दुई चार सय भएपछि तिरिन्यै होइन ।” तर तिर्नेबेलामा भने मेरो सातोपुत्लो उड्छ ।
लुगाफाटो किन्नुपर्यो कैंयाको रिन, अन्न खानै पर्यो, महाजनको रिन, छोराछोरीलाई दूध खुवाउन एउटा गाई पाल्नै पर्यो, गोठाला दाइको रिन । मैले रिन नकाढ्ने ठाउँ कुनै पनि छैन । पहिले–पहिले त बाबुको नाउँले मलाई सबैले रिन पत्याउँथे, त्यसैले त आजसम्म यत्रो रिन भयो, तर अब ता कति जनासँग दाह्रा ङिच्याउँदा पनि ‘अहँ छैन’ कि ‘अहिले दिन सकिंदैन’ अथवा ‘खान जानेपछि तिर्न पनि जान्नुपर्छ’ बाहेक अरु मेरो माथि कसैले कृपा गर्दैन । यसैले मैले के अठोट गरें भने अबदेखि म कसैसित रिन भनेर हात पसार्ने छैन ।

एक दिन बेलुकाको कुरा हो, श्रीमतीले ढिंडो ओडालिन् । म चपला (आफ्नी सानी छोरी)लाई छेउमा राखेर खान मात्र के बसेको थिएँ बाहिरबाट केही मानिस पहाडे जुत्ता लाएर ‘गड्याप्–गड्याप्’ गर्दै आएको आवाज मेरा कानमा पर्यो । को भनेर उठेर दैलामा गएर हेर्छु त मुखियाका छोरा आएका रहेछन्, अनि पो मैले थाहा पाएँ– उनका घरबाट एक मुरी मकै ल्याएको तिर्ने भाका आजै पुगेछ ।

“कसो हो मोहनजी, के छ चालामाला ?” उनले टाँडमा बस्तै भने ।

“के भनौं र राम्रै छ” अपराधी जस्तो टाउको निहुराएर मैले भनें ।

“बा किन नखाई हिंडेका आमा ?” भित्र छोरीले आमालाई सोधी ।

“चुप लाग् !” आमा चाहिंले हकारी ।

“कसो त मोहनज्यू, धेरै बस्ने फुर्सद पनि छैन । त्यो अस्तिको दिनुहुन्छ कि भनेर पो आएको ।” मुखियापुत्र मुख्य कुरामा गए ।

मैले जवाफ दिन धेरै शब्द खोजें, आखिरमा मेरो मुखबाट यतिनै निस्कियो– “भाका त आजै थियो, तर कसै गर्दा पनि पार्न सकिएन । अब एक दुई दिन पर्खिदिनुपर्यो ।”

“खाने कुरा भनेको नखत हो बुझ्यौ, नखत, जति भन्यो उति पर्खन सकिंदैन । तिमीलाई भनेर पो यति दिन पर्खिएँ त, तिम्रा बालाई सम्झेर !

बाको नाम सुन्दा मलाई कस्तोकस्तो लाग्यो । त्यस्ता गाउँका योग्य व्यक्तिको छोरो भएर पनि यस्तो बेइमान भएको ‘आफूलाई’ सम्झँदा मनमनै आफ्नो जीवनलाई धिक्कार दिन थालें । उनी भन्दै गए ...
“तिम्रा बाबु कस्ता थिए, गाउँका पण्डित ! फेरि कति सीधा, कुनै काम चलाउनुपर्यो भने पनि भनेको दिन फरक नपार्ने, तर तिमी खोइ ?”

मैले दिने जवाफ अब केही थिएन । रपनि नकच्चरो नभई काम नचल्ने । अनेक बिन्ती भाउ गरें तर उनले सुन्न मानेनन् । यसको बदलामा मलाई उनले खोर्सानी हालेको आलुको ओल्याँसी (अचार) र धेरै मरिच हालेको चिया जस्ता धेरै कुरा सुनाए, तर मलाई यसले बाडुली पनि लागेन कान पनि तातेनन्, किनभने यस्ता कुरामा मलाई पुरापुरा अभ्यास भइसकेको थियो ।

मुक्तिको लागि बैरागीले भगवानलाई जति प्रार्थना गर्छ त्यति नै रागी (सन्सारी)ले साहूलाई गर्नुपर्दो रहेछ । आखिरमा केही नलागेर भदौ एकको साटो दुई मुरी तिर्ने गरी भोलि तमसुक गर्नेमा कुरा छिनियो । एकातिरबाट त अलिक दिनको लागि भए पनि टाउको हलौं भयो । भित्र जाँदा भात सेलाइसकेको रहेछ । खान बसें, तर निल्न निक्कै मुस्किल पर्यो ।

भोलिपल्टै मुखियाकोमा गएर तमसुकमा ल्याप्चे सही गरिदिएँ ।

विस्तार–विस्तार भदौ पनि आयो । बारीमा मकै जम्मा पाँच मुरी भएछन् । त्यही हो वर्षभरि श्रीमती र मैले पाखुरा बजाएको फल । त्यसमा दुई मुरी मुखियालाई बुझाएँ, एक मुरी गोठाला दाइको गाई ल्याएको व्याज तिरें, दस पाथी बेचेर नूनतेल गरें । अब खालि डेढ मुरी मात्र बाँकी रहे । त्यत्तिले कैयाँलाई के तिर्ने, लुगाफाटो केले हाल्ने अनि वर्षभरि के खाने ? म छक्क परें । र पनि चित्त बुझाएँ ‘के होला भनेर भएन, जे होला !’

तीज आउन तिन दिन बाँकी थियो, बेलुका सुत्ने बेलामा श्रीमतीले गन्गन गरिन्– “भोलि माइत जानुभनेको, सारी यस्तो सहे ठाउँमा टालेको छ, के लाएर जाने ? दिदी–बहिनीले यस्तो देखेर के भन्लान् ?”

“अब के गर्ने, तिमीलाई थाहै छ । म बजार जाँदा पनि कैयाँले देख्छ कि भनेर लुकेर हिंड्छु । पैसा छैन, रिन कसैले पत्याउँदैन । सबभन्दा राम्रो कुरा त के हो भने, तिमी यसपाली माइतै नजाऊ ! दसैंसम्ममा जे गरौंला ।” मैले मनका सबै कुरा एकैचोटी भनें ।

“अँ, वर्ष दिनको यत्रो चाड, यसपाली पनि माइत नजानु रे ! जे सुकै होस् जान्छु । “किन यस्तो गुनिउँ लाइस् भने भने ‘दिएनन्’ भन्छु । मलाई के हुन्छ ?” उनका कुरामा सकेसम्म जिद्दी थियो ।
“कस्तो कुरा नबुझेको ? मैले नदिएको हो ? अब अहिल्यै कसले पत्याउँछ र रिन काढ्न ? फेरि फस्र्याउनु पनि त पर्छ ।”

“वर्षमा एउटा गुनिउँ पनि हालिदिन नसक्ने, चाँजो मिलाउनु पर्छ नि !” कसले ला भनेर हातमा राखिदिन्छ त ?” उनको के भाव थियो भने खालि मैं बिकामे भएर सबै यस्तो भएको हो ।

मैले झर्कंदै भनें– “हो बाबा हो, मैले गर्न सकिन रे ! अब आफैं चाँजो मिलाएर लगाउनू !”

“आफैंले गर्दा हुने भए को बिन्ती गरिरहन्थ्यो ?” मैले कसै गर्दा पनि भएन । हाम्रो यस बहसले द्वितीय विश्वमहायुद्धको रूप नलिए पनि गृहयुद्धको रुप त अवश्य लिने थियो होला, तर सानो नानीलाई उपिउँले टोकेछ र ‘च्याँर्–च्याँर्’ गर्यो र उनी धिप्री लिएर कुद्दै गइन् । ईश्वरको कृपा, यतिकैमा शान्त भयो र सन्चले पल्टन पाइयो ।

बिहान भयो, बेलुका भयो, अर्को दिन पनि आयो तर लुगाका कुरा चलेनन् । साँच्चै भनुँ भने हामी राम्रो बोलेनौं पनि । भात पाकेपछि छोरी बोलाउँथी, सुपु–सुपु खान्थें, उठेर आफ्ना काममा लाग्थें ।
त्यही दिन थियो दर खाने दिन । उनी डोकोमा नानी हालेर त्यही थोत्रो गुनिउँ लाएर ठुली छोरीलाई ‘बासँग बस्नु है, म पर्सि आउँछु’ भनेर माइतको बाटो लिइन् । म पनि ‘दुनियाँ किन हँसाउनु’ भनेर केही बोलिनँ ।

तिन दिनपछि उनी नयाँ सारी लगाएर आइन् । बेलुका मैले सोधें– “सारी कसले दियो ?” उनको जवाफ यति मात्र थियो– “आफूले नहालिदिएपछि के खस–खस ?”
मैले पहिल्यै के अड्कल गीता काटिसकेको थिएँ भने माइतीले नै दिए होलान् । अब जे भए पनि उनलाई मैले खुसी नै पार्नुथियो र उनको ठट्यौलीतिर लागें । उनीले मन नपरीनपरी पनि मतिर हेरेर किच्च गरिन् । मैले प्रेमको सानो थप्पड गालामा दिएँ ।

दसैं पनि आउन लाग्यो । अब श्रीमतीलाई गुनिउँ ता भइगयो, तर आफू र छोराछोरी पनि त नाङ्गै बस्नु भएन । रिन काढौं, कहाँ के, नकाढौं निर्वाह छैन । केही नलागेर गाउँभरि डुलें, पत्ता लागेन । अब दाह्रा ङिच्याउनु मात्र किन भनेर बसेको थिएँ, श्रीमतीले एउटा सुझाउ दिइन् । उनका बासित गएर मागे केही रुपियाँ हार्न सक्तैनन् ।

म पनि केही नलागेर लाज मानी मानी पनि गएँ । बेलुका पुगें, राम्ररी घिउ र अचारले स्वागत गरे । मैले पनि आउँदा आउँदै के कुरा चलाउँ भनेर बेलुका केही भनिनँ । बिहान भयो, तर माग्न भने निक्कै संकोच लाग्यो र पनि अर्को उपाय केही थिएन । धेरै माग्ने विचार थियो तर बल्ल बल्ल बिस रुपियाँको प्रस्ताव राखें ।

तर उनले (ससुराले) पनि त्यस्तै जवाफ दिए जस्तो आजसम्म अरुले दिएका थिए । अँ, तीता र पीरा कुरा भने त्यहाँ थिएनन् । उनले बितेको अनिकाल र पैसाका समस्याको ठुलो व्याख्यान दिए । म पनि बोल्नमा कम्ती थिइनँ, आजसम्ममा पैसा माग्ने कला मैले जानिसकेको थिएँ । कुरा चलाएपछि लाज मानेर पनि भएको थिएन ।

बल्ल बल्ल दस रुपियाँ खुस्काएर आफ्नो बाटो लिएँ ।
त्यसै दिन हाटको दिन थियो, सुकवार, यसैले बजार गएर कैयाँको दस तिरेर अरु उधारो माग्ने विचारले बजारतिर लागें ।

जाँदै थिएँ, दोबाटामा एउटा पसल थियो । त्यसमा एउटी आइमाई के–के किन्दै गरेकी देखें, ठिक मेरी श्रीमती जस्तै सारी लाएकी । को रहिछे भनेर यसो चियाएको त ससुराली घरकै छेउकी मगर्नी रहिछ । उसको अवस्था यस्तै सत्र–अठार होला । उसको लोग्ने मलायामा भर्ती भएको थियो । राम्री थिई धिपिक्कै बलेकी । त्यही सारी मेरी श्रीमतीले लाउँदा कति नमिलेको भ्यातुल्ले देखिन्थ्यो, त्यही उसलाई कति सुहाएको, कति सपक्क लगाएकी !

भन्दाभन्दै उसलाई मैले एक छिन हेरिहालेंछु । भरे झसङ्ग भएर, हिंड्न खोज्दैथिएँ, उसले मतिर हेरेर हाँस्तै भनिहाली– “एक छिन पर्खनोस् न भिना, म पनि बजारै जाने ।”

म सन्सारलाई तुच्छ सम्झने वैरागी ता थिइनँ । त्यस्ती युवतीलाई सालीको रूपमा सँगै लिएर हिंड्नपाउनु आफ्नो अहोभाग्य सम्झें । एक छिनमा ऊ आई । “साली पनि बजारै हिंड्नुभा’को ?” मैले कटाक्ष गर्दै बोल्ने मेलो फेरि ल्याएँ । “अँ भिना ! सँगै जाऊँ !” उसले भनी । म खुसीले फुलेर त्यो सानो पहाडको बाटोमा अटाउन छोडें ।

एक छिनमा उसले भनी– “भिनासँग एउटा कुरा भन्नुथियो र पो !”

“के कुरा भन्नोस् न !” म सुन्न उत्सुकिएँ ।

“साँल्दीले (मतलब मेरी श्रमतीले) अलिकति रुपियाँ दिनुथियो । दसैंसम्ममा तिम्रो भिनाले दिनुहुन्छ भन्थिन् ।”

मानूँ म हावाको भुँवरीभित्र एक्कासि परें । नारान् ! कहाँबाट यो फेरि आइलाग्यो ! मैले छक्क पर्दै सोधें– “कहिलेको ?”

“अस्तिनि, तीजमा म कैंयाँकोमा सारी किन्दै थिएँ, साँल्दी आइछन् र एउटा सारी मलाई पनि गराइदेउ भनिन् । अनि मेरै जस्तो सारी दस रुपियाँमा उधारो गराइदिएँ । आज कैयाँले माग्छ होला । के तपाईंलाई भनेको थिएन ?”

“भनेको थियो मैले पो बिर्सिएथें” मैले आफ्नो भावलाई लुकाउने प्रयत्न गर्दै भनें र गोजीबाट दस रुपियाँको नोट झिकेर उसका हातमा राखिदिएँ । अलिक पर पुगेपछि बिसाउने निहुँ गरेर उसलाई अघि पठाएँ अनि एक छिनमा घरतिरको बाटो लिएर सुइँकुच्चा ठोकें । यतिखेर मेरो सास पनि निक्कै बढेको थियो, अनि चिउँडाको दारीबाट शिवजीका जटाबाट गङ्गा झरेझैं पसिना चुहुँदै थियो ।
ooo

सरण राई

 



कथा

ब्लाकबोर्ड, चक र डस्टर


लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औँलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।
यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् ।
ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् । कसले कल्पना गर्न सक्छ— केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए । चक पनि जीवनजस्तै हो, सिङ्गो चक चेतनामा जीवित अर्थलाई यथार्थमा सजीवता दिन ब्लाकबोर्डमा घस्रिदाघस्रिदै छोटो हुन्छ । ज्यादै छोटो भएर लेख्न अप्ठ्यारो भएको टुक्रालाई मायालाग्दो दृष्टिले हेर्छ, मानौं त्यो धीत नमरीकनै फ्याँक्नुपरेको चुरोटको ठुटो हो । ऊ चकको टुक्रालाई फ्याँक्छ तर उसलाई लाग्छ ऊ आफै पनि त्यो चकको टुक्राझैँ फ्याँकिएको छ ।
चक र उसले आफ्नै जीवनको तुलना गर्न खोज्छ— केही समानताहरू भएको महसुस गर्छ । चक जुन उद्देश्यको निम्ति सृष्टि गरिएको हो, त्यो पूरा भइसकेको छ तर उसको सृष्टि कुन उद्देश्यको निम्ति गरिएको हो, ऊ ठम्याउन सक्दैन । भविष्य, केवल सिङ्गो भविष्यप्रति आस्थावान् बिद्यार्थीहरूको चेहराहरूमा ऊ आफ्नो सृष्टिको छाया हेर्न खोज्दछ । ऊ ब्लाकबोर्डमा उसैले लेखेको रेखाचित्र हेर्छ, ब्लाकबोर्ड, चक र डस्टर— ऊ ठम्याउन सक्तैन केका निम्ति उसको अन्त भइरहेको छ ?
कोठा, बिद्यार्थीहरू, झ्यालबाट बाहिर देखिने हरिया चउर, रुखहरू उसले बिनाउद्देश्य आफ्नै विचारमा तल्लीन भएर हेरिदिन्छ । बगैचामा माली लगनसित फूलका बोटहरूलाई स्याहारिरहेको छ, गोडिरहेको छ । फूल सबैलाई प्यारो छ, तर फूलसित गाँसिएको गरिब मालीको श्रम र पसिना फूलको सौन्दर्यले ढाकिदिएको हुन्छ अनि फूलको बास्नामा मालीको पसिनाको गन्धआयो भने मानिसहरूलाई फूल राम्रो लाग्दो होला ? श्रेणीको एक छेउमा बिद्यार्थीहरूको खासखुस कुराकानी गराइले उसलाई श्रेणीको यथार्थमा ल्याएर उभ्याइदिन्छ । श्रेणी उसको संसार हो, अझ उपयुक्त भाषामा उसको युद्धभूमि, उसका हतियार चक, डस्टर, ब्लाकबोर्ड र आवाज । बिद्यार्थीहरूको अज्ञानता उसको दुस्मन, बिद्यार्थीहरूलाई बुझाउन सक्नु उसको विजय । ऊ फेरि पढाउन थाल्छ, पढाउन लाग्दा उसलाई अनुभव हुन्छ— ऊ नेता हो, हजारौँ मानिसहरूलाई आफ्नो विचारधारामा हिडाउने प्रयत्नमा भाषण दिइरहेछ, पिता हो आफ्ना छोराछोरीलाई ज्ञानका अर्तिहरू दिइरहेछ, अभिनेता हो, रङ्गमञ्चमा उभिएको छ । पूर्णताको अनुभव उसलाई त्यसबेला हुन्छ जुनबेला ऊ श्रेणीमा उभिएको हुन्छ ।
उसको हातमा चक र डस्टर हुन्छ, पछाडि ब्लाकबोर्ड र अगाडि ध्यानपूर्वक सुनिरहेका बिद्यार्थीहरू, ऊ पीडापूर्ण, अभावग्रस्त यथार्थ संसारभन्दा हजारौँ कोस टाढा हुन्छ ।
“मलाई सरलाको जस्तै फ्रक ल, बुबा ।”
“मलाई नीलो प्यान्ट ।”
“त्यो डाक्टरले लेखिदिएको औषधी ल्याउन नबिर्सनुहोला नि ।”
फ्रक, प्यान्ट, औषधि, अनन्त आवश्यकताहरू । सीमित र निश्चित तलब, भौतिकवादी विश्वमा हरेक चीजलाई ठोस रूप दिन सक्नुपर्ने । आफ्नो जहानपरिवारलाई माया गर्दछ, त्यो मायालाई फ्रक, प्यान्टमा परिणत गर्न सक्नुपर्ने । घर फर्कदा रोगी श्रीमती खोक्दैखोक्दै सुतिरहेकी, औषधी नदेख्दा चिया पाक्ने कुरै उठेन, सुर्ती तमाखु ल्याएदिएन भनेर बूढो बाबु उस्तै ठुस्किएको, केटाकेटीको कुरै गर्नु परेन । पढाउनेको छोरो पढ्नै नसक्ने हो कि ? बुझेर पनि बुझ्पचाउनुपर्ने, जानेर पनि नजान्नुपर्नेछ उसको यथार्थ संसार ।
ब्लाकबोर्डमा लेखेको रेखाचित्र डस्टरले मेट्छ । ऊ फेरि ब्लाकबोर्डमा लेख्न सक्छ अनि मेट्न सक्छ तर आफ्नो निधारमा लेखिएको भाग्यलाई मेट्न सक्दैन । श्रेणीमा चारैतिर प्रत्येक बिद्यार्थीहरूलाई सरसरती हेर्छ— मानौं ऊ त्यहाँ हराएको आफ्नो अस्तित्व खोजिरहेछ । कोही बिद्यार्थी नोट टिप्न तल्लीन छन् भने कोही झ्यालबाट बाहिर ओहोरदोहोर गरिरहेका युवतीहरू हेर्नमा । ऊ सबैको ध्यानलाई अझ बढी आकर्षण गर्न अझ साह्रो कराउँछ, कराउने बानी भइसकेको छ, भटभटाउनु र बरबराउनु । ऊ बौलाहाझैँ बरबराइरहेको छ । झरनाझैँ ऊ आफैले बोलेको आफै बुझ्न सक्तैन कि झैँ गरेर । हाँसोको लहर फुट्छ सम्पूर्ण श्रेणीभरि, उसले आफूलाई जोकर अनुभव गर्छ । सतर्क हुन्छ— ऊ साँच्चै बौलाहा त रहेको छैन । ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्न उदाहरणहरू दिदै जान्छ, भन्दै जान्छ, कराउदै जान्छ । ऊ आफ्नो आवाजको उच्चतम बिन्दुमा पुग्दा अनुभव गर्छ— ऊ र हाटबजारमा बिज्ञापन गर्दै कराउनेमा फरक छैन, छ भने दुईमा एउटा कोठाभित्र कराउँछ अर्को बीच बजारमा ।
बूढो शरीरमा कराउँदा रगतको सञ्चार भएर हो कि ऊ आफूलाई तन्नेरी अनुभव गर्न पुग्छ । ऊ फेरि आफ्नो बिद्यार्थीजीवनलाई सम्झन पुग्छ, बिद्यार्थीजीवनका उसका सहपाठीहरू कोही मन्त्री भए, काही डाक्टर, प्रशासकीय हाकिम, ऊ भने अझै बिद्यार्थीहरूकै माझ बिद्यार्थीजस्तै दुःखी छ । उसले पढाएको बिद्यार्थीहरूसमेत हाकिम भएका छन्, कैयौं तले अग्ला घरहरूको मालिक भइसकेका छन् तर उसको भने उही अवस्था छ ।
आज उसलाई बिद्यार्थीजीवनका उसका आकाङ्क्षाहरूको सम्झना आउँछ— कति अकासिएका उसका आकाङ्क्षाहरू थिए । मुटु च्वास्स दुख्छ तर अब त मुटुको रोग भइसकेको उसलाई मुटु दुख्नु साधारणझैँ लाग्छ । झ्यालबाट ऊ बाहिर हेर्छ, आकाश धुम्मिएको छ— पानी पर्ने सम्भावना छ ।
आफ्नो सम्पूर्ण बुद्धि, तर्कशक्ति लगाएर ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्ने कोसिस गर्छ । यदि उसले त्यो विषयवस्तुलाई बुझाउन सकेन भने बिद्यार्थीहरूले फेरि कहिल्यै बुझ्न सक्नेछैनन् वा बुझ्ने समय पाउनेछैनन् । श्रेणीका सम्पूर्ण बिद्याथीहरूको भविष्य उसको परिश्रममा भर पर्छ, ऊ उनीहरूको भविष्य निर्माण गरिरहेको छ, ज्ञानको बाटोतिर तिनीहरूलाई बढाएर । उसले बिद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै उसले बुझेको सार छ, अन्यथा उसले बुझेको कुनै प्रयोजन छैन— उसलाई यो राम्ररी थाहा छ । ऊ कराउदै जान्छ, उसको घाँटीका नसाहरूसमेत फुल्दै जान्छन् ।
घन्टी बज्छ । सधैंझैँ चक र हाजिरकापी हातमा चयापेर ऊ श्रेणीबाट बाहिर निस्कन्छ । उसलाई अनुभव हुन थाल्छ, उसको घाँटी सुकिरहेको छ— पानी खान्छ । ऊ आफ्ना पुराना केही किताबहरू च्यापेर घरतिर छिटोछिटो लाग्छ । पानी पर्ने सम्भावना छ तसर्थ सब मानिसहरू छिटोछिटो हिँडिरहेका हुन्छन् । तर जब उसलाई देख्छन्, सडकमा मानिसहरू मुसुमुसु हाँसिरहेका हुन्छन् । ऊ आफ्नो शरीर हेर्छ, केही खराबी त छैन ? कोट जुत्ताभरि चकको घुलैधुलो छ, टकटकाउँट, सितिमिति कहाँ चकको धुलो झर्ने हो र ! ऊ सम्झन्छ फ्रक, पेन्ट र औषधी, गोजी छाम्छ रित्तो छ, उसले रित्तै फर्कनुपर्ने हो, रित्तै फर्कन्छ ।
उसलाई लाग्छ अझै मानिसहरू उसलाई हेरेर हाँसिरहेका हुन्छन्— मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी चकले लेखिएको ऊ एउटा हाँसो उठ्दो कार्टुन हो वा ऊ सिङ्गो ब्लाकबोर्ड हो जसमाथि थुप्रै हाँसो उठ्ने ब्यङ्गचित्र कोरिएको छ, जसळाई देख्दा जो पनि हाँस्छ, ऊ ब्लाकबोर्ड, चक र डस्टर....
मानिसहरूको कठोर आँखाबाट लुक्न ऊ अझ छिटोछिटो लम्कन्छ ।
* * *
स्पन्दन, अङ्क १, वर्ष १ (२०३४)मा पहिलोपल्ट प्रकाशित)